Friday, February 6, 2009

के हो माओवादी प्रजातन्त्रको नयाँ मोडल?

हामी सोधेर नथाके पछि भनौंला भन्ने उत्तर दिंदादिंदा उनीहरू थाक्नेछ्न्, नत्र सबैलाई अल्मल्याउने छन्। माओवादी नेता सीपी गजुरेलले आफ्नो पार्टीको धारणा स्पष्ट पार्दै केही दिनअघि काठमाडौंमा आयोजित अन्तर्क्रियामा भनेका थिए, ´हाम्रो पार्टी प्रजातन्त्रको नयाँ मोडलको पक्षमा छ।´महेन्द्रको माटो सुहाउँदो प्रजातन्त्र र पूर्वराजा ज्ञानेन्द्रको सार्थक प्रथातन्त्रको परिभाषाभित्र प्रजातन्त्रको भ्रष्टीकरण देखिसकेका मानवअधिकारकर्मी कपिल श्रेष्ठले संदिग्ध हुँदै प्रश्न गरिहाले, ´कस्तेा नयाँ मोडल? यसको रुप कस्तो हुन्छ? नयाँ मोडलको परम तत्व चाहिँ के हो?´ कमरेडले वातानुकूलित कोठामा उपस्थित भलाद्मीलाई थुम्थुमाउँदै भने, ´केही समय पर्खनुहोस्, हामी बताउँदै जानेछौँ।´ रानीतिशास्त्री सारट्रेको एउटा भनाइ यहाँ सान्दर्भिक होला, ´प्रजातन्त्र असाध्यै धेरैपटक प्रयोग भइसकेको यस्तो टोपीजस्तो हो, जसले आफ्नो निश्चित आकार गुमाइसक्यो।´ राजनीतिक विश्लेषक अब्जरभरको भनाइ अझ बढी सान्दर्भिक होला, ´प्रजातन्त्र सबैको प्यारी रखैल हो। यसमा धेरैलाई एकैपटक साथ दिनसक्ने जादुमयी क्षमता छ। एकैपटक धेरैलाई साथ दिएको पीडा हुँदाहुँदै पनि उसको साथ पाएकोमा हामी गर्व गर्छौं।´
माओवादीलाई संवाद गर्ने मञ्चमा तानेर ल्याउनुपर्छ र स्पष्टिकरण माग्नुपर्छ, के हो जनसंविधान? के हो जनगणतन्त्र? के हो प्रजातन्त्रको नयाँ मोडल? के हो संसदीय व्यवस्थाको विकल्प? काँग्रेसले सोध्नुपर्छ, के भिन्नता छ लोकतान्त्रिक गणतन्त्र र जनगणतन्त्रमा? श्रेष्ठलाई सान्त्वना दिंदै गर्दा कमरेड गजुरेलको अनुहारमा फैलिएको मुस्कानले प्रष्ट भन्दै थियो, ´कति गर्व छ उनलाई, यो प्रजातन्त्र भन्ने शब्दलाई आफ्नो प्यारी रखैल बनाउन पाएकामा!´ आजसम्म गरिएको प्रजातन्त्रको परिभाषासँग कमरेड गजुरेलको सहमति थिएन। यसमा कसको आपत्ति? उनको मत, उनको विचार, उनको नैसर्गिक अधिकार। तर यहाँ कमरेड गजुरेल वा माओवादीका विचारको प्रभाव उनी र उनको दायराभित्र सीमित रहँदैन। त्यसले त मेरो, तपाईको, हाम्रो निजी दायरामा पनि अतिक्रमण गर्छ। त्यसो भए यस्तो नयाँ मोडलको परमतत्वको जानकारी पाउने मेरो, कपिल श्रेष्ठको वा हामी प्रत्येकको अधिकार पक्कै हुन्छ होला? केही समयअघि एउटा यस्तै कार्यक्रममा माओवादीका अर्का नेता कमरेड अन्नतले संसदीय व्यवस्था पूर्णतः असफल भएको जिकिर गर्नुभयो। संसदीय व्यवस्थाविरुद्ध उहाँको एकांगी प्रहारप्रति प्रतिक्रिया जनाउँदै मैले भने, ´यो असफल व्यवस्थालाई प्रतिस्थापन गरेर तपाईहरूले ल्याउने व्यवस्थाचाहिँ कस्तो हो?´ उत्तर थियो, ´निश्चित रूपमा तपाईको प्रश्न बढो सान्दर्भिक छ। हामी यस विषयमा पार्टीभित्र गहन छलफल चलाइरहेका छौं। तपाईहरूलाई पछि भनौंला।´ हामीले बुझेको मार्क्सवाद एउटा अत्यन्त उपयोगी एवं गतिशील विचारधारा हो, जसको महत्व र प्रासंगिकता असंदिग्ध छ। यो पनि बुझेका छौं, मार्क्सवादीहरूको राजनीतिक व्यवहार लोकसम्मत्ति र मानवीय संवेदनाभन्दा बढी पूर्वनिर्धारित निश्चितताका आधारमा चल्छ। लेनिनले भनेका थिए, ´म मार्क्स, एंगेल्स र प्लेखेनोभको काम र विचारसँग परिचित त भएँ तर चेर्नस्मस्कीमात्र त्यस्ता व्यक्ति हुन्, जसको मउपर छाप परेको छ।´विख्यात् उपन्यासकार चेर्नस्मस्कीको उपन्यासको छाप आफूमा परेको लेनिनले स्वीकारेका थिए। त्यस उपन्यासको सार थियो, स्वाधीन विचारको समुदायका ´नयाँ मानिस´ हरूको प्रयत्नमा समाजको पुरानो आधारको ध्वसं गरेपश्चात अधिनायकवादी शासनमार्फत् सामाजिक युरोपियाको सिर्जना। लेनिनवादी हुनुको अर्थ के हो, यो कथनबाट सहजै बुझ्न सकिन्छ। लेनिन बनिबनाउ राज्य संयत्र ध्वस्त पार्नुपर्ने विषयमा कुनै सम्झौता गर्दैनन्। उनी आम रूपमा परिवर्तनका लागि सशस्त्र क्रान्तिको सिद्धान्त, प्रकारान्तरले हिंसाको प्रयोग नगर्नेलाई मार्क्सवादी मान्न तयार छैनन्। लेनिनवादी दललाई बुझ्न लेनिनको यति नै प्रशिक्षण काफी छ। पुँजीपति वर्गको सैनिक–नोकरशाही राज्य संयन्त्रलाई बलपूर्वक ध्वस्त नपारी सर्वहारा र सर्वहाराका सहयोगीका लागि संसदीय बहुमत या असम्भव हुन्छ या भरपर्दो हुने छैन। क्रान्तिकारी शक्ति कहिल्यै संसदीय बहुमतको धोकामा अल्मलिनुहुन्न। माओको यो प्रशिक्षण, माओवादीलाई बुझ्न काफी हुन्छ। नेकपा (माओवादी) को दस्तावेजले भन्छ, ´प्रचण्डपथ मार्क्सवाद–लेनिनवाद र माओवादको एक अभिन्न अंग हो।´ प्रचण्डपथ परित्याग गरिसकेको उदघोष मान्ने हो भने पनि मार्क्सवाद–लेनिनवाद र माओवादलाई पथप्रर्दशक सिद्धान्तका रूपमा अंगिकार गरेको एउटा दललाई मार्क्सवादइतर दर्शनले प्रेरित राजनीतिक दल र तिनका मूल्य–मान्यता स्वीकार गर्ने अनुमतिप्राप्त हुँदैन। यो सन्दर्भमा माओवादीको टिप्पणी हुन्छ, ´हामीले मार्क्सवाद–लेनिनवाद र माओवादको वस्तुनिष्ठ समीक्षा गर्दै यसमा आफ्नो मौलिक चिन्तन थपेर नविन र समृद्ध बनाइएको छ। बहुलवाद र प्रतिस्पर्धात्मक प्रजातन्त्र अब हाम्रा पनि मान्यता हुन प्रतिक्रियावादी राज्यसत्ता ध्वसं गरी जनताको नयाँ जनवादी राज्यसत्ता स्थापनाको प्रक्रियामा लाग्न हामी प्रतिबद्ध छौं।´ यही भनेर जनयुद्ध प्रारम्भ गर्ने माओवादीसँगको सहवासलाई माओवादीको यही स्वीकरोक्तिले नै सम्भव बनाएको थियो। १२ बुंदे समझदारीदेखि यहाँसम्म आइपुग्दा भएका अनेकन सम्झौता र सहमति, तात्कालिन घटनाको सन्दर्भमा भएका समझदारीको सूचीजस्तो लागे पनि बहुलवाद र प्रतिस्पर्धात्मक लोकतन्त्रकै आधारस्तम्भमा त्यस्ता सम्झौता ठडिएका छन्। माओवादीलाई प्रिय लागोस् वा अप्रिय, उनीहरू यिनै सम्झौताका बन्दी हुन्। यी सम्झौताका बन्धक भइसकेकालाई न त आफ्नो शस्त्रको परिभाषा लाद्ने छुट छ, न कुनै अमूर्त मोडलको राग अलाप्ने स्वीकृति नै। संसदवादी भनेर परिचित राजनीतिक दलका नेता कुनै समय पूर्वराजा ज्ञानेन्द्रले स्वघोषित अभिनन्दन श्रृंखलामा दिने प्रवचनमा कतिपटक ´प्रजातन्त्र´ भन्ने शब्द उच्चारण गरे भनी केलाउँथे। अहिले माओवादी अध्यक्षको व्याख्यामा अर्धविराम र पूर्णविराम केलाइरहेका छन्। निर्वाचनमा जनताले अस्वीकृत गरेका नेतालाई माओवादीले पुरस्कृत गरिदिंदा माओवादी हितैषी भएकोमा हर्षित हुन्छन्। आफ्ना कार्यकर्ताको खुट्टा बञ्चरोले ठुन्क्याउँदा त्यही माओवादीलाई राक्षस उपमा दिन्छन्। आफ्ना नेतालाई सुविधाको रंगिन उपहार दिंदा माओवादीलाई समझदार देख्छन्। अनि, त्यसैको बदलामा अध्यादेशको गह्रुँगो भारी बोकाइदिंदा छट्पटी गर्न थाल्छन्। यो कित्ताको समस्या यही हो। माओवादीलाई खण्ड–खण्डमा बुझेर र विश्लेषण गरेर सही र सम्पूर्ण चित्र देख्न सकिन्न। अहिलेको आवश्यकता भनेको माओवादीसँग केही प्रश्नको उत्तर खोज्नु हो। संसदीय व्यवस्था असफल भयो, अब यसलाई मानिन्न भन्ने माओवादीलाई यस्तो किन भनिस् भनेर सराप्नेभन्दा, त्यसो भए कस्तो व्यवस्था खोजेको भनेर स्पष्टिकरण माग्नुपर्छ। प्रजातन्त्रको पुरानो परिभाषा अस्वीकार गर्छौं भन्दा नयाँ परिभाषाको भाव र सारको माग गर्नुपर्छ। माओवादीका दश नेताले दिने दश भिन्न अभिव्यक्तिमा के समानता र के भिन्नता छ भनेर खोज्दै हिंड्नुको कुनै तुक छैन। माओवादीलाई संवाद गर्ने मञ्चमा तानेर ल्याउनुपर्छ र स्पष्टिकरण माग्नुपर्छ, के हो जनसंविधान? के हो जनगणतन्त्र? के हो प्रजातन्त्रको नयाँ मोडल? के हो संसदीय व्यवस्थाको विकल्प? काँग्रेसले सोध्नुपर्छ, के भिन्नता छ लोकतान्त्रिक गणतन्त्र र जनगणतन्त्रमा? अनि एमालेले सोध्नुपर्छ के भिन्नता छ एक्काइसौं शताब्दीको जनवाद र जनताको बहुदलीय जनवादमा? हामी सोधेर नथाक्ने हो भने पछि भनौंला भन्ने उत्तर दिंदादिंदा उनीहरू नै थाक्नेछन्। नत्र सबैलाई अल्मल्याउने चक्करमा हामीलाई पनि अल्मल्याउने छन्। आफू पनि अल्मलिरहने छन्। संविधानसभा पनि यही चक्रव्यूहमा अल्मलिरहनेछ। यो अलमलबाट बाहिर निस्कनसकेमात्र संविधान लेखनले एउटा गति लेला, अनि शान्ति प्रक्रिया टुङ्गोमा पुग्न सक्ला।

गगन थापा
online bata savar gariyako ho

No comments: