Monday, February 2, 2009

चिनियाँ प्रधानमन्त्रीमाथि बेलायतमा जुत्ता प्रहार

जुत्ता हान्नेमाथि मुद्दा चलाइयो

चीन र बेलायत सरकारद्वारा घटनाप्रति दु:ख प्रकट

काठमाडौं, माघ २१ (एजेन्सी)- अमेरिकी तत्कालीन राष्ट्रपति जर्ज डब्लू बुसपछि चीनका प्रधानमन्त्रीले सार्वजनिक मन्चमा जुत्ता खाएका छन्। बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री वेन जियावाओलाई क्याम्ब्रिज विश्वविद्यालयमा सोमबार आयोजित सार्वजनिक समारोहमा सम्बोधन गरिरहेका बेला एक युवकले जुत्ता प्रहार गर्दै भने ´तिमी तानाशाह हौ।´ चिनियाँ प्रधानमन्त्रीले प्रदर्शनकारी ती युवकबाट प्रहार भएको जुत्ता छल्न भ्याए। बीबीसीका अनुसार जुत्ता प्रहार गरेलगत्तै चीनका प्रधानमन्त्रीलाई सुरक्षा गार्डले हलबाट अन्यत्रै लगेका थिए।तीनदिने लन्डन भ्रमणका क्रममा बेलायती समकक्षी गोर्डन ब्राउनसँग विभिन्न व्यापार सहमतिमा हस्ताक्षर गरेका जियाबाओले उक्त घटनालाई ´अपमानपूर्ण´ भनी टिप्पणी गरेका छन्।जियाबाओको भ्रमणका क्रममा बेलायतमा चीनमा भइरहेका मानव अधिकार उल्लंघन र तिब्बतका विषयलाई लिएर प्रदर्शन भएका थिए। आइतबार जियाबाओ भएतिर प्रदर्शन गर्दै अघि बढेका पाँच युवालाई लन्डनमा प्रहरीले गिरफ्तार गरेको थियो।प्रत्यक्षदर्शीका अनुसार विश्व अर्थतन्त्रबारे क्याम्ब्रिजमा सम्बोधन गरिरहेका चिनियाँ प्रधानमन्त्रीमाथि भाषणको अन्त्यतिर जुत्ता प्रहार भएको थियो।प्रेस एसोसिएसनले मंचको पछाडिपट्टिबाट जुत्ता प्रहार भएको र त्यो चिनियाँ प्रधानमन्त्रीभन्दा करिब एक मिटर पर खसेको जनाएको छ।ती प्रदर्शनकारीले मंचमा उपस्थित व्यक्तिहरुलाई चिनियाँ प्रधानमन्त्रीको भाषण नसुन्न आग्रह गर्दै चर्को स्वरमा भनेका थिए ´यो विश्वविद्यायल आफूलाई कसरी तानाशाहको रखैल बनाउन सक्छ’ एएफपीका अनुसार, ती व्यक्तिलाई सभाहलबाट सुरक्षा घेरामा बाहिर लगिएपछि सभाका अन्य सहभागीले जुत्ता प्रहार गर्ने ´तिमीलाई लाज होस्´ भनेका थिए। प्रहरीले ती व्यक्तिलाई सार्वजनिक सुरक्षामा खलल पारेको आरोपमा गिरफ्तार गरिएको पुष्टि गरेको छ। सम्बोधनका लागि आइपुग्नासाथ प्रधानमन्त्री जियाबाओ चीन समर्थक र चीन तथा तिब्बतमा मानव अधिकार उल्लंघनको विरोध गर्नेहरु दुवै समूहको प्रदर्शन सम्मुख परेका थिए।यो घटना गत डिसेम्बरमा तत्कालीन अमेरिकी राष्ट्रपति बुसको इराक भ्रमणकै घटनासँग मिल्दोजुल्दो छ। आफ्नो अन्तिम बिदाइ भ्रमणका क्रममा इराक पुगेका बुसलाई लक्षित गरी एक स्थानीय साचारकर्मीले दुईपटकसम्म जुत्ता प्रहार गरेका थिए।
चीनले आफ्ना प्रधानमन्त्रीमाथि जुत्ता प्रहार भएकोमा बेलायत सरकारप्रति गम्भीर असन्तुष्टि जनाएको छ। यो घटनाले द्विपक्षीय सम्बन्धमा भने असर नपार्ने स्पष्ट गरेको छ।´उक्त घटनाप्रति चिनियाँ पक्ष गम्भीर असन्तुष्टि प्रकट गर्दछ´ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जियाङ युले वक्तव्य जारी भनेका छन् ।बेलायती सरकारले पनि उक्त घटनाबाट आफूहरु दुःखी भएको भन्दै घटनामा संलग्नलाई कानुनअनुसार कारबाही गरिने आश्वासन दिएको छ।

No comments: