Saturday, February 28, 2009
सदभावका लागि मितेरी
काठमाडौं, फागुन १७ -
तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा नेपाली काँग्रेसका नेता एंव पूर्वमन्त्री रामहरी जोशीले सार्वजनिक समारोहमा मितेरी लगाएका छन् । नेताद्वय ठाकुर र जोशी मात्रै होइन फरक सिद्धान्त राख्ने सभासदहरु मीना पाण्डे र गायत्री साह तथा मो.रिजवान अन्सारी र एकनाथ ढकालले पनि मितेरी सम्बन्ध गाँसेका छन् ।
शान्ति र सामाजिक सदभावका लागि सर्लाहीवासीले शनिबार राजधानीको त्रिभुवन पार्कमा आयोजना गरेको सदभाव वनभोज कार्यक्रममा नेताहरु झैं दर्जनौं युवा युवतीका जोडीले मित्रता जोडे । केही समययता विभिन्न कारणले तराईमा खल्बलिदैं गएको 'शान्ति तथा सामाजिक सदभाव' लाई बलियो बनाउन कार्यक्रमको आयोजना गरिएको थियो ।
पहाडी तथा मधेशी समूदायका राजनीतिक व्यक्ति, त्यस्तै अन्य विभिन्न पेशामा संलग्न व्यक्ति तथा युवा विद्यार्थीबीच गराइएको मितेरी कार्यक्रमले बनभोज कार्यक्रमको आर्कषण थपेको थियो । सदभावको कामना गर्दै सबैले सामूहिक होली पनि मनाएका थिए ।
कार्यक्रममा बोल्दै तमलोपाका अध्यक्ष ठाकुरले आम नेपालीले चाहेको सदभावलाई मितेरी कार्यक्रमलले बल पुर्याउने बताए । नेपालमा कुनै एक जाति विशेषको बर्चश्व नरहेको भन्दै उनले सबै जात,जाति,धर्म, समुदायले नेपाललाई श्रृंगारेकोले विश्वमा नेपालको आफ्नै पहिचान रहेको उनले उल्लेख गरे ।
उनले विगतमा भएको एकपक्षीय शासन प्रणालीले जनताको भावना चित्कार सुन्न नसकेकै कारण अहिले सबैले आफ्नो भाषा,संस्कृति,पहिचानका लागि संघर्ष गर्नुपरेको बताए । मुलुकमा अहिले समानुपातिक र समावेशी चरित्र आवश्यक रहेको भन्दै उनले भने- त्यसो गर्न नसकिए दुर्घटना हुनसक्छ ।कार्यक्रमका अतिथि माओवादी नेता सीपी गजुरेलले नेपाली-नेपालीबीच एकता एंव भाइचाराको वातावरण बनाउन सर्लाहीवासीले गरेको मित्रता कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए । काँग्रेस नेता जोशीले कार्यक्रम ऐतिहासिक भएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । शान्ति र सदभावका लागि अत्यन्तै फलदायी हुनसक्ने भएकोले जिल्ला जिल्लामा मैत्री कार्यक्रम गर्न उनको सुझाव थियो ।
अमेरिकामा गोरा र काला जातिबीच द्वन्द चर्केको बेला मितेरी कार्यक्रमले जातीय सद्भाव राख्न ठूलो भूमिका खेलको भन्दै सर्भिस फर पीस संस्थाका महासचिव सरोज खनालले अहिलेको सन्दर्भमा नेपालमा पनि यस्तो कार्यक्रमको सान्दर्भिकता रहेको चर्चा गरे । कार्यक्रममा सर्लाही घर भएर राजधानी बस्दै आएका विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment