Wednesday, March 11, 2009

डकर्मी पेशाप्रति महिलाहरुको पनि आकर्षण बढ्दै

झलारी, फागुन । पुरुषले मात्र गर्दै आएको डकर्मी पेशाप्रति महिलाहरुको पनि आकर्षण बढ्दै जान थालेको छ । एभरेष्ट तालिम केन्द्र र एफस्कील काठमाडौ नामक संस्थाले यहाँका १२ जना भन्दा बढी महिलाहरुलाई ५५ दिने डकर्मीको तालिम प्रदान गरेपछि उनीहरु दक्ष डकर्मीको दाँजोमा काम गर्न थालेका छन् ।घरको जोडाई इँट्टा ढुङ्गाको संरचना जग लगायतका काम गर्न सिकेपछि महिलाको यो पेशाप्रति आकर्षण बढ्ेको हो । पहिला-पहिला पुरुष मिस्त्रीका लागि मजदुर बनेर काम गर्दै आएकी झलारी ४ नौखरिकी रुक्मीणी चौधरी भन्छिन् - महिलाले आट्यो भने जे काम पनि गर्न सकिने रहेछ । तालिम लिएका यहाँका महिलाहरु आफै घर बनाउने ठेक्का लिएर काम समेत गर्न थालेका छन् । डकर्मी पेशा नै अङ्गालेर महिलाहरुले पनि राम्रो आम्दानी गरिरहेका छन् । डकर्मी पेशामै आवद्व दिपादेवी चौधरीले गतवर्षसम्म अर्काको घरमा किराया तिरेर बस्दै आएपनि अहिले उनले नौखरी गाउँमै आफ्नो जग्गा जमिन जोडी घर निर्माण गरेकी छिन् । उनले रासससंँग पहिला महिला मजदुरलाई हेप्दै मालिकले एकसय रुपैया दैनिक ज्याला दिने गरेको भएपनि अहिले आफै घर बनाउने ठेक्का लिइ दैनिक ४-५ सय पाउने गरेको बताईन । पुरुष मिस्त्रीसंँग काम काम गर्दा असजिलो हुने गरेको भएपनि अहिले मिस्त्री देखि मजदुर सबै महिला नै भएकोले काम गर्न सजिलो भएको ति महिला डकर्मीहरुको भनाई रहेको छ । सिप सिकेको एक बर्षको अवधिमा ति पौरखी महिलाहरुले तीन दर्जन भन्दा बढी निजी घर सार्वजनिक सौचालय विद्यालय बनाईसकेका छन् । जनभावना प्राथमिक विद्यालयका अध्यक्ष भागिराम चौधरीले भने ुविद्यालयको गेट बनाउन महिला डकर्मीहरुलाई ठेक्का दिएका थियौ उनीहरु पुरुष भन्दा लगनशील भएर समय भन्दा अगावै काम गर्न सक्दा रहेछन् ।ु महिला डकर्मीहरुले काम र दाम राम्रो हात पार्न थाले पछि उनीहरु झनै उत्साहित बनेका छन् । उनीहरुलाई घर बनाउने काम भ्याइ नभ्याई छ । छ महिनाका लागि ठेक्का लिईसकेका ति महिलाहरुले अरु डकर्मी भन्दा गुणस्तरीय सेवा दिने भावना राखी काम गर्न थालेकाले कामको चाप बढेको बताए । डकर्मी पेशाले नै चिनजान बढाएकोले पुरुष सरह नै व्यवहार हुने गरेको अनुभव डकर्मी पेशामा आवद्व सेवारानी चौधरीको छ । उनी भन्छीन् ुघर परिवारमा जेठी भएकाले छोरा जस्तै कमाएर ल्याएको देख्दा घरपरिवार खुसी हुने गरेका छन् त्यसै कारणले यस पेशालाई निरन्तरता दिएकी छु । यसै पेशाबाट कमाएको पैसाले दुई जना भाई बहिनीको पढाई खर्च व्यर्होनुको साथै घरपरिवारका लागि खाद्यान्न लत्ताकपडा जुटाई दिँदा घरबाट काम गर्ने प्रोत्साहान पाएको छु ।ु घरको मेलापात र चुलो चौकोमै सिािमत रहने यहाँका महिलाहरुले सजिलैसंँग घरको नक्सा कोर्ने विम बनाउने चिल्याई गर्ने लेन्टर हाल्ने प्लास्टर गर्ने आदि काम गरेको देख्दा अरुलाई पनि घरको काम छाडेर डकर्मी काम गर्ने आर्कषण बढ्ेको छ । दैनिक अन्य मजदुरी भन्दा यस पेशाबाट कमाई पनि राम्रो हुने भएकोले घरपरिवारको खर्च धान्न सजिलो भएको पिपलाडीकी कमला चौधरी बताउँछिन् ।काचनपुर जिल्लामा डकर्मी बनेर निर्माणमा जुटेका सामान्य लेखपढ गर्न जान्ने ति महिला आफुहरु नै पहिलो डकर्मी भएकोमा गर्व समेत गर्दछन् । काचनपुरका झलारी पिपलाडी झै अन्य क्षेत्रका महिलाहरुलाई डकर्मीको सिप सिकाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको एभरेष्ट तालिम तथा अनुसन्धान केन्द्रका राम चौधरी बताउनु हुन्छ । एभरेष्ट तालिम संस्थाले झलारी र पिपलाडीका २६ जना महिलाहरुलाई ५५ दिने तालिम प्रदान गरी स्वावलम्वी बनाएको हो

No comments: