काठमाडौं, भदौ ८- चीनले स्वतन्त्र तिब्बत पक्षधर तिब्बतीले नेपालको सीमा जोडिएका जिल्लामा आएर लुक्ने र तिब्बत छिरेर सशस्त्र गतिविधि गर्ने योजना बनाइरहेको उल्लेख गर्दै त्यस्ता गतिविधि नियन्त्रणका लागि सचेत हुन र कदम चाल्न नेपाललाई आग्रह गरेको छ।
गृह प्रशासन स्रोतका अनुसार चीनले भारतको धर्मशाला र वरपरका क्षेत्रमा रहेका तिब्बतीहरूको संगठन 'तिब्बतीयन युथ कंग्रेस' नेपाल हुँदै तिब्बत आएर सशस्त्र गतिविधि गर्ने तयारी अवस्थामा रहेको गुप्तचर सूचना आफूले पाएको जानकारी नेपाललाई उपलब्ध गराउँदै त्यस्तो आग्रह गरेको हो।
चिनियाँ अधिकारीले नेपालको गृह प्रशासनलाई उपलब्ध गराएको सूचना अनुसार तिब्बतियन युथ कंग्रेसका तालिमप्राप्त लडाकु भिक्षुका रूपमा नेपाल प्रवेश गरी उत्तरी जिल्लाका तिब्बतसित जोडिएका क्षेत्रमा आएर आश्रय लिने योजना बनाएका छन्।
कंग्रेसका लडाकुले अमेरिका, युरोप र भारतमा सशस्त्र तालिम लिएको दाबीसमेत चिनियाँको छ। उनीहरू साना हतियारसहित तिब्बतनजिक नेपाली भूमिमा भिक्षुका रूपमा आएर बस्ने र लुकिछिपी तिब्बत गएर सशस्त्र गतिविधि गर्ने योजनामा रहेको दाबी चिनियाँ अधिकारीको छ।
नेपाल सरकारको इजाजतबिना नेपालमा अवतरण गरेको युरोकप्टरले चीनविरुद्ध उपयोग गर्न हतियार खसालेको हुन सक्ने चिन्तासमेत चिनियाँको छ। बिनाइजाजत त्यसरी अवतरण गर्ने युरोकप्टरले पुनः हतियार खसाल्न सक्नेतर्फ सचेत हुनसमेत चीनले नेपाललाई आग्रह गरेको छ। युरोकप्टर युरोपको हेलिकप्टर हो।
चीनले उत्तरी जिल्लामा रहेका दर्जनौं बौद्ध गुम्बामा स्वतन्त्र तिब्बत पक्षधर तिब्बतीले आश्रय लिंदै आएको दाबीसमेत नेपालसमक्ष गरेको छ।
भारतको धर्मशालामा बस्दै आएका तिब्बती धार्मिक नेता दलाई लामाले भने तिब्बतीयन युथ कांग्रेसलाई सशस्त्र गतिविधि नगर्न दबाब दिंदै आएका छन्।
चीनले नेपाली सीमाबाट स्वतन्त्र तिब्बत पक्षधर तिब्बतीबाट आफ्नो क्षेत्रमा हुन सक्ने गतिविधि रोक्न उत्तरी जिल्लाको सीमा क्षेत्रमा तत्काल सशस्त्र प्रहरी बल राख्न नेपाललाई दबाब दिएको छ।
चीन र नेपालका गृह प्रशासन र सुरक्षा अधिकारीहरूको अघिल्लो साता तिब्बतको ल्हासामा भएको द्विपक्षीय वार्तामा त्यस्तो दबाब दिएको हो।
स्रोतका अनुसार चिनियाँ अधिकारीले नेपाली सीमाबाट तिब्बतीको गतिविधि र ओहोरदोहोर तथा अवैध धन्दा रोक्न नेपाल सरकारलाई गम्भीर हुन आग्रह गरेका थिए।
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक किशोर लामो नेतृत्वको टोली र तिब्बती सुरक्षा अधिकारीबीच अघिल्लो साता ल्हासामा वार्ता भएको थियो। वार्तामा गृह मन्त्रालयका अधिकारीसमेत सहभागी थिए।
सरकारले चिनियाँ आग्रहमा तिब्बतसित सीमा जोडिएका कुन-कुन जिल्लामा सशस्त्र प्रहरी राख्नु आवश्यक छ भनी मुख्य दुई आधारमा गृहकार्य गरिरहेको छ।
तिब्बतीले खम्पा विद्रोह गर्दा कुन-कुन जिल्लामा विद्रोही लुकेर गतिविधि गरेका थिए, ती जिल्लामा राख्नुपर्ने गृहको तयारी छ। खम्पा विद्रोहका क्रममा चीनसँग सीमा जोडिएका ताप्लेजुङदेखि दार्चुलासम्मका अधिकांश तिब्बती विद्रोही बसेर चीन विरोधी गतिविधि गरेका थिए।
चिनियाँ सीमामा सशस्त्र प्रहरी बल राख्न गुम्बा बढी भएका उत्तरी जिल्लालाई समेत आधार बनाइनेछ। गुम्बामा स्वतन्त्र तिब्बत पक्षधर तिब्बती भएका जिल्लालाई आधार बनाई सशस्त्र प्रहरी बल राखिनेछ।
गृह प्रशासन स्रोतका अनुसार नेपालमा स्वतन्त्र तिब्बत पक्षधर गतिविधि बढेपछि चिनियाँ राजनीतिक तथा सुरक्षा अधिकारीहरूले नेपाल भ्रमणलाई तीव्रता दिन थालेका छन्।
चिनियाँ राजदूतले समेत प्रधानमन्त्री र गृहमन्त्रीलाई पटकपटक भेटी चिनियाँ सीमा जोडिएका जिल्लामा सशस्त्र प्रहरी राख्न र तिब्बतीको गतिविधि नियन्त्रण गर्न आग्रह गर्दै आएका छन्।
चीनले तिब्बती गतिविधिको सुराकी गर्न नेपालको राजधानी र प्रमुख सहरमा व्यापार, भाषा प्रशिक्षण केन्द्रमा लगानी र नेपालीलगायतका भाषा सिक्ने नाउँमा आफ्ना नागरिकलाई गुप्तचरका रूपमा परिचालनलाई तीव्रता दिएको जानकारी गृह स्रोतले दिएको छ।
सुजाता चीन जानेकाठमाडौं, भदौ ८ (नागरिक)- परराष्ट्रमन्त्री सुजाता कोइराला भदौको चौथो साता चीन जाने भएकी छन्। मन्त्रीनिकट स्रोतका अनुसार कोइरालालाई भदौ २४ देखि भ्रमण गर्न चिनियाँ पक्षले प्रस्ताव गरेको छ।'चीनले प्रस्ताव गरेको मिति भदौं २४ देखि हो, त्यसमा अहिलेसम्म हेरफेर भएको छैन,' स्रोतले भन्यो। मन्त्री भएलगत्तै चिनियाँ समकक्षी याङ जेइचीले उनलाई भ्रमणको निम्तो दिएका थिए।
कोइरालासँग आइतबारै चिनियाँ दूतावासका एक उच्च प्रतिनिधिले भेट गरी भ्रमणबारे छलफल गरेका थिए। अधिकारीहरूले भेटबारे टिप्पणी गर्न चाहेनन्।
Monday, August 24, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment