Tuesday, January 20, 2009

विश्वका एक सय एक आकर्षक गन्तव्यस्थलमा नेपाल

बेलायती नागरिकले बिदा मनाउने विश्वका एक सय एक स्थानमध्ये नेपालसमेत परेको छ । उनीहरुले लामो छुट्टी मनाउनु छ भने नेपालका पहाडमा घुम्न सुझाएका छन्। बेलायतका प्रमुख राष्ट्रिय अखबारहरुमा विगत चार दसकदेखि यात्रासम्बन्धी लेख्दै आएका डेभिज विकस्र र मार्क हड्सनले यस वर्ष बेलायती नागरिकलाई बिदा मनाउन नेपाल पनि जान सुझाएका हुन्।
लेखकद्वयले आफ्नो लामो अनुभवका आधारमा यस वर्ष बिदा मनाउन जान उपयुक्त भएका गन्तव्यहरुको सूची 101holidays.co.uk नामक वेभसाइटमा राखेका छन्। लेखकद्वयलाई धेरै बेलायती नागरिकले कैयौंपटक यो चोटि कहाँ छुट्टी मनाउन जान उपयुक्त होला भनेर प्रश्न गरेपछि उनीहरुले तिनलाई सामूहिक जवाफ दिन वेभसाइटमा उपयुक्त गन्तव्यहरुको सूची राखिदिएका छन्। उनीहरुले विशेषगरी नेपालको अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न सुझाएका छन् जसका लागि १३ दिन लाग्ने उल्लेख गरिएको छ। ´तपाईंको यात्रा काठमाडौं महानगरबाट सुरु हुन्छ जहाँ तपाईं बौद्धनाथ र स्वयम्भुनाथजस्ता बौद्ध स्तुपाका अतिरिक्त पशुपति मन्दिर पाउनुहुनेछ´ उनीहरुले लेखेका छन्, ´तपाईं त्यहाँ पवित्र बाग्मती नदी र पाटन दरबार स्क्वायर पुग्न सक्नुहुन्छ।´नेपाल यात्राका क्रममा पोखरा अन्नपूर्ण क्षेत्र चितवन राष्ट्रिय निकुन्ज र एभरेष्ट बेस क्याम्प नछुटाउन उनीहरुले सुझाएका छन्। बेभसाइटमा बजेट र छुट्टी अवधिका आधारमा यात्रा गर्ने उपयुक्त गन्तव्यहरु सुझाइएको छ । यसमा उनीहरुले लामो बिदा मनाउन ओरिएन्ट एक्सप्रेसदेखि भेनिससम्म यात्रा गर्न मोनाको ग्रान्ड पिक्स जान र पोलार वियर हेर्न आर्टिक टापु जान भनिएको छ । यसमा नाइल क्षेत्र पनि परेको छ ।´हामीले आफ्ना ज्ञानका आधारमा छुट्टी मनाउने उपयुक्त लागेका गन्तव्यहरु सूचीबद्ध रुपमा राखेका छौं ताकि जसले पनि यीमध्ये आफूलाई मनपर्ने ठाउँ रोज्न सक्छन्´ डेभिडले भनेका छन् ´छुट्टी मनाउने हजारौं क्षेत्र छन् सजिलो होस् भनेर हामीले तीमध्ये सबैभन्दा राम्रोलाई यहाँ राखेका हौं ।´बेभसाइटमा १ सय १ गन्तव्यका तस्वीर र त्यहाँ छुट्टी मनाउने स्थलहरुका बारेमा संक्षिप्त जानकारी दिइएको छ ।

No comments: