Saturday, February 28, 2009

प्रेसले नकारात्मक कुरामात्र लेखेर मलाई घेराबन्दीमा पार्दैछन् : प्रधानमन्त्री

´पार्टीमा विवाद हुँदा प्रेसलाई उत्सव आउँछ´
´प्रेसले माओवादीलाई फुटाउन खोज्दैछ´
´बच्चाजस्तो संघीयता र गणतन्त्रलाई प्रेसले घनले हान्दैछ´
´संविधान लेखन र शान्ति प्रक्रियामा समेत प्रेस नकारात्मक छ´
´संक्रमणकालमा प्रेस सरकारप्रति नकारात्मक हुनुहुन्न´
´ज्ञानेन्द्र भारतमा बिहेका लागिमात्र गएका होइनन्´

काठमाडौं फागुन १७
एकीकृत नेकपा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टी र सरकारका विरुद्ध नकारात्मक कुरामात्र लेखेर प्रेस र पत्रकारले आफूलाई घेराबन्दीमा पारिरहेको आरोप लगाएका छन्। राजधानीमा शनिबार भएको पूर्व नेकपा माओवादीको भातृ संगठन क्रान्तिकारी पत्रकार संघ र पूर्व एकता केन्द्र मसालसम्बद्ध पत्रकारहरुको एकता भेलालाई सम्बोधन गर्दै उनले आफू अहोरात्र मुलुकका लागि खटिरहँदा पनि समाचार नबनाएकामा प्रेसको तीव्र आलोचना गरे।
´मिडियाले माओवादी र सरकारका सकारात्मक कुरा नलेख्ने, खाली नकारात्मक कुरामात्र लेख्ने गरेर माओवादी नेतृत्वलाई घेराबन्दी गर्दैछन्´, प्रधानमन्त्रीले भने- ´म बिहान ५ देखि साँझ ८ बजेसम्म देशका लागि खटिरहन्छु। अहिलेसम्म यसरी खट्ने प्रधानमन्त्री पहिला कोही थियो कि भनेर सचिवहरुसित समेत सोध्छु पनि। मैले त्यत्रो दुःख गरेको कुरा मिडियामा नआउँदो रहेछ। मेराबारेमा खाली नकारात्मक कुरामात्र आइरहेको छ।´
उनले बढी सर्कुलेसन भएका ठूला मिडिया आफू र आफ्नो पार्टीको विरुद्धमा लागेको आरोपसमेत लगाए। सरकारलाई अस्थिर बनाउन र माओवादीलाई फुटाउनसमेत प्रेस लागेको दाबीसमेत दाहालले गरे। ´बढी सर्कुलेसन भएका ठूला मिडियाले माओवादी र सरकारको नेतृत्वविरुद्ध बढी नकारात्मक कुरा लेखिरहेका छन्। उनीहरु हाम्रो पार्टी फुटाउनतिर पनि लागेका छन्।´
प्रधानमन्त्री दाहालले नेता मातृका यादवद्रारा माओवादी परित्यागको घोषणा गरेको घटनाप्रति संकेत गर्दै प्रेसलाई पार्टीमा हुने विवाद र विग्रह उत्सव आएजस्तो हुने गरेको दाबी गरे। ´पार्टीमा विखण्डन हुँदा उनीहरु (प्रेस) लाई उत्सव आएजस्तै हुन्छ´ उनले भने- ´आज मैले यति बोलें, भोलि तपाईं (सञ्चारकर्मी) हरुले के के लेख्नुहुन्छ। मैले प्रेस स्वतन्त्रतालाई मिनिमाइज गर्न खोजेको होइन।´
प्रधानमन्त्रीले आफ्नाविरुद्ध प्रेसमा निरन्तररुपमा सर्वहाराको नेता डेढ लाखको पलङमा सुतेको, एक करोडको गाडी झिकाएर चढेकोजस्तो नकारात्मक समाचारमात्र आइरहेकामा दुःख प्रकट गरे। एक करोडको गाडी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झिकाएको, तर उनका बारेमा समाचार नलेखेकामा साचारकर्मीहरुप्रति असन्तुष्टि प्रकट गरे। ´तपाईंहरुले पलङको कुरा धेरैचोटि लेख्नुभयो। मलाई कहिलेकाहीँ त त्यो पलङ फालिदिऊँ कि जस्तो लाग्छ´ प्रधानमन्त्रीले भने- ´प्रधानमन्त्रीले एक करोडको गाडी किनेर चढ्न लाग्यो भनेर लेख्नुभयो। त्यो गाडी गिरिजाप्रसादले मगाएका रहेछन्। मलाई त थाहा पनि थिएन। गिरिजाप्रसादले मगाउँदा समाचार नहुने, मेरै पालामा आयो भनेर मेराविरुद्ध समाचार आउने ?´
दाहालले १०/१२ वर्षदेखिका सरकारका नालायकीले अहिले लोडसेडिङको समस्या बढेको भए पनि आफ्नै नेतृत्वको सरकारलाई दोष दिएको आरोपसमेत प्रेसमाथि लगाए। उनले बुझ्दै नबुझी सारा जनतालाई अन्धकारमा पारेर प्रधानमन्त्री आफू उज्यालोमा बस्छन् भनेर प्रेसले झूटो समाचार छापिरहेको दाबीसमेत गरे।
दस/बाह्र वर्षदेखिका पुराना सरकारका नालायकीले अहिले लोडसेडिङको समस्या भएको हो। तर तपाईंहरु (सञ्चारकर्मीहरु) माओवादी आएपछि लोडसेडिङ बढ्यो भनेर लेख्नुहुन्छ। प्रधानमन्त्री निवासमा बत्ती जाँदैन भनेर लेखिरहनुभएको छ´ उनले भने- ´बालुवाटारमा सुरुदेखि नै लोडसेडिङ हुन्छ। विदेशी पाहुना आएका बेला पनि बालुवाटारमा बत्ती जान्छ, त्यो कुरा तपाईंहरु समाचार बनाउनुहुन्न।´
प्रधानमन्त्री दाहालले आफूमाथि एउटा पनि दाग नलागोस् भनेर सचेत रहेको, तर त्यो कुरा समाचार नबनेकामा प्रेसप्रति गुनासो गरे। ´म चाहिँ एउटा पनि दाग नलागोस् भनेर सचेत छु, त्यो कुरा समाचार नबन्दो रहेछ´ उनले भने।
´संक्रमणकालमा प्रेस सरकारप्रति नकारात्मक हुनुहुन्न´
प्रधानमन्त्री दाहालले संक्रमणकालका बेला पनि प्रेस सरकारप्रति नकारात्मक बनिरहेको महसुस गरेको उल्लेख गर्दै शान्ति प्रक्रिया तार्किक निष्कर्षमा नपुगेसम्म सरकारप्रति नकारात्मक नभइदिन प्रेस र सञ्चारकर्मीलाई आग्रह गरे।
´संक्रमणकालको बीचमा मिडिया अलिकति नकारात्मक भएजस्तो महसुस गरेको छु। यसको मतलब मिडियाले आलोचना र खबरदारी गर्नै हुन्न भनेको होइन´ उनले भने- ´शान्ति प्रक्रिया टुंगो लागेर अर्को चुनाव भइसकेपछिमात्र सरकारको जति आलोचना गरे पनि हुन्छ, संक्रमणकालमा गर्नुहुन्न।´
´बच्चाजस्तो संघीयता र गणतन्त्रलाई प्रेसले घनले हान्दैछ´
प्रधानमन्त्री दाहालले बच्चाजस्तो स‍ंघीयता र गणतन्त्रलाई प्रेसले घनले हानिरहेको आरोप लगाउँदै प्रेसकै कारण त्यो बच्चा मर्न सक्ने बताए। ´गणतन्त्र र संघीयता भर्खरै जन्मिएको बच्चाजस्तै हो। यसलाई तपाईं (सञ्चारकर्मी) हरुले घनले जसरी हानिरहनुभएको छ। त्यसरी हानेपछि त बच्चा मरिहाल्छ।´ उनले गणतन्त्र हुरीबतास सहन सक्ने नभइसकेको उल्लेख गर्दै त्यसलाई ध्यान दिई लेख्न प्रेसलाई सुझाव दिए।
´संविधान लेखन र शान्ति प्रक्रियामा समेत प्रेस नकारात्मक छ´
प्रधानमन्त्री दाहालले नेपाली प्रेस नयाँ संविधान लेखन र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने सवालमा समेत नकारात्मक रहेको आरोप लगाए। चारैतिरबाट सरकार ढाल्न आक्रमण भइरहेको छ, त्यसतर्फ प्रेस चनाखो नभएको उनले बताए।´प्रेस संविधान लेखन र शान्ति प्रक्रियाका सवालमा पनि अलिकति नकारात्मक दिशातिर गएको हो कि भन्ने भान भएको छ´ उनले भने- ´सरकार ढाल्न र संविधान लेख्न नदिने खेल भइरहेको छ। मेरै स्वकीय सचिव शक्ति बस्नेतमाथिको आक्रमण पनि त्यही श्रृंखलाअन्तर्गत भएको हो। संविधान लेखनमा सकारात्मक हुने हो भने मिडियाले ध्यान दिनुपर्‍यो।´प्रधानमन्त्रीले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई संकेत गर्दै कतिपय व्यक्तिले सरकार आँपजस्तै आफैं झर्ने कुरा गरिरहेको र त्यसो भन्नेहरु शान्ति प्रक्रियाप्रति कति जिम्मेवार छन् भन्ने कुरा बुझ्नुपर्ने बताए। ´परिवर्तन चाहनेका लागि यो सरकारभन्दा अर्को विकल्प छैन´ भन्दै उनले यदि कोइरालाले साँच्चै राष्ट्र स्वतन्त्र भएको देख्न र संविधान समयमै लेखियोस् भन्ने चाहन्छन् भने उनले वर्तमान सरकारलाई सहयोग गर्नुको विकल्प नरहेको बताए।
´ज्ञानेन्द्र भारतमा बिहेका लागिमात्र गएका होइनन्´
प्रधानमन्त्री दाहालले पूर्व राजा ज्ञानेन्द्र शाह भारतमा बिहेका लागिमात्र नभई राजनीतिक चलखेल गर्न गएको बताएका छन्। ´ज्ञानेन्द्र भारतमा बिहेका लागिमात्र गएका होइनन् भन्ने सुनेको छु। चलखेल छ भन्छन्´ उनले भने।

No comments: