Friday, March 20, 2009

ठूलो अनिष्ट टरेकै हो त?

घातक हतियार पक्राउ प्रकरण सुन्दर खनाल, काठमाडौं चैत ७कुख्यात अन्तर्राष्ट्रिय अपराधी छोटे राजनद्वारा संचालित भनिएको गिरोहका तीन सदस्यलाई हतियारसहित समातेको समाचार सार्वजनिक गर्दा प्रहरीले विज्ञप्तिमा एउटा वाक्यांश उल्लेख गर् यो- ´राज्य व्यवस्थालाई अस्तव्यस्त बनाउने र राजनीतिक हलचल पैदा गराउने उद्देश्यका साथ´ त्यो वाक्यांशमा प्रहरीले घटनालाई लिएर गरेको आन्तरिक विश्लेषण निहित थियो। घटनाको अनुसन्धान प्रारम्भिक चरणमा हुँदाहुँदै प्रहरीले त्यो विश्लेषण राखेर विज्ञप्ति लेखिहाल्यो। तर प्रहरीले अत्यन्त घातक हतियार खरखजानासहित पक्राउ परेका उनीहरु कुन उद्देश्यले ´मुभ´ गरिरहेका थिए भन्नेबारे अनुसन्धान संवेदनशीलतालाई कारण देखाउँदै सञ्चारकर्मीलाई यकिन जवाफ दिन चाहेन। प्रहरीले बुधबारसम्म उनीहरु दुइटा एसएमजी र पाँच ´व्राण्डेड´ रिभल्भरसहित राजधानीकै कुनै ग्राहकलाई विक्री गर्न गइरहेको अवस्थामा पक्राउ परेको विश्लेषण गरिरहेको थियो। उनीहरुको वयान नै त्यस किसिमको थियो। केही बेरपछि भारतबाट छोटे राजनका मान्छे बब्बन सिंहले फोनबाट ग्राहक बताउने अपेक्षा गरिहँदा प्रहरीले समातेको उनीहरुले बयानमा भनेका थिए। राजधानीस्थित गिरोहले ती हतियार किनेर ठूलो अपराध मच्चाउन लागेको अनुमान सहज थियो। तर अनुसन्धानको पछिल्लो विकास फरक देखिन्छ। उनीहरुले हतियार विक्री नभएर प्रयोगकै लागि आएको भनेर बयान फेर्न खोजेका छन्। यसबाट प्रहरी सतर्क भएको छ। सप्तरीका टिंकु भनिने गणेश सिंह, सर्लाहीका विक्की भनिने अनिल बानियाँ र सप्तरीकै मुकेशकुमार दाशले सातवटा घातक हतियारबाट जुन प्रयोजन साध्य गर्न खोजेको भए पनि त्यो भयानक थियो। ´प्रयोग´ वा ´बिक्री´ जेका लागि भए पनि ढिलो वा चाँडो त्यो एउटा अत्यन्त अप्रिय घटनाको कारण बन्ने थियो। त्यो बुझाइमा कुनै गल्ती छैन। राजधानीमा ती हतियार भित्रेको सुराकीका पछाडि प्रहरी तीन दिन लगातार लागिपर्‌यो। दुई दिन उनीहरुबारे कुनै भेउ पाउन सकेनन्। उनीहरु बसेको स्थान सिफल वा कालिमाटी हुनसक्ने अनुमान थियो। प्रहरीले ती क्षेत्रमा निगरानी र रोडसाइड चेकिङ बढायो। तत्काल नभेटिए दुवै ठाउँमा सघन तलासी लिने उसको तयारी थियो। प्रहरीले उनीहरुलाई मंगलबार साँझ संयोगबश साधारण चेकिङका क्रममा पक्राउ गर् यो। उनीहरु स.१.प ९७९० नम्बरको पल्सर वाइकमा तीन जना खाँदिएर आइरहेका बेला झोला तलासी गर्दा साह्रो चिजको शंका लागेर खोलेपछि हतियार फेला परेको प्रहरी स्रोत बताउँछ।प्रहरीलाई सुराकीसँगै आशंका भयो कि राजधानीमा ठूलो अपराधको योजनामुताविक हतियार भित्रियो। अपराध कसबाट हुनसक्थ्यो भन्ने कुरा पक्राउ गरेपछिको खोजीको विषय हो। अपराध आफैं चाँही भयंकर हुने थियो भन्ने ठम्याई सही हो।प्रहरीले आफ्नो विज्ञप्तिमा भूमिका बाँध्ने क्रममा उल्लेख गरेको व्यहोरा सत्यतासँग धेरै नजिक देखिन्छ। प्रस्ट कारण- दुइटा एसएमजी र साइलेन्सरयुक्त रिभल्भर। एसएमजी राइफल यसअघिसम्म कि सेना-प्रहरीसँग छ या माओवादीसँग, जसले युद्धकालमा लुटेका हुन। प्रहरीले एसएमजी भिआइपी सुरक्षामा प्रयोग गरेको छ। सेनाले छोटो दुरी (बढिमा सय मिटर)मा हुने सघन ´कन्फ्रन्टेसन´ का लागि प्रयोग गर्छ। एउटा अपराधमा प्रवृत भएको मानिसले आफ्नो आवश्यकताअनुसारको हतियार बोक्छ। उनीहरुलाई सामान्य लुटपाट गर्न एउटा धारिलो हतियारदेखि साधारण पेस्तोलले काम दिनसक्छ। अपहरण फिरौतीका लागि हतियारभन्दा योजना ठूलो सरोकार ठानिएको देखिन्छ। विश्वका प्रायः घना शहरमा जस्तै राजधानीमा पनि साना हतियारको प्रकोप बढ्दै गएको छ। साना हतियारहरु किशोरावस्थाका दुर्व्यसनी, लुटेरा, तथाकथित डन र युद्ध पृष्ठभूमि भएका विभिन्न पक्षसँग प्रशस्त भएको सुरक्षा निकायहरुको ठहर छ। विश्वमा अहिले साना हतियारको प्रकोपलाई सार्वजनिक सुरक्षाको ठूलो समस्याका रुपमा हेरिँदै आएको छ। एसएमजी र साइलेन्सरयुक्त पेस्तोलको आवश्यकता गैरसुरक्षाकर्मीहरुलाई किन पर् यो त? एक वरिष्ठ सुरक्षा अधिकृत भन्छन्- ´कि आमहत्या या विशेष निशानामाथि अचूक प्रहार गर्न। लुटपाट या अपहरण फिरौतीका लागि ज्यानै लिनेभन्दा लक्षित चिज पाउने कुरा प्रधान हुन्छ। यस्ता घातक हतियार बोकेर जोखिम मोल्न त्यो समूह तयार हुँदैन।´ मंगलबार राति ती हतियार पक्राउ गर्न नसकिएको भए कस्तो अनिष्ट हुने सम्भावना थियो त्यसको आँकलन सम्भव नहुने प्रहरी अधिकृतहरु बताउँछन्। अनिष्ट कोमाथि हुनसक्ने अवस्था थियो त? फेरि प्रहरीको विज्ञप्तितिरै जाउँ- त्यहाँ हतारमा लेखिएको वाक्याशं सत्यतातिरै पुगेको देखिन्छ। एसएमजीको निशाना कोही सर्वसाधारण बनिहाल्नसक्ने गृहयुद्धको बातावरण छैन। नेपालमा रहेका विदेशीहरु निशाना बन्न सक्थे कि भन्ने अनुमान पनि हुनसक्छ। तर हतियार बोक्नेहरुको पृष्ठभूमि र चरित्रमा कुनै त्यस्तो पक्ष नदेखिएको अनुसन्धान अधिकॄतहरुको ´रिडिङ´ छ। भारतको वीरपुरबाट बब्बन सिंहमार्फत् हतियार झिकाएका गणेश सिंह राजपूत सम्प्रदायका हुन्। उनी अत्यन्त चलाख छन्। अनिल वानियाँले उनलाई हतियार नेपाल भित्रिसकेपछि काठमाडौंसम्म ल्याउन सहयोग गरेको देखिन्छ। मुकेशकुमार दास मात्रै २० प्रतिशत लोभमा सँगै हिँडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्छ। ´यो राजनीतिक हलचलको उद्देश्यले आएको हुनसक्छ जसका लागि निशाना पनि त्यही किसिमको हुनसक्छ´ एक विज्ञ अधिकृत भन्छन्। प्रहरीले ´वयानभन्दा माथिको अनुसन्धान´ का आधारमा भनेअनुसार हतियार ल्याउनेहरु छोटे राजनकै मान्छे हुन् भने यहाँ सम्भावित निशानाका विषयमा चर्चा गर्दा उनको पृष्ठभूमिलाई पनि बुझ्नुपर्नेहरु विज्ञहरु बताउँछन्। छिमेकी मुलुक भारतका लामो समयदेखि टाउको दुखाइ बनेका कुख्यात अन्तर्राष्ट्रिय अपराधी दाउद इव्राहिमसँग विद्रोह गरेर छुट्टेका छोटे राजनको सम्वन्ध भारतका हिन्दु अतिवादीहरुसँग रहेको मानिन्छ। ´गंभिर अनिष्ट टरेकोमा सन्तोष मानौं। उनीहरु फुत्केको भए हाम्रो राज्यव्यवस्थामै हलचल हुनसक्थ्यो´ एक वरिष्ठ सुरक्षा अधिकृत भन्छन्। उनका अनुसार केही दिन वाग्मति खोला किनारमा बेवारिसे फेला परेको भारी खरखजाना हाल समातिएको घातक हतियार र राजधानीमा यसअघि पनि घातक हतियार भित्रेको सुराकीले यहाँ ठूलो ´प्लट´ भइरहेको बुझ्नसकिने आधार दिन्छ।

No comments: