काठमाडौँ, साउन ५- फरक धारका नेता मोहन बैद्यलाई वरिष्ठ उपाध्यक्ष र रामबहादुर थापालाई महासचिव बनाउने र उपाध्यक्षद्वयमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई प्रस्ताव गरिने स्रोतहरुले जनाएका छन्।
एकीकृत माओवादीले 'सामूहिक नेतृत्व'मा जान नेताहरुलाई जिम्मेवारी तोक्ने गृहकार्य थालेको हो।
असार २४ देखि कोटेश्वरमा जारी माओवादी केन्द्रीय समितिको बैठकमा नाम नै किटेर प्रस्ताव नल्याइए पनि उच्चस्तरमा भने पटकपटक छलफल भएको दुवै पक्षका नेताहरुको बताएका छन्। वरिष्ठ नेताहरुबीच छलफल नगरी बैठकमा प्रस्ताव ल्याउँदा अप्ठ्यारो हुने भएकाले 'माथिल्लो तह' मै समझदारी जुटाएर प्रस्ताव ल्याउने गृहकार्य भइरहेको स्रोतले बतायो।
'एक वरिष्ठसहित तीन उपाध्यक्ष र महासचिवमा प्रस्तावित ती नाउँ सर्वसम्मत् हुने देखिन्छ,' स्रोतले भन्यो, 'यसमा शक्ति सन्तुलन पनि मिलाइएको छ। त्यसकारण यसको बिकल्प देखिएको छैन।' वरिष्ठ नेता बैद्य फरक मतका नेता हुन् भने भट्टराईले गत मंसिरमा सम्पन्न खरिपाटी राष्ट्रिय कार्यकर्ता भेलापछि संस्थापन पक्षमा छन्। श्रेष्ठ भने गत पुस अन्तमा पाटीं एकीकरण गरेको नेकपा एकताकेन्द्र मसालका महासचिव हुन्। श्रेष्ठ संस्थापन पक्षमा लागे पनि 'भर्खरै एकतापछि आएकाले' सबैले स्वीकार्ने स्रोतको तर्क छ। महासचिवका लागि भने थापा दुवै पक्षलाई स्वीकार्य देखिन्छन्। खरिपाटी भेलादेखि तटस्थ रहेका थापा अहिले पनि तटस्थ छन्। त्यसैले थापालाई महासचिवका लागि दुवै पक्षको समर्थन रहने पक्कापक्की छ।
१६ सदस्यीय सचिवालयका यी चार नेता अध्यक्षपछिका क्रमशः वरिष्ठ नेता मानिन्छन्। नेकपा एकताकेन्द्र मसालसित एकता गर्नुअघि माओवादीले यी तीनैजना नेतासहित एकजनाको वरियताक्रम निर्धारण गरेको थियो। अध्यक्ष दाहालपछि क्रमशः मोहन बैद्य, बाबुराम भट्टराइ, रामबहादुर थापा र पोष्टबहादुर बोगटी थिए। तर, विभिन्न दलसँगको एकतापछि भने पार्टीमा बरियता निर्धारण हुन सकेको छैन। सामूहिक नेतृत्व नभएकै कारण माओवादीमा वरियताविवाद बेलाबेलामा चर्किरहन्छ। माओवादीले व्यवस्थापिका-संसद्मा भने वरियता निर्धारण गरेको छ। संसद्मा अध्यक्ष दाहालपछि क्रमशः बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र पोष्टबहादुर बोगटी छन्। दलको उपनेता श्रेष्ठ भए पनि संसद्मा उनको वरियतामा क्रम तेस्रो छ।
'संभवतः बैठकले पार्टी र संसदीय दलको पनि वरियता मिलाउने छ,' एक सचिवालय सदस्यले भने, 'पार्टीको पोर्टफोलियो अझै टुंगिएको छैन।'
बहुपदीयमा जाने दुवै पक्ष सहमत भए पनि सामूहिक नेतृत्वमा यसै बैठकपछि जाने वा महाधिबेसनपछि ? यसको भने टुगो लागिसकेको छैन। बैठकमा बोल्ने नेताहरुले यस विषयलाई उठाए पनि निर्णय हुन बाँकी छ। एकल नेतृत्वले पार्टी अस्तव्यस्त भयो, नोकरशाही हुन थाल्यो भनेर बैठकमा चर्को आवाज उठेकाले 'थामथुम पार्नलाई भए पनि' सामूहिक नेतृत्वको थालनी यसै बैठकबाट हुने सम्भावना बढेको दुवै पक्षका नेताहरुको भनाइ छ।
गृहकार्यमा सकेसम्म पाँच मात्र बनाउने र यदि त्यसो नभए मात्र सात वा नौ सम्म लाने छलफल भएको स्रोतको भनाइ छ। समिति पाँच बनाउने वा सात बनाउने वा नौ सदस्यीय बनाउने ? यस विषयमा पनि गृहकार्य सुरु भएको स्रोतले जनाएको छ। यसपालि पाँचजनाको बनाएर थालनी गर्ने कि भन्ने पनि छलफलमा उठाइएको छ। यस विषयलाई बैठकमा ल्याए छरपष्ट हुने भन्दै वरिष्ठ नेताहरुबीच गुपचुपमा छलफल चलिरहेको छ।
'पाँच सदस्यीय बनाउने कुरामा विवाद देखिन्न। तर थप्दैगए हानाथाप नै हुने देखिन्छ,' स्रोतको भनाइ छ। सात पुर्याएमा एक सचिव र एक कोषाध्यक्ष वा दुई सचिव वा एक सचिव र एक सहसचिव हुने छ। स्रोतका अनुसार कोषाध्यक्ष नबनाएर दुई सचिव बनाउने सम्भावना छ।
स्रोतका अनुसार चन्द्रप्रकाश गजुरेललाई बैद्य समूहले सचिवका लागि प्रस्ताव गर्ने छ। तर त्यसो गरिए संस्थापन पक्षले पोष्टबहादुर बोगटीलाई उभ्याउने सम्भावना पनि उत्तिकै रहेको स्रोतको भनाइ छ।
संस्थापन पक्षले बोगटी र वर्षमान पुनलाई अघि सारे बैद्य समूहले देव गुरुङ र नेत्रविक्रम चन्दलाई अघि सार्ने छ।
'प्रचण्डले गजुरेललाई सचिव मानेका छैनन्। त्यसको ठाउँमा उनीहरुले दीवाकर र अनन्तलाई उठाए हामी देव गुरुङ र विप्लवहरुलाई अघि सार्छौं,' बैद्य पक्षधर एक नेताले भने। सबैभन्दा कम उमेरका सचिवालय सदस्यद्वय पुन र चन्द दुवै रोल्पाली भए पनि फरक धारमा उभिएका छन्। खरिपाटी बैठकमा संस्थापन पक्षले चन्दलाई 'बैद्य पक्षको काँधबाट बन्दुक पड्काएको' आरोपसमेत लगाएको थियो।
एकतापछि आएका नेताहरुमध्ये संस्थापन पक्षले गिरिराजमणि पोखरेललाई अघि सार्ने देखिएको छ भने बैद्य पक्षले अमिक शेरचनलाई।
सातबाट नांै पुर्याए सचिव तीन र एक कोषाध्यक्ष वा तीन सचिव र एक सहसचिव बनाउने समेत छलफल चलेको जनाइएको छ। दोस्रो ठूलो कम्युनिष्ट पार्टी एमाले बुटवलमा सम्पन्न आठौ महाधिबेसनपछि सामूहिक नेतृत्वमा गइसकेको छ। एमालेका तीन उपाध्यक्ष र तीन सचिव छन्। कोषाध्यक्ष छैन।
बैठकपछि नै माओवादी बहुपदीयमा गए प्रवक्ता दीनानाथ शर्माको पद भने धरापमा पर्ने देखिएको छ। बहुपदीयमा गए प्रवक्ताको काम महासचिवले नै गर्नेछन्। 'छलफलमा प्रवक्ता हटाउने र त्यसको काम महासचिवले गर्ने कुरा चलेको छ,' स्रोतले बतायो।
Monday, July 20, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment