Saturday, March 14, 2009

कमजोर सुरुआत गतिलो अन्त


राकेशको नेतृत्वमा पहिलो उपाधि
म एकदमै खुशी छु : श्रीलंकाली प्रशिक्षक

काठमाडौं, चैत १- प्रधानमन्त्री कपमा नेपालका दुवै टोलीको सुरुआत हेर्दा फाइनलसम्म पुग्ने छाँट थिएन। दशरथ रंगशालाको फाइनलमा दुई विदेशी टोलीले खेल्ने संकेत समूह चरणले देखायो। त्यहीअनुरुप नेपाल नीलो समूह चरणबाटै बाहिरियो। नेपाल रातोले संघर्षमय पारामा सेमिफाइनलमा स्थान बनाउँदै घरेलु समर्थकको ध्यान आफूतिर तान्यो। पहिलो खेलमा बंगलादेशको आरामबाग कि्ररा संघसँग १-१ को बराबरीमा रोकिएपछि रातोलाई दोस्रो खेल जित्ने बाध्यता बन्यो। पाकिस्तानी राष्ट्रिय टोलीलाई मुस्किलले हराएर नेपाल रातो सेमिफाइनल पुगेको थियो। पाकिस्तानविरुद्ध जुमानु राइले हुलमुलमा गरेको एकमात्र गोल नेपाल रातोको लागि प्रतियोगितामा अगाडि बढन सिाजवनी बनेको थियो। नेपाल रातोको यात्राले प्रतियोगितामा दर्शकको आशा थप्दै लग्यो। हिजो शुक्रबार मात्र थाइल्यान्डको जे डब्लुविरुद्ध सेमिफाइनल रातोका लागि फलामको च्यूरासरह थियो। खेलको अन्ततिर पुग्दा अनिल गुरुङ नायक भए र एक मिनेटको अन्तरमा दुई गोल गरे। त्यही खेलमा जुमानु र अनिल घाइते हुँदा रातोमाथि दबाब झन् बढ्यो। दुवै स्ट्राइकर घाइते त्यसमाथि २४ घन्टा नबित्दै फाइनल खेल्नुपर्ने बाध्यता। तमाम् बाध्यतालाई छिचोल्दै मैदान उत्रेको रातोलाई शनिबार भाग्यले साथ दियो। अघिल्लो दिनको थकाई मेट्न नपाउँदै रातोका खेलाडी फाइनलमा दुई घण्टा खटिए। निर्धारित ९० र थप ३० मिनेट गोलरहित बराबरीमा टुंगियो। त्यसपछि वास्तविक परीक्षा सुरु भयो नेपालका गोलरक्षक विकास मल्ल र श्रीलंकाका एचएम कुमाराको। घरेलु मैदान र २० हजारभन्दा बदी दर्शकको समर्थनका बीच नेपाली टोलीले टाइब्रेकरमा गोल गर्ने मौका पायो। अनिल गुरुङले गोलरक्षकलाई डज दिँदै पहिलो पेनाल्टी गोल गरे। त्यसपछि पालो आयो श्रीलंकन कप्तान चतुरन मधुरंगको। उनले बराबरी गोल गरे। सन्दीप राईले कडा प्रहारबाट गोल गर्दा विपक्षीका कसुन जयसूर्याले विकासलाई डज दिँदै गोल ठोके। राजु तामाङले पनि सजिलै गोल गर्दा नेपालको अग्रता ३-२ बन्यो। त्यसपछि पालो आयो श्रीलंकन इबी चानाको। उनको कडा प्रहार क्रसबार भन्दा माथिबाट बाहिरिएपछि नेपालको विजय आशा बलियो बनेको थियो। नेपाली खेलाडी विराज महर्जनले सजिलै गोल गरेपछि अग्रता४-२ ले फराकिलो बन्यो। त्यसपछि श्रीलंकाको खेल बचाउने जिम्मेवारी साजय प्रदीप कुमाराको काँधमा थियो। उनको पेनाल्टीले पनि चानालाई पछ्याउँदै क्रसबार माथिकै बाटो लागेपछि २० हजार घरेलु समर्थकले रंगशालामा एउटै लयमा ताली बजाए अनि एउटै लयमा स्वर भरे- नेपाल..., नेपाल....।नेपाल रातो ४-२ ले फाइनल जित्दै उपाधि घरमै राख्न सफल भयो। भलादमी कप्तान राकेश श्रेष्ठको नेतृत्वमा नेपालले जितेको यो पहिलो उपाधि हो।विश्व वरीयतामा श्रीलंका १ सय ६४ र नेपाल १ सय ७२औं स्थानमा छन्। लगभग १५ बर्षयता नेपालले फुटबल उपाधि जितेको छ। सन् १९९५ मा नेपालले पाँचौं दक्षिण एसियाली खेलकुद साफ मा स्वर्ण पदक जितेयता कुनै पनि उपाधि जितेको छैन। तथापि यो नेपालको आधिकारिक राष्ट्रिय टिम होइन र यो प्रतियोगिता पनि एसियाली फुटबल महासंघको आधिकारिक प्रतियोगिता होइन। उपाधिसँंगै सुरु भयो नेपाली टोली र दर्शकको खुसीयाली। दर्शक प्यारापिटको रेलिङ नाघेर टोलीको खुसीमा सामेल भए। उनीहरुले सुरक्षाकर्मीको बाधालाई वास्ता गरेनन्। दर्शकले लामो समयसम्म आफ्नै ढंगले खुसी मनाए। एकातर्फ प्रहरीको ब्याडबाजामा नाच्नेहरु थिए अर्कातिर नेपाली खेलाडीलाई उचालेर खुसी मनाउँदैमा मस्त थिए। फुटबलप्रेमीको धैर्यता प्रशंसा योग्य थियो। उनीहरु सफलतामा खुसीको कुनै पनि पल चुकाउन चाहँदैन थिए। खेलाडीले पदक लगाएदेखि ट्रफी नउचालुन्जेल समर्थकले टोलीलाई साथ दिइरहे। ´यो हाम्रो प्रतिष्ठासँग गाँसिएको प्रतियोगिता हो। गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्री कप उपाधि घरमै राख्न हामी प्रतिबद्ध थियौं´, राकेशले भने- ´लामो समयपछि नेपालको नाममा उपाधि जित्ने जित्ने टिमका हामी सबै सदस्य गौरवान्वित छौं। उनले पछिल्लो तीन बर्षदेखि नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका छन्। उनको नेतृत्वमा नेपाल गत बर्ष एएफसी च्यालेन्ज कपको फाइनल चरणमा पुगेको थियो। च्यालेन्ज कपको छनोट सुरु हुन दश दिनअघि पाएको यो सफलताले टोलीको मनोबल बढाएको राकेश बताउँछन्। नेपाल रातोका प्रशिक्षक योगम्बर सुवालले भने-´सफलताका लागि लामो समय कर्नुपर्यो आज हाम्रो भाग्य बलियो रहेछ।´ खेलमा बराबरीको टक्कर रहेको उनले बताए। ´खेल फिप्टी फिप्टी थियो´ -सुवालले भने। श्रीलंकाली प्रशिक्षक सम्पथ परेरा हारमा पनि जीत देख्छन्। ´आठ महिनाअघि मेरो टोली नेपालसँग ३-० ले हारेको थियो उनीहरुको होम ग्राउन्ड भएकाले यसपाली हामीलाई थप दबाब थियो´ उनले भने- ´यस्तो विपक्षीलाई मेरो टोलीले दुई घण्टा रोक्यो म एकदम खुसी छु।´ खेल बराबरीको रहे पनि टाइब्रेकरमा नेपाली टोली भाग्यमानी रहेको उनले बताए। नेपाल भ्रमणको लक्ष्य पुरा भएको उनको ठम्याइ छ। ´अर्को महिना हामी च्यालेन्ज कप खेल्दैछौं´ उनले भने- ´त्यसको तयारीका लागि यो प्रतियोगिता उपलब्धी मुलक रह्यो।´

No comments: