Thursday, February 5, 2009

एडीबीले सहयोग दोब्बर पार्ने

काठमाडौं माघ २३ -
प्रमुख दातृ संस्था एसियाली विकास बैंक एडीबी ले सन् २००९ देखि नेपाललाई दिने सहयोग रकम दोब्बर गर्ने भएको छ। बैंकका नेपाल निर्देशक बेरी हिचककले नेपाललाई अहिलेकोभन्दा दोब्बर सहयोग गर्ने नीति पारित भएको जानकारी बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिए। बैंकले वार्षिक १० करोड अमेरिकी डलर बराबर सहयोग गरिरहेको छ। आउँदो वर्षदेखि २० करोड डलर पुग्नेछ। ´नेपालको विकास आवश्यकताका क्षेत्रमा हामी उत्तरदायी रुपमा सहयोग पुर्‍याउनेछौं´ उनले भने - ´बैंकले शान्ति प्रकि्रया र दुर्गम क्षेत्रका पिछडिएका समुदायमा सहयोग केन्द्रित गर्नेछ।´ मन्दीबीच पनि नेपालले यो वर्ष साढे तीन प्रतिशत आर्थिक वृद्धिदर हाँसिल गर्ने बैंकको अनुमान छ । चालु बजेटले ७ प्रतिशत वृद्धिको लक्ष्य लिएको छ । बैंकले सन् २००८ मा नेपालको शिक्षा सूचना प्रविधि स्थानीय सुशासन परियोजनाका लागि १३ करोड ९३ लाख डलर सहयोग गरेको थियो । प्राविधिक सहायतातर्फ १० परियोजनाका लागि ४४ लाख डलर दिने घोषणा गरिएको छ। खाद्यान्न निर्माण सामग्री र पेट्रोलियम पदार्थको बढ्दो मुल्यमा पनि एडीबी सहायतामा साचालित परियोजना अघि बढीरहेको बैंकले जनाएको छ। बैंकले बिहीबारै सन् २००५ देखि साचालित परियोजनाबाट जनतामा परेको प्रभावसम्बन्धी प्रतिवेदन ´समावेशी बाटोमा´ सार्वजनिक गरेको छ। प्रतिवेदनमा राष्ट्रिय साझेदारी रणनीति २००५-२००९ को कार्यथलोमा गरिएको मध्यावधि समीक्षा समावेश छ।

No comments: