Sunday, January 18, 2009

फेरी अर्को कलम भाँचियो

पत्रकार उमा सिंहको हत्याको सर्वत्र विरोध भईरहेको छ । सञ्चारकर्मी, राजनीतिक दल, मानवअधिकारवादी संघसंस्थाले उनको हत्याको कडा निन्दा गर्दै हत्यारालाई हदैसम्मको कारवाहीको माग गरेका छन् । पुस २९ गते नेपाल पत्रकार महासंघले शोक सभाको आयोजना गरेको छ । काठमाडौंमा महासंघले २८ गते नै विरोध र्‍यालीको आयोजना गरेको थियो । राष्ट्रिय मानव अधिकार आयोग, सञ्चारसम्बद्ध विभन्न संघसंस्था तथा राजनीतिक दलहरु विज्ञिप्ती मार्फत उनको हत्याको कडा निन्दा गरेका छन् ।

२७ पुष बेलुका रेडियो टुडे ९१ मेगाहर्ज, जनकपुरमा कार्यरत महिला पत्रकार उमा सिंहको अज्ञात समूहले हत्या गरेको थियो । यो घटनाले हिंशात्मक गतिविधीका कारण अशान्त तराईको शान्तिसुरक्षाको अवस्था झन नाजुक बन्दै गएको स्पष्ट भएको छ भने नागरिक अधिकारबारे खवरदारी गरिरहेको स्वतन्त्र प्रेसमाथि हत्यारा समूहले निशाना साँध्न थालेको पनि संकेत देखिएको छ ।

जनकपुर-१४ स्थित डेरामा बसिरहेका बेला बेलुका सवा सात बजे आएको १४-१५ जनाको हत्यारा जत्थाले सिंहमाथि धारिलो हतियारले आक्रमण गरेको थियो । जनकपुरमा उपचार हुन नसक्नेपछि उपचारका लागि राजधानी लगिदैगर्दा बाटोमै राती ११ उनको मृत्यु भएको थियो । तीन वर्षअघि सिराहाको मिर्चैयाबाट बेपत्ता बनाइएका पत्रकार सिंहका बुबा रंजित र दाजु अझै फेला परेका छैनन् । बुबा र दाजुको अपहरणमा माओवादीका स्थानीय नेता/कार्यकर्ता संलग्न रहेको बताइएकाले पत्रकार सिंहको हत्यामा पनि उनीहरु नै संलग्न रहेको हुनसक्ने आशंका गरिएको छ । माओवादी युद्ध शुरु भएयता राज्य, विद्रोही तथा अज्ञात समूहबाट गरी २८ पत्रकारको हत्या भईसकेको छ । मधेशी समुदायकी सक्रिय महिला पत्रकार सिंह यसअघि पनि धम्कीको कारण जनकपुरमा बसेर पत्रकारिता गर्दै आएकी थिइन । सिंहको २८ दाहसंस्कार गरिएको छ ।

No comments: