Sunday, February 1, 2009

भारतद्वारा नेपाल विखण्डन गर्न षड्यन्त्र : नेता वैद्य

´भारतले मधेसवादी दललाई उचालेको छ´
´एक मधेस एक प्रदेश विखण्डनवादी नीति´
काठमाडौं, माघ १९ - सत्तारुढ एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्यले नेपाललाई विखण्डन गर्न भारतबाट मधेसलाई माध्यम बनाएर षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। रिपोर्टस् क्लबद्वारा आइतबार आयोजित साक्षात्कारमा उनले भने- ´नेपाललाई विखण्डन गर्न देशी-विदेशी प्रतिक्रियावादी षड्यन्त्रमा लागेका छन्।´
विदेशी प्रतिक्रियावादी को हुन् भन्ने जिज्ञासामा उनले भने ´भारत नेपालको विखण्डनको षड्यन्त्रमा लागेको छ।´ वैद्यले मधेसवादी दलहरुलाई भारतले उचालेर नेपाल विखण्डनको षड्यन्त्र गरिरहेको आरोप लगाए।
मधेसका जायज मागलाई माओवादीले उठान गरेको दाबी गर्दै उनले त्यसलाई आफ्नो स्वार्थमा ढालेर गलत क्रियाकलाप गर्न भारतको इशारामा केही तत्व लागेको बताए। वैद्यले जातीयताको नारा जनताको अधिकार सुनिश्चित गर्न उठाएको भन्दै त्यसलाई गलत रुपमा प्रयोग गरी देशको सार्वभौमिकता र अखण्डतामाथि प्रश्न उठाउन खोजिएको बताए। जातीय मुद्दालाई गलत रुपमा प्रयोग गर्न भारत सक्रिय रहेको आरोपसमेत उनको थियो।
उनले नेपाललाई विखण्डन गर्न खोज्नेहरु परास्त हुने भन्दै त्यसविरुद्ध आफ्नो दल कडा रुपमा प्रस्तुत हुने बताए। ´भारतविरुद्ध तपाईं लड्नुहुन्छ त´ भन्ने प्रश्नमा उनले भने ´नेपाल विखण्डन गर्न खोज्ने जोसुकैसँग नेपाली जनताले संघर्ष गर्नेछन्।´ भारतले नेपालको सीमा मिचेको भन्दै माओवादी त्यसविरुद्ध पनि कडा रुपमा प्रस्तुत हुने उनले बताए।
उनले मधेसवादी दलहरु नै विखण्डनमा लागेको आरोप लगाउँदै पार्टीले मधेसको पछिल्लो घटनाक्रमलाई संवेदनशील ठानेर नयाँ रणनीति बनाउन लागेको बताए। मधेस नीति तय गर्न माओवादी केन्द्रीय सचिवालयको बैठक आइतबार अपराह्न बस्दैछ।
´एक मधेश एक प्रदेश´ लाई अस्वीकार गर्दै भने- ´एक मधेश एक प्रदेश विखण्डनवादी नीति हो।´ उनले आफ्नै दलका नेता मातृका यादवको पछिल्लो क्रियाकलापको समेत आलोचना गरे। यादवले माओवादी नछाड्ने दावी गर्दै उनीसँग थप कुराकानी भइरहेको जानकारी वैद्यले दिए। उनले भने- ´मातृकाजीसँग कुरा भइरहेको छ उहाँले पार्टी छाड्नुहुन्न।´
वैद्यले संसदीय व्यवस्था असफल भइसकेको र प्रजातन्त्रको मुकुण्डो ओढेर संसदीय व्यवस्थाका नाममा अप्रजातान्त्रिक काम हुने गरेको दाबी गरे। ´संसदीय व्यवस्थाका नाममा मनोमानी शासन गर्ने परिपाटीको अन्त्य गर्न माओवादीले नयाँ प्रणालीको विकास गर्नेछ।´ आफूहरु नयाँ जनवादी क्रान्तिको पक्षमा रहेको स्पष्ट पार्दै बहुदलीय व्यवस्थालाई भने सम्मान गर्ने उनले बताए।
नेपाली सेनाले सरकारको आदेशअनुरुप काम गरॆर बृहत् शान्ति सम्झौताअनुसार जारी सैन्य भर्ती रोक्नुपर्ने बताए। प्रधानसेनापति रुक्माङ्गत कटवालले भर्ती नरोक्नेबारे दिदै आएको अभिव्यक्तिको आलोचना गर्दै कुनै एक व्यक्तिले भन्दैमा त्यसलाई सिंगो सेनाको नीति र भनाइ भन्न नमिल्ने उनले बताए।



No comments: