Friday, April 10, 2009

प्रधानमन्त्रीसमेत ६ जनालाई लिखित जवाफ पेश गर्न आदेश

काठमाडौं, चैत २८ - सर्वोच्च अदालतले प्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसमेत माओवादीका छ नेतालाई अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। प्रधानमन्त्री दाहालसमेत अन्य नेताविरूद्ध दायर अवहेलनामा मुद्दामा शुक्रबार भएको सुनुवाइपछि न्यायाधीश राजेन्द्रप्रसाद कोइरालाको एकल इजलासले उक्त आदेश दिएको हो।´अदालतको अवहेलना गरिएको भन्ने विषयमा के कसो भएको हो ? सम्पूर्ण विवरण खुलाई बाटोको म्याद बाहेक सात दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्नु´ आदेशमा उल्लेख छ। प्रधानमन्त्री दाहाललाई माओवादी अध्यक्षको हैसियतले लिखित जवाफ पेश गर्न इजलासले आदेश दिएको छ।सञ्चारकर्मी मुरारीकुमार शर्माले प्रधानमन्त्री दाहाल, अर्थमन्त्री बाबुराम भट्टराई, माओवादी संसदीय दलको उपनेता नारायणकाजी श्रेष्ठ, माओवादीका सभासद्हरू एकराज भण्डारी, शालिकराम जमकट्टेल र चन्द्रबहादुर थापालाई अवहेलनामा कारवाहीको माग गर्दै बुधबार मुद्दा दिएका थिए।आठ बिग्रेडियर जनरललाई अवकाश दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि माओवादी नेताले अदालतविरूद्ध अभिव्यक्ति दिनुका साथै प्रदर्शनसमेत गरेका थिए। माओवादी प्रदर्शनले अदालतको अवहेलना भएको दावी गरिएको छ।मुद्दामा सर्वोच्च अदालतबाट संविधान र कानुन बमोजिम भएको आदेशलाई लिएर माओवादी नेताले नियोजित रूपमा अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएकाले हदैसम्मको कारवाही गर्न माग गरिएको छ। अवहेलना ठहरे दस हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी प्रावधान छ।

No comments: