स्ट्याण्डर्ड चार्टड बैंक नेपालका प्रमुख कार्यकारीको वार्षिक तलब १ करोड ७७ लाख
पृथ्वीबहादुर पाण्डेको १ करोड २८ लाख
सुमन जोशीको ९९ लाख ९० हजार
अशोक राणाको ८७ लाख
अनील शाहको ८० लाख
काठमाडौं फागुन २९
बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीको तलव तथा सुविधा कति हुनुपर्ला? मासिक २ लाख, ५ वा १० लाख रुपैयाँ? यति नै हुनुपर्छ भन्ने छैन। नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारीले वार्षिक १ करोड ७७ लाख रुपैयाँसम्म पारिश्रमिक र सुविधा बुझ्छन्। धेरै बैंकका प्रमुखको मासिक न्युनतम् तलब ६ लाख रुपैंयाँभन्दा बढी छ।
यसबाहेक मोटर, घर, सवारीचालक, सुरक्षागार्ड, बगैंचा र भान्छामा काम गर्ने सहयोगीसमेत उनीहरुले पाँउछन्।´दक्ष र विश्वसनीय जनशक्तिको अभाव छ; प्रतिस्पर्धी बजारमा अनुभवीलाई बढी तलव सुविधा दिनु बाध्यता हो´- सिटिजन इन्टरनेशनल बैंकका अध्यक्ष शंकर शर्माले भने।संयुक्त लगानीको स्ट्यान्डर्ड चार्टड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुजीत मुण्डलको तलव सुविधा संभवत नेपालका जागिरेमध्ये सबभन्दा बढी छ। बैंकको आर्थिक वर्ष २०६४/६५ को प्रतिवेदनअनुसार मुण्डलले त्यस वर्ष १ करोड ७७ लाख रुपैयाँ तलव बुझेका छन्। यसबाहेक मोटरलगायतका सुविधा लिएका छन्। सर्वसाधारणलाई समेत सेयर दिएको संयुक्त लगानीको यो बैंक बढी नाफा र लाभांश दिनेमा पर्छ। मुण्डलको तलव सरकारका शाखा अधिकृतको भन्दा ८४ गुणा बढी हो। सरकारले श्रमिकका लागि तोकेको न्युनतम तलवभन्दा यो सुविधा १ सय ५२ गुणा बढी छ। ´लगानीको उच्च प्रतिफल दिने भएकाले बैंकका प्रमुख तथा कर्मचारीलाई बढी तलव दिनुपरेको हो´- खेतान समूहका अध्यक्ष राजेन्द्रकुमार खेतानले भने। अधिकांश व्यावसायिक घरानाको बैंकमा लगानी छ।
पूर्ण नेपाली लगानीको नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष तथा कार्यकारी निर्देशक पृथ्वीबहादुर पाण्डे दोस्रो बढी तलव बुझ्ने व्यांकर हुन्। उनको वार्षिक तलव १ करोड २८ लाख रुपैयाँ भएको गत आर्थिक वर्षको प्रतिवेदनमा छ। उनको घरको बिजुली, पानी, टेलिफोन, पत्रपत्रिका र बीमाको रकम पनि बैंकले तिर्छ। चालक, सवारीसाधन र यसको मर्मतसमेत बैंकले तिरेको प्रतिवेदनमा छ। बैंकको मुनाफाका आधारमा पाउने बोनस छुटटै छ।´संचालक समितिले बनाएको पाँच वर्षे योजनाअनुसार काम गरेर देखाउने अनुभवीलाई प्रमुख कार्यकारीका रुपमा छनौट गरिन्छ´- खेतानले दैनिकीसँग भने।
लक्ष्मी बैंकमा खेतान समूहको लगानी छ। बैंकद्वारा आर्थिक वर्ष २०६४/६५ प्रकाशित प्रतिवेदनअनुसार प्रमुख कार्यकारी सुमन जोशीले ९९ लाख ९० हजार तलव बुझेका थिए।बैंकर्स एशोसिएसनका अध्यक्ष तथा बैंक अफ काठमाडौंका प्रबन्ध संचालक राधेश पन्तको मासिक तलव ३ लाख ३४ हजार छ। उनको भत्ता १ लाख ६६ हजार, हरेक संचालक समिति बैठकवापत ८ हजार, भान्छे, बगैंचे, सुरक्षागार्ड, चालक, इन्धनसमेत बैंकले दिएको प्रतिवेदनमा छ। उनीहरुले दशैं खर्चसमेत लाखौं रुपैयाँ पाउने गरेका छन्। बैंकका कतिपय कर्मचारीलाई वार्षिक बिदामा सपरिवार विदेश भ्रमण गर्ने खर्चसमेत दिइएको हुन्छ। घरमा खाना खर्चबाहेक सम्पूर्ण रकम कार्यालयले नै उपलब्ध गराउँछ। सन १९९० पछि सरकारले लिएको आर्थिक उदारीकरण नीतिपछि बैंक तथा वित्तीय संस्थाको संख्या बढ्यो। यससँगै बैंकका प्रमुख कार्यकारीको तलव र सुविधा पनि आकासिएको हो। ´बैंकबीचको तीव्र प्रतिस्पर्धा अझ बढ्दै छ। भर्खरै बैंकहरु स्थापना हुने गरेकाले विश्वसनीय र दक्ष जनशक्ति पाउन ग्राह्रो छ´- शर्माले भने। उनले बैंकका पहिलो र दोस्रो तहमा रहेका व्यक्ति र अन्य कर्मचारीको तलबीचको ठूलो अन्तर अस्वाभाविक भए पनि प्रमुख कार्यकारीको तलवलाई बढी भन्न नसकिने बताए। ´यसको विकल्प छैन तर प्रतिभाशाली नयाँ जनशक्ति बजारमा आइरहेको छ´- उनले भने।हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले पनि बैंकबाट ८७ लाख तलव र अन्य सुविधा लिन्छन्।
नेविल बैंकका प्रमुख कार्यकारी अनील शाहको वार्षिक तलव ८० लाख छ। उनी अन्य सुविधा पनि पाँउछन्। खेतानले अन्य व्यवसायमा गरेको लगानीको तुलनामा बैंकले बढी प्रतिफल पाइने भएकाले प्रमुख कार्यकारी तथा कर्मचारीको तलवमा धेरै खर्च गर्नुपरेको बताए। ´केन्द्रीय बैंकको निर्देशनप्रति जिम्मेवार हुने, ऋण प्रवाह तथा असुली, कार्यालय संचालन, कार्यक्षेत्र विस्तारलगायतका सम्पूर्ण जिम्मेवारी प्रमुख कार्यकारीमा हुने भएकाले यो तलवलाई अनुपयुक्त भन्न मिल्दैन´- उनले भने।निजी लगानीमा स्थापित बैंकका प्रमुख कार्यकारीको बढ्दो तलव सुविधाको चाप सरकारी लगानीमा संचालित बैंकलाई पनि परेको छ। माओवादी केन्द्रीय सदस्य वामदेव क्षेत्री कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएपछि महाप्रबन्धकको तलव १ लाख २ हजार रुपैयाँ बनाइदिएका छन्। यसअघि महाप्रबन्धकको तलव २८ हजार थियो। सबैजसो बैंकका प्रमुखहरुसँग खाइपाइ आएकोभन्दा डेढ दुई लाख बढी तलवका दुई तीन वटा जागिर प्रस्ताव हुने गरेका हुन्छन्। केही विकास बैंकहरु वाणिज्य बैंकमा स्तरोन्नति हुने र नयाँसमेत खुल्न लागेकाले यो वर्ष बजारमा १० भन्दा बढी प्रमुख कार्यकारी आवश्यक पर्ने सम्बद्ध अधिकारी बताउँछन्।बैंकका प्रमुख कार्यकारीले आम्दानीको साँढे २६ प्रतिशत कर तिर्नुपर्छ। उनीहरुले कर कटाएर पारिश्रमिक लिने गरेका छन्। झन्डै एक दशकअघिदेखि नै बैंकको जागिर निकै आकर्षक मानिन्थ्यो। सरकारले आर्थिक उदारीकरणका क्रममा वित्तीय क्षेत्र खुला गरेपछि संयुक्त लगानीमा सन् १९८४ मा नेपाल अरब बैंक स्थापना भयो। यसपछि बैंकका काम गर्ने आकर्षण बढेको हो। सन् १९९० पछि वित्तीय संस्था खुल्ने क्रम बढ्यो। सँगै बैंक कर्मचारीको तलव पनि निरन्तर बढ्ने गरेको छ।
गत वर्ष बैंक कार्यकारीले लिएका सुविधा (रुपैयाँमा)
स्ट्यान्डर्ड चार्टड बैंक १,७७,६५,९७०
नेपाल इन्भेष्टमेन्ट बैंक १,२८,१०,०००
लक्ष्मी बैंक ९९,९०,०००
सिद्धार्थ बैंक ९४,४५,४८९
हिमालयन बैंक ८७,११,७७९
नबील बैंक ८०,००,०००
एनआइसी बैंक ७८,६१,०००
कुमारी बैंक ६७,७०,०००
बैंक अफ काठमाडौं ६०,००,०००
माछापुच्छ्रे ५९,१२,८००
डेभलपमेन्ट क्रेडिट बैंक ५५,७९,०००
सिटिजन बैंक ५२,१५,५३२
Thursday, March 12, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment