Friday, April 10, 2009

नागरिकता र विद्युतीय मेसिनका कारण कम मतदान

कास्की- १ मा १० प्रतिशत कम मतदान
कञ्चनपुरको मतपरिणाम रातभरिमा आउने
रोल्पामा शनिबार मात्रै मत गणना
काठमाडौं, चैत २८

नागरिकताका कारण संविधानसभा उपनिर्वाचनमा कम मतदान भएको छ। विद्युतीय मेसिनको प्रयोग र नागरिकता अनिवार्य गरिएका कारण मतदानमा कमी आएको दैनिकी संवाददाताहरुले जनाएका छन्। रोल्पा-४ मा ४२.७८ प्रतिशत मत खसेको छ भने कञ्चनपुरमा ४५.४० प्रतिशत मतदान भएको छ। मोरङ ५ र ७ मा ५० प्रतिशत मतदान भएको छ। कास्की १ मा झन्डै ४५ देखि ५० प्रतिशत मतदान भएको अनुमान छ। अघिल्लो निर्वाचनको तुलनामा यो १० प्रतिशत कम हो। मतदान भएका सबै क्षेत्रमा साँझदेखि मतगणना सुरु हुँदैछ। इलेक्ट्रोनिक मतदान भएका कारण राति अबेरसम्म मत परिणाम आइसक्ने सम्भावना छ। कञ्चनपुर ४ को मतगणना बेलुका साढे सातबाट शुरु हुने मुख्य निर्वाचन अधिकृत पदमराज भट्टले बताए । कञ्चनपुरमा कूल ६७ हजार ५ सय ८९ मतदाता मध्ये ३० हजार ६ सय ९१ मतदाताले मतदान गरेका छन्। कुल मतदाताको ४५ दशमलब चार शुन्य प्रतिशत मत खसेको छ । मतदानका क्रममा निर्वाचन आचार संहिता उल्लघंन गर्ने १९ मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। बिहान ८ बजेबाट शुरु भएको मतदान बेलुका ५ बजे सकीएको छ । मतगणना जिल्ला बिकास समितिको हलमा हुने भएको छ। अन्तीम मत परिणाम मध्यरातसम्म परिणाम आइसक्ने भट्टले बताए।
कास्की १
- ४५ प्रतिशत मदान१ नगरपालिका र १५ गाविस- कुल १ सय ४ मतदान केन्द्र- ९२ हजार ५ सय २८ मतदाता- १४ दल र ४ स्वतन्त्रसहित १८ उम्मेदवार
निर्वाचन शान्तिपूर्ण
पुष्पकमल दाहाल पाएको भन्दा एक हजार बढी मात्र
दैनिकी संवाददाताद्वय मनोज अधिकारी र सन्तोष पोखरेलकासंविधानसभा उपविर्नाचनअन्तर्गत कास्की क्षेत्र नम्बर १ मा शुक्रबार शान्तपूर्वक मतदान भएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ओझाले कुनै अप्रिय घटनाबीना निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको बताए। संविधानसभामा रिक्त पाँच जिल्लाका ६ निर्वाचन क्षेत्रअन्तर्गत कास्की-१ को लेखनाथ नगरपालिकाका १५ वटा वडा र १५ गाविसमा गरी कुल १ सय ४ केन्द्रमा शुक्रबार उपनिर्वाचन भएको हो।यो क्षेत्रमा अघिल्लो वर्षभन्दा करिब ३ हजार बढी अर्थात् कुल ९२ हजार ५ सय २८ मतदाता रहेका थिए।आजको मतदानमा करिब ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद पोखरेलले जानकारी दिए । अघिल्लो वर्ष संविधानसभा निर्वाचनमा ५५ प्रतिशत मत खसेको थियो ।प्रमुख जिल्ला अधिकारी ओझाकाअनुसार मतपेटिका पोखरा आईपुग्न ढिलो हुने भएकाले मतगणनाको समय टुङ्गो लागेको छैन। केही दुर्गम गाविसबाट मतपेटिका पोखरा ल्याईपुर्‍याउन ५/६ घण्टासम्म लाग्ने उनले बताए।जिल्ला निर्वाचन कार्यालयले सबै मतपेटिका पोखराको सभागृहमा भेला गरेपछि मतगणना हुने बताएको छ।यो पटकको उपनिर्वाचनमा पहिलोपटक प्रयोगमा ल्याईएको विद्युतिय मेसिनका कारण मतदान छिटो र सजिलो भएको निर्वाचन आयोगका कर्मचारी तथा मतदाताले बताएका छन्।मतदानका लागि नागरिकता अनिवार्य पेश गर्नुपर्ने व्यवस्थाका कारण भने कपितयले मतदान गर्न पाएनन्। नागरिकता र मतदाता नामावलीमा नाम, थर फरक भएकै कारण कतिपयले मतदान गर्न नपाएको गुनासो गरेका छन्।नागरिकता अनिवार्यरुपमा पेश गर्नुपर्ने र त्यसलाई नै आधिकारीक मान्नुपर्ने व्यवस्था कारण केही जटिलता आएको कतिपय मतदान अधिकृतहरुले बताए।कास्की १ अन्तर्गतका १ सय ४ मध्ये अधिकांश केन्द्रमा निर्धारित समय बिहान ८ बजेनै सुरु भएको थियो। तर केही केन्द्रमा भने विद्युतिय मेसिनमा आएको खराबीका कारण मतदान एकदेखि तीनघण्टासम्म ढिलो सुरु भयो।´बिहान सुरुमै विद्युतिय मेसिनले काम नगरेपछि ११ वटा मतदान केन्द्रमा केही घण्टा अवरोध आयो´ जिल्ला निर्वाचन अधिकृत भण्डारीले भने-´तीमध्ये आठ वटा केन्द्रका मेसिनले एक/डेढ घण्टापछि सामान्यरुपमा काम गरे। तीनवटा केन्द्रमा भने राजधानीबाट हेलिकप्टरमार्फत् नयाँ मेसिन ल्याएर ११ बजेबाट मतदान गराईयो ।´उनकाअनुसार मिजुरेडाँडास्थित हिमालय मावि, हंसपुरको हिमालय निमावि र सिद्ध गाविसको गाउँर्फक मावि केन्द्रमा हेलिकप्टरबाटै विद्युतिय मेसिन पुर्‍याएको थियो।राजधानीबाहिर पहिलोपटक प्रयोगमा ल्याईएको विद्युतिय मेसिनको प्राविधिक पक्षबारे सबैलाई जानकारी नहुँदा सामान्य समस्या आएको उनले बताए।भण्डारीकाअनुसार बेगनासको आनन्द ज्योति मावि, मिजुरे डाँडाको हिमालय मावि र अर्का एक मतदान केन्द्रमा राजधानीबाट विद्युतिय मेसिन झिकाई पुर्‍याउनु परेको थियो।सुरुमा मेसिनले काम नगरेका कारण लेखनाथको सैनिक बस्तीस्थित नवदुर्गा प्रावि केन्द्रमा एकघण्टा ढिलो मतदान सुरु भएको थियो।´बिहान विद्युतिय मेसिन खोल्दा कामै गरेन´ सो केन्द्रका मतदान अधिकृत महेन्द्र भुषालले भने-´ब्याट्री चेक गर्दा आफैं काम गरेपछि एकघण्टा ढिलो ९ बजेबाट मतदान सुरु भयो।´मतदातामा उत्साह कमराजनीतिक दल, निर्वाचन आयोगलगायतको अपेक्षाभन्दा कम मतदाता योपटकको उपनिर्वाचनमा सहभागी भएका छन्। गतवर्ष मुलुकमै इतिहासमा पहिलोपटक भएको संविधानसभा निर्वाचनमा देखिए जस्तो मतदाताको उत्साहजनक योपटक नदेखिएको धेरैले महसुस गरे।फर्जी मत र एउटै व्यक्तिले एकभन्दा धेरै मत हाल्ने नमिलेका कारण यो उपनिर्वाचनमा वास्तविक मत मात्र खसेको राजनीतिक दल र पर्यवेक्षकको अनुमान छ।नागरिकता र विद्युतिय मेसिनको प्रयोगका कारण कुनै प्रकारको धााधली र बेइमानी गर्न नसकिने भएकाले यो पटकको निर्वाचनमा अनावश्यक भीड नलागेको निर्वाचन आयोगको उच्चस्तरिय अनुगमन समितिका दिनेश अधिकारीले बताए।नागरिकताको अनिवार्य प्रावधानका कारण मतदान केन्द्रमा अनावश्यक भीड नदेखिएको उनले बताए। ´यसअघिका निर्वाचनमा लाहुर गएकादेखि अध्ययन रोजगारीका हिसाबले विदेशिएका र मरेकासम्मको नाममा फर्जी भोट खस्यो´ अपरान्ह २ बजे लेखनाथ नगरपालिकाको सैनिक बस्तीस्थित नवदुर्गा प्रावि केन्द्रमा हस्याङ्फस्याङ् गर्दै पुगेका अधिकारीले भने-´योपटक नागरिकता पेश गर्नुपर्ने कारणले सम्बन्धित व्यक्तिनै उपस्थित हुनुपर्ने भएकाले वास्तविक मात्र मतदाता देखिए।´उनले अनुगमनका क्रममा आफु पुगेका सबै मतदान केन्द्रमा तुलनात्मक रुपमा कम र वास्तविक मतदाता देखिएको बताए।राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्रीय कार्यालयका उपनिर्देशक अच्युत आचार्यले शुक्रबारको उपनिर्वार्चन शान्तिपूर्वक सम्पन्न भएको बताए। उनले कतै बलजफ्ती र डरधाक बीना मतदान भएको बताए।यस्तै दिनभर निर्वाचनको अनुगमनमा खटिएका राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति कास्कीका अध्यक्ष टेकनाथ बरालले मतदान विवादरहित बनेको बताए।मतदान छिटो र सजिलोपहिलोपटक विद्युतिय मेसिनबाट गराईएको मतदानका कारण मतदान प्रक्रिया छिटो र सजिलो भएको मतदाता र निर्वाचनसम्बद्ध कर्मचारीले बताएका छन्। मतदाताले पहिलोपटक प्रयोग गर्न पाएको विद्युतिय मेसिनमा केही अल्मलिएको भए पनि ज्यादै सजिलो भएको प्रतिक्रिया दिएका छन्।जिल्ला निर्वाचन अधिकृत घनश्याम भण्डारीले विद्युतिय मेसिनको प्रयोगका कारण मतदान सजिलो, छिटो र विवाद रहित बनेको बताए।निर्वाचनसाग सम्बद्ध कर्मचारीहरुले मेसिनका कारण नभई नागरिकताका कारण केही झण्झट र अप्ठेराहरु आएको बताए।लेखनाथ-५ विजयपुरस्थित भवानी कालिका उच्चमावि केन्द्रमा बिहान ८ बजे सबैभन्दा पहिले मतदान गर्ने ६८ वषिर्या बृद्धा सन्तमाया थापाले विद्युतिय मेसिन निकै सजिलो लागेको बताईन्। ´एकदमै सजिलो लाग्यो´ मतदान कक्षबाट बाहिंरिदै उनले भनिन्-´दायाँबायाँ मसी
लागेर बिग्रने डर पनि भएन।´यस्तै लेखनाथ-३ अघौर्स्थित लक्ष्मी मावि केन्द्रमा मतदान गरेलगत्तै ८२ वषिर्य बृद्ध बुद्धिलाल राजभण्डारीले यसअघि कयौंपटक भोट हाले पनि यति छिटो र सजिलो कहिलै नभएको सुनाए।´त्यो भाँडोमा देखाएको चिन्हमा थिचिदिएँ´ औंलाको मसी पुच्छै उनले भने-´मेसिन कराईहाल्यो, कति छिटो र सजिलो भयो ।´विद्युतिय मेसिनबाट मतदान गर्न अरुको तुलनामा बृद्धबृद्धा अलमलमा परेकाले केही समय लागेको मतदान अधिकृतहरुले बताएका छन् ।´विद्युतिय मेसिनको प्रयोगबारे सबैलाई राम्रोसाग थाहा नहुँदा कतिपय मतदाता अलमलमा परेका छन्´ भवानी कालिका उच्च मावि केन्द्रका मतदान अधिकृत गिरिधारी ढकालले भने-´सबै ठाउँ र मतदातासम्म मतदाता शिक्षा पुर्‍याउन नसकिएको जस्तो देखियो ।´लक्ष्मी मावि केन्द्रकी अधिकृत माया कडायतले पनि सबै मतदातालाई मेसिनको प्रयोगबारे राजनीतिक दल तथा निर्वाचन आयोगका कर्मचारीले नसिकाएको बताइन्।´धेरैजसो बुढापाकाहरु मेसिनबारे थाहा नहुँदाभित्र पुगेर अलमलमा परिरहेका छन्´ कडायतले भनिन्-´भित्र मेसिनको प्रयोगबारे गएर सिकाएपछि मात्र उनीहरुले भोट दिए ।´मतदान अधिकृतहरु ढकाल, कडायत, भुषाललगायतले विद्युतिय मेसिनका कारण मतदान छिटो भएको बताए ।मतदान गर्न पाईएननागरिकता र मतदाता नामावलीमा फरक नाम, थर भएकै कारण केहीले मतदान गर्न नपाएको गुनासो गरेका छन् ।बिवाहपछि पनि नागरिकतामा माइतीतर्फको थर भएकै कारण केही महिलाले मतदान गर्न पाएनन् ।सैनिक बस्तीका शिक्षक विजयराज भण्डारीले मतदानका लागि नागरिकता पेश गर्नुपर्ने नियम राम्रो भए पनि विवाहपछि थर परिवर्तन भएकै कारण केही महिलाले मतदान नगरी फर्किएको बताए ।लेखनाथ नगरपालिकास्थित सैनिक बस्तीका सोमत श्रेष्ठले नागरिकता र मतदाता नामावलीमा नाम फरक पर्दा आफ्ना दुई छोराले मतदान गर्न नपाएको सुनाए ।मुख्य प्रतिष्पर्धा तीन दलबीचकुल ९२ हजार ५ सय २८ मतदाता रहेको कास्की १ मा १४ राजनीतिक दल र चार स्वतन्त्र गरी १८ उमेद्वार प्रतिष्पर्धामा छन् । तीमध्ये अघिल्लो वर्ष विजयी बनेको माओवादी र उसका निकट प्रतिद्धन्दी एमाले तथा नेपाली कााग्रेस बीच नै मुख्य प्रतिष्पर्धा देखिएको छ ।गतवर्षको संविधानसभा निर्वाचनमा माओवादीका देव गुरुङ १७ हजार ४ सय ९ मत ल्याई विजयी भएका थिए। उनका निकटतम प्रतिद्धन्दी एमालेका खगराज अधिकारीले १४ हजार ८ सय ८६ मत ल्याएका थिए । यस्तै तेस्रो स्थानमा आएका कांग्रेसका यज्ञबहादुर थापाले १४ हजार २ सय ९३ मत पाएका थिए ।अनुसार संविधानसभा उपविर्नाचनअन्तर्गत कास्की क्षेत्र नम्बर १ मा शुक्रबार बिहानैबाट शान्तिपूर्वक मतदान भइरहेको छ। पहिलोपटक प्रयोगमा ल्याइएको विद्युतीय मेसिनका कारण केही मतदान केन्द्रमा भने अवरोध आएको छ। निर्धारित समयअनुसार बिहान ८ बजे सुरु हुनुपर्ने मतदान विद्युतीय मेसिनले काम नगरेपछि ११ केन्द्रमा अवरोध आएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
मेसिनले काम नगरेका मतदान केन्द्रका लागि राजधानीबाट हेलिकप्टरमार्फत् थप मेसिन ल्याइएको जिल्ला निर्वाचन अधिकृत घनश्याम भण्डारीले बताए। उनका अनुसार काम नगरेका ११ मध्ये ८ केन्द्रका मेसिनले एक-डेढ घण्टापछि काम गरेका छन्। कास्की-१ मा एक नगरपालिकाको १५ वटा वडा र १५ गाविसमा गरी १ सय ४ मतदान केन्द्र छन्।रोल्पा दैनिकी संवाददाता दिलबहादुर छत्यालका अनुसार रोल्पा क्षेत्र नं २ मा सम्पन्न संबिधान सभाको उपनिर्बाचनमा ४२.७८ प्रतिशत मत खसेको छ। ८१ हजार ८ सय ९९ मतदातामध्ये ३५ हजार ३९ मत मात्र खसेको छ। मतगणना शनिवार मात्र हुने भएको छ।सबै क्षेत्रका मतपेटिका संकलन भएपछि मात्र मत गणना शूरु हुने जनाइएको छ । रोल्पामा बिभिन्न क्षेत्रबाट पैदल र सडक पुगेको ठाउँबाट मोटरमा मतपेटिका ल्याउन शुरु गरिएको छ। दुर्गम क्षेत्रबाट सदरुमुकाम मतपेटिका पुगाउन ढिलाहुने भएकोले शनिवार मात्र मतगणना शूरु हुने मुख्य निर्वाचन अधिकृत कृष्णकमल अधिकारीले बताए। रांकोटका १ सय ६ वर्षका रनसिंह पुनले मतदान गरेका छन्। विद्युतीय मतदान उपकरणको प्रयोग भएकोमा मतदाताहरुले मतदान गर्न सजिलो महशुस गरेको पाइएको छ। शान्तिपुर्ण र सौहार्दपुर्ण बतावरणमा चुनाव सम्पन्न भएको मुख्य निर्बाचन अधिकृत अधिकारीले बताए।गत संबिधान सभाका बेला जस्तो यस पटक मतदानमा उत्साहपुण सहभागी देखिएको थिएन। ´ गतबर्ष होटल पसल बन्द गरेर सबै मत आल्न गएका थिए भने अहिले धेरै जसो गएनन।´स्थानीय पत्रकार धिरेन्द्र डाँगीले भने- शान्ती हुने आशाले गत वर्ष जनतामा उत्साह थियो। अहिले त्यो देखिएन । मत कम खस्न एउटा कारण यो पनि हो।´ उनले भने नागरिकताको झण्झटले पनि मतदान कम हुनुमा प्रभाव परेको बुझिएको छ। रोल्पा क्षेत्र नं २ बाट स्रबिधान सभामा जितेका प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएपछि भएको उपनिर्बाचनमा ११ राजनीतिक दल र १ स्वतन्त्र गरेर १२ उम्मेदवार चुनावी मैदानमा रहेका छन।गत सालको संविधान सभाको निर्वाचनमा ८ दलका उम्मेदवार भएकोमा अहिले बढेको छ।नेकपा माओबादीबाट सन्तोष बुढामगर, नेपाली काग्रेसबाट गंगाराम डागी, नेकपा एमालेबाट हरिप्रसाद घर्ती गरी १२ उम्मेद्वार चुनावी मैदानमा छन्।गत चुनावमा प्रचयडले ३४ हजार २ सय २० मत प्राप्त गरेर जितेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शान्तकुमाल बलीले ६ हजार २ सय ९ मत प्राप्त गरेका थिए। काग्रेसका भीमकुमारी बुढाले ४ हजार ८ सय ८८ मत प्राप्त गरेकी थिइन्।
मोरङ
मोरङ ५
- ५० प्रतिशत मतदान- ६ गाविस र विराटनगर उपमहानगरपालिकाका ७ वडा- ७० मतदान केन्द्र- ६७ हजार ३ सय ९७ मतदाता- २५ उम्मेदवारनेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मोरङ क्षेत्र नम्बर ७ को आदर्श मावि केन्द्रमा आठ बजेर सात मिनेट जाँदा मतदान गरेका विराटनगर सहकर्मी अजित तिवारीले बताएका छन्। उनका भतिजा शेखर कोइराला त्यस क्षेत्रमा कांग्रेसबाट उम्मेदवार छन्।
कोइरालाले पहिलो भोट खसाएपछि त्यहाँ मतदान सुरु भएको थियो। कोइरालालगत्तै उक्त केन्द्रमा नै उम्मेदवार शेखर कोइरालाले पनि मतदान गरे। उपनिर्वाचनको क्रममा मोरडको क्षेत्र नम्बर-५ र ७ को एक सय ४५ मतदान केन्द्रमा मत खसाल्ने क्रम सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहान सिमसिमे पानी परेको र मौसममा चिसोपना आएकाले मतदान केन्द्रमा भोट खसाल्नेहरुको भीड बढेको छ।
मोरङ ७
- ५० प्रतिशत मतदान- ५ गाविस र विराटनगर उपमहानगरपालिकाका ८ वडा - ७५ मतदान केन्द्र- ७१ हजार ९ सय ९३ मतदाता- २३ उम्मेदवार
उपनिर्वाचनलाई दृष्टिगत गरी दुवै क्षेत्रको मतदान केन्द्रमा सुरक्षाकर्मीको बाक्लो तैनाथी छ। मतदान सुरु हुनुभन्दा अघि सबै मतदान केन्द्रमा तालिमप्राप्त कुकुरले सर्च गराइएको थियो। नगरमा अनुमतिबिना कुदेका ५० भन्दा बढी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।
मतदानपछि प्रमुख प्रतिपक्षी दलका सभापति कोइरालाले उपनिर्वाचनको परिणामले मुलुकमा नयाँ राजनीतिक दिशा दिने बताए। सञ्चारकर्मीसित छोटो कुराकानी गर्दै कोइरालाले भने- ´यो निर्वाचनको परिणामले मुलुकमा नयाँ राजनीतिक दिशा दिनेछ।’ उनले थपे- ´यो इलेक्सन सानो भए पनि यसले मुलुकलाई नयाँ दिशा दिनेछ।’मोरङ-७ बाट उम्मेदवारी दिएका चुरे भावर एकता समाजका उम्मेदवार डा. सुबोध पोखरेललाई कुटपिट गरी घाइते बनाइएको भन्दै आयोगले त्यसको तत्काल छानबिन गरी संलग्न दोषीलाई कारबाही गर्न गृहलाई निर्देशन दिएको छ।धनुषा
धनुषा ५
- ६० प्रतिशत मतदान- १५ गाविस- ४२ मतदान केन्द्र- ६२ हजार ९ सय मतदाता- ३३ स्वतन्त्रसहित ४६ उम्मेदवारराष्ट्रपति रामवरण यादव भने मतदानका लागि गृहनगर धनुषा आउने कार्यक्रम नभएको त्यहाँबाट सहकर्मी सुरेश यादवले जनाएका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले एक त राष्ट्राध्यक्ष भएका कारण र अर्को जाँदा-आउँदा यात्रामा हुने खर्चलाई ध्यानमा राखेरसमेत राष्ट्रपति यादव भोट हाल्न नजाने जानकारी दिए। ´राष्ट्रपति जाँदा हवाई मार्ग प्रयोग गर्नुपर्‍यो, त्यसले खर्च बढाउँछ´, सल्लाहकार दाहालले भने- राष्ट्राध्यक्ष पनि हुनुहुन्छ, त्यसैले यस पटकको उप निर्वाचनमा यादवले भोट हाल्नुहुने छैन।धनुषा-५ का नेकपा मालेका उम्मेदवार सन्तोष साहलाई ´तराई मधेस राष्ट्रिय मुक्ति सेना´ का कार्यकर्ताले बिहीबार अपहरण गरेका थिए। निर्वाचन आयोगले साहलाई तत्काल खोजी अपहरणकारीलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।७-८ घन्टामै परिणामबिहान ८ बजे सुरु भएको मतदानका लागि मतदाता उल्लेख्य संख्यामा लाइनमा छन्। साँझ ५ बजेसम्म मतदान हुनेछ। मतदान प्रक्रिया शान्तिपूर्णरुपमा सुरु भएको निर्वाचन आयोगका प्रवक्ता उद्धव बास्कोटाले दैनिकीलाई जानकारी दिए। सबै क्षेत्रमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएकाले मतदान सकिएको ७/८ घन्टामा निर्वाचन परिणाम आउन सक्ने आयोगले जनाएको छ। ´मतगणना सुरु भएको तीन घन्टामा परिमाण आउँछ तर सबै ठाउँबाट मत बाकस गणनास्थलसम्म ल्याइपुर्‍याउन समय लाग्ने भएकाले यति नै घन्टामा मत परिणाम आउला भनेर निश्चित गर्न सकिँदैंन´- आयोगका सदस्य नीलकण्ठ उप्रेतीले जनाए। मोरङको-५ र ७, धनुषा-५, कास्की-१, रोल्पा-२ र कन्चनपुर-४ गरी ६ क्षेत्रमा उपचुनाव हुन लागेको हो। यसपटक मतदाननिम्ति नागरिकता अनिवार्य छ।
आयोगले गृहसचिव, सुरक्षा निकाय प्रमुखलगायतलाई बोलाई सुरक्षास्थिति सुदृढ गराउन बिहीबार निर्देशन दिएको थियो। मतदातालाई नागरिकताको प्रमाणपत्र कब्जामा लिई वा अन्य कुनै किसिमबाट अवरोध पुर्‍याउन खोज्नेलाई नियन्त्रणमा लिन आयोगको निर्देशन छ। ६ क्षेत्रमा मतदान अधिकृतलगायत् २ हजार ४ सय ५० कर्मचारी खटिएका छन्।
गत वर्ष संविधानसभाको मूल चुनावमा दुई स्थानबाट जितेका व्यक्तिले एक ठाउँ छोडेपछि ५ क्षेत्र रिक्त भएका हुन्। धनुषा ५ मा रामवरण यादव राष्ट्रपति बनेपछि रिक्त भएको हो।६ क्षेत्रमा दल र स्वतन्त्र गरी १ सय ३९ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये १० मात्र महिला छन् । जम्मा ४ सय ९० मतदान केन्द्र निर्धारण गरेको आयोगले जनाएको छ। ती सबै केन्द्रमा ४ लाख ४४ हजार ३ सय ५३ मतदाता छन्।संविधानसभा मूल निर्वाचनमा कास्की-१ र रोल्पा २ माओवादी, धनुषा र कन्चनपुर कांग्रेस र मोरङका २ क्षेत्र मधेसी जनाधिकार फोरमले जितेका स्थान हुन्।

No comments: