Friday, January 30, 2009

जहाज भाडामा ल्याउने कि किन्ने ?

पाइलटहरू विपक्षमा
काठमाडौं माघ १८
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमलाई ठूलो आकारको एउटा जहाज भाडामा लिने विषयमा विवाद आन्तरिक विवाद सुरु भएको छ। जहाज भाडामा लिने वा खरिद गर्ने भन्ने विषयमा व्यवस्थापन र निगमका पाइलटहरूबीच विवाद देखिएको हो । व्यवस्थापन जहाज भाडामा लिने तयारीमा छ तर राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानमा संलग्न पाइलट यसको विपक्षमा छन्। यसअघि पनि जहाज भाडामा ल्याउँदा यस्ता विवाद उत्पन्न भएका थिए।आर्थिक वर्ष २०५७÷०५८ मा निगमले अस्ट्रियाको लाउडा एयर भाडामा लिँदा कमिसनको विषय विवादास्पद बनेको थियो । त्यस बेला निगमले करिब २ अर्ब रुपैयाँ घाटा बेहोरेको थियो। निगम व्यवस्थापनले बोइङ ७५७ भाडामा लिन माघ १४ गते वायुसेवा साचालक जहाज धनी अथवा जहाज भाडामा उपलब्ध गराउने कम्पनीलाई ४५ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान गरेको छ। प्रस्ताव अनुसार बोइङ ७५७ आगामी ६ महिनाका लागि ´वेट लिज´मा लिइनेछ। त्यसपछि पुनः भाडा अवधि ६ महिनाका लागि थप्न सकिने सर्त राखिएको छ। वेट लिज भन्नाले जहाज चालकदल, मर्मतसम्भार र बीमासहितको जहाज बुझिन्छ। निगमका पाइलटहरुको संस्था नेपाल एयरलाइन पाइलट्स एसोसिएसन नापामा आबद्ध पाइलटहरूले भने जहाज भाडामा ल्याउने निगमको यो निर्णयप्रति ठाडै आपत्ति जनाएका छन् । उनीहरुले जहाज भाडामा ल्याउनुको सट्टा खरिद गर्न सुझाव दिएका छन् । गत बुधबार महाप्रबन्धक सुगतरत्न कंसाकारलाई जहाज भाडामा लिने विषयप्रति नापा पूर्णतः विपक्षमा रहेको बेहोरासहितको पत्र दिइएको उच्च समाचार स्रोतले बताएको छ। पत्र दर्ता नं।९८१÷९८२ हो। विरोधपत्रमा निगमले जहाज खरिद गर्ने विषय वर्षौंदेखि सुनिए पनि हालसम्म पूरा नभएको उल्लेख छ। ´भएका दईवटा जहाजले यात्रु र सेक्टर पाउन कठिन भैरहेका बेला अर्को जहाज भाडामा लिनु उपयुक्त छैन´, नापाका अध्यक्ष क्याप्टेन वाईके भट्टराईले शुक्रबार दैनिकीडटकमसित भने, ´हामी कुनै पनि हालतमा जहाज भाडामा ल्याउन दिँदैनौं, व्यवस्थापनले खरिद गरे स्वागत गर्छौं।´उनले जहाज भाडामा लिने निर्णयको विपक्षमा नापा रहेको बताए। भएका जहाज मर्मतसम्भारमा जान लागेको बिग्रिएको वा अन्य कारणले उडान भर्न नसक्ने अवस्था भए भाडामा लिनु उपयुक्त हुने भनाइ उनको छ। ´दुईवटा बोइङको उपयोग पर्याप्त छैन फेरि भाडामा लिएर कुन सेक्टरमा उडाउने हो´, उनले भने- ´जहाज भाडामा लिने विषयमा व्यवस्थापनले अहिलेसम्म उचित कारण देखाएको छैन।´महाप्रबन्धक कंसाकारले पाइलटहरुसँग सहमति गरेर जहाज भाडामा लिने प्रक्रिया अगाडि बढाएको बताए। ´जहाज भाडामा मात्र लिने कुराको म पनि विरोधी हुँ। अहिलेलाई खरिद गर्न लामो समय लाग्ने भएकाले तत्काल भाडामा लिन लागिएको हो´, उनले भने- ´अन्तर्राष्ट्रिय बजारमा निगमको विश्वसनियता कायम गर्नलाई पनि जहाज आवश्यकता छ। हामी जहाज खरिद गर्दै पनि जानेछौं।´अध्यक्ष भट्टराईले भने जहाज भाडामा लिने विषयमा पाइलटहरूसँग कुनै सहमति नभएको बताए। ´यसबारेमा व्यवस्थापनले हामीसँग छलफल गरेको छैन´, उनले भने- ´यसअघि जहिलेजहिले जहाज भाडामा लिइएको थियो ती सबैमा निगमलाई घाटा भएको तथ्यांक छ।´नापासम्बद्ध पाइलटहरुका अनुसार अहिले भाडामा लिन मासिक करिब १० लाख डलर खर्च हुने देखिएको छ। जहाज उडाएर छ महिनाको भाडा ६० लाख डलर उठेर नाफा हुनेमा शंका छ। प्रत्येक सेक्टरमा यात्रु अभावका कारण निगम दुई वर्षदेखि घाटामा छ । वर्तमान अवस्थामा सेक्टर अभाव र पर्याप्त यात्रु नपाइरहेका बेला जहाज भाडामा लिनु औचित्यहीन हुने तर्क पाइलटहरुको छ। नयाँदिल्ली उडान गर्ने निगमका बोइङलाई पर्याप्त यात्रु अभावमा धेरैजसो उडान रद्द हुने गरेको छ। मलेसियाको क्वालालम्पुरका लागि सातामा पाँच उडान गरिरहेको निगमले यात्रु अभावमा एउटा उडान कटौति गर्ने तयारीमा लागेको स्रोतको दावी छ। निगमले हाल नयाँदिल्ली, बैंकक, हङकङ, क्वालालम्पुर, दुबई र दोहा उडान गरिरहेको छ। दोहा केही साताअघि थपिएको सेक्टर हो। जहाज भाडामा लिएपछि नयाँ गन्तब्य मुम्बई, साङ्घाई र ओसाका उडान गरिने जानकारी निगमले दिएको छ। निगम स्रोतका अनुसार भाडामा लिइने जहाजलाई प्रतिमहिना अधिकतम ३ सय घन्टासम्म उडाइनेछ। विगतमा बोइङ ७५७ भाडामा लिँदा प्रतिघन्टा उडान भाडावापत् २ हजार ८ सय देखि ३ हजार ३ सय डलरसम्म तिरिएको स्रोतले बतायो। स्रोतका अनुसार लाउडालाई प्रतिघन्टा उडान भाडावापत् ४ हजार ४ सय अमेरिकी डलर तिरिएको थियो। लाउडा भाडामा ल्याएपछि निगमका दुई बोइङ ८३ दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका थिए। अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग हाल १ सय ९० सीट क्षमताका दुई बोइङ ७५७ छ। ती २० र २१ वर्ष पुराना हुन्। ती जहाज निगमले करिब १५ वर्ष लामो किस्ताबन्दी तिरेपछि आफ्नो नाममा ल्याएको थियो। लाउडा काण्डयता प्रत्येक वर्ष नाफामा रहेको निगमलाई आव २०६४÷०६५ मा करिब ८ देखि १० करोड रुपैयाँ घाटा पर्ने स्रोतले बतायो। हवाई इन्धन मूल्यमा उच्च वृद्धि र एउटा बोइङ झन्डै एक वर्ष ´ग्राउन्डेड´ भएपछि घाटा लाग्ने स्रोतको भनाइ छ।

No comments: