Monday, March 9, 2009

नेपाल नीलो सेमिफाइनल जान बन्चित

काठमाडौं, फागुन २६—नेपाल नीलो टोली प्रथम प्रधानमन्त्री कप आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्न सकेन।
श्रीलंका र जे डब्लू थाइल्यान्डबीच सोमबारको खेल गोलरहित बराबरीमा टुंगिएपछि नेपाल नीलोको सेमिफाइनल यात्रा टुंगिएको हो। समूह ए बाट श्रीलंका र थाइ टोली सेमिफाइनल पुगेका छन्।
यसअघि नै सेमिफाइनल पुगिसकेको श्रीलंका समूह विजेता हुँदै सेमिफाइनल पुगेको छ भने थाई टोली उपविजेता बन्यो। सोमबार बराबरी गरेपछि श्रीलंकाले ४ र जे डब्लूले २ अंकका साथ अन्तिम चारमा प्रवेश गरेका हुन्।
श्रीलंकाले नेपाल नीलोलाई ३-२ को नतिजामा हराएको थियो। जे डब्लूले नेपाल नीलोसँग १-१ को बराबरीमा खेलेको थियो।
दशरथ रंगशाला सोमबारको एकदमै निरस रह्यो। दुवैतर्फबाट गतिलो आक्रमणका दृश्यहरु विरलै भए। श्रीलंकाले अगाडिको यात्रा सुरक्षित गरिसकेकाले स्टार खेलाडीहरुलाई आराम दिएको थियो। थाई टोलीले पनि बराबरी गर्ने हैसियतमा प्रदर्शन गर्दा खेलले रोमान्चक मोड निम्याउन सकेन। दर्शकको उपस्थिति पनि न्यून थियो।
आज श्रीलंकाले जे डब्लूलाई १-०, २-१ वा २ गोल अन्तरले हराए मात्र नेपाल नीलोको सेमिफाइनल पुग्ने संभावना हुन्थ्यो।

No comments: