Friday, February 6, 2009

सशस्त्र समूहद्वारा प्रहरी चौकीमा आक्रमण

  • १ प्रहरीको मृत्यु, १ घाइते
  • माओवादीबाट छुट्टिएको समूहले आक्रमण गरेको प्रहरीको आशंका

माघ २५

प्युठानको स्याउलेबान प्रहरी चौकीमा शुक्रबार राती एक सशस्त्र समूहले आक्रमण गर्दा एक जना प्रहरीको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। आक्रमणकारीले प्रहरीको हातहतियार पनि लुटेर लगेका छन्। यो चौकी सदरमुकामदेखि १०/१२ घन्टाको पैदल दुरी छ। शुक्रबार राती १२ बजेतिर ५०/६०जनाको समूहमा आएको सशस्त्र समूहले रोल्पाको सिमानासँग जोडिएको उक्त प्रहरी चौकीमा आक्रमण गरेको हो। मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मदनबहादुर खड्काका अनुसार सशस्त्र समूहको आक्रमणबाट मृत्यु भएकामा प्युठान निवासी सुमन जीसी छन्। घाइतेको अवस्था सामान्य छ। चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जना प्रहरी कार्यरत थिए। बिहानसम्म सबै जना सम्पर्कमा आइसकेको प्रहरीले जानकारी दिएको छ। सशस्त्र समूहले ५ थान राइफल लुटेर लगेको प्रहरी नायव महानिरीक्षक खड्काले बताए।
दाङ, रोल्पा र प्युठान सदरमुकामबाट थप प्रहरी बल घटनास्थलतर्फ पठाइसकिएको जानकारी उनले दिए। गएको प्रहरी टोलीले आक्रमणकारीको खोजी गर्नेछ। आक्रमणको जिम्मेवारी कसैले पनि लिइसकेको छैन। प्रहरीले भने माओवादीबाट असन्तुष्ट भई छुट्टिएको समूहले आक्रमण गरेको हुन सक्ने आशंका गरेको छ। प्रहरी टोली पुगिनसकेकाले विस्तृत जानकारी आउन बाँकी छ।

घोषणा हैन काम


हरिबहादुर थापा

अवैध र अनुचित तवरमा आर्जित सम्पत्तिलाई वैधता दिने मौका यसपालि पनि सरकारले जुटाएको छ- 'स्वेच्छिक कर घोषणा'का नाममा । यो सरकारप्रदत्त 'कालोधन, सेेतो पार्ने' पवित्र अवसर हो । जसका लागि सरकारले माघ मसान्तसम्मको समय दिएको छ । धन आर्जन गरेको भए पनि कर तिरेमा स्रोत नखोजी वैधताको प्रमाणपत्र दिने, नतिरेमा कारबाही गर्ने भनी अर्थमन्त्रीले घोषणा गरेका थिए ।
यही रणनीतिबाट एक अर्ब कर उठाउने लक्ष्य सरकारको छ । यो कति सफल हुन्छ, त्यो भने हेर्न बाँकी छ । अर्थमन्त्री डा बाबुराम भट्टराईले आफ्नो निजी वेवसाइटमार्फत स्वयम्कर घोषणामा जनताको मत संकलन गर्ने प्रयास पनि गरेका छन् । उनको प्रश्न छ- 'सरकारले हालै ल्याएको स्वयम्कर घोषणा कार्यक्रम कस्तो लाग्यो ?' उनको अभियानलाई 'अत्यन्तै राम्रो' मान्ने मतदाता बढी छन् । 'कार्यान्वयन गर्न कठिन' भन्नेको संख्या अत्यन्त राम्रो मान्नेको भन्दा आधा छ ।
केही वर्ष बिराएर सरकारले 'आम्दानीको स्वयम् घोषणा कार्यक्रम' ल्याउने गर्छ । त्रास र आतंकको वातावरण सिर्जना गरी कर उठाउने नियत सरकारले राखेको हुन्छ । कर असुल प्रणाली सुधार गर्ने र कर तिर्नु नागरिकको दायित्व हो भन्ने वातावरण सिर्जना गर्ने अभियानमा भने सरकारी अधिकारीमा रुचि देखिँदैन ।
सरकारी अधिकारीहरूको भनाइमा, आकर्षक र महँगा घर-जग्गा, सवारी साधन, हुन्डी व्यवसायी, परामर्शदाता, कलेज सञ्चालक, सेयर लगानीकर्ताको सूची संकलन गरेको छ । उसले त्यस्ता सम्भावित धनाढय १० हजारको संख्यामा पहिचान गरेको छ ।
यही खाले दृश्य ०५८ को पुस-माघको चिसोमा पनि देखिएको थियो । उतिबेला महँगा घर-जग्गा, सवारी, २४ हजारभन्दा माथि टेलिफोन र मोबाइल बिल तिर्नेले कर तिरे/नतिरेको तथ्य संकलन गरेको थियो । त्यतिमात्र होइन, त्यतिबेला दस वर्ष अवधिमा आकर्षक सम्पत्ति जोड्ने धनाढयलाई आयकरको जालोमा पार्ने र नआए कारबाही गर्ने चेतावनी आएको थियो । त्यतिबेला मन्त्रीदेखि राजनीतिक नेता तथा उच्च सरकारी अधिकारीको सम्पत्तिमा निगरानी बढाएको हौवाबाजी पनि भयो । तर स्वयम्कर तिर्ने चिरञ्जीवी वाग्लेबाहेक अरू कारबाहीमा परेनन् । यसपालि अर्थमन्त्री र सरकारी अधिकारीबाट राजनीतिकर्मीमाथि पनि औंला उठेको छ । अर्थमन्त्री भट्टराईले भन्ने गरेका छन्- 'कालोधन कमाउने अग्रपंक्तिमा राजनीतिज्ञहरू छन् । उनीहरू पनि आयको स्वयम् घोषणा कार्यक्रम अन्तर्गत आउनुपर्छ ।'
अर्थ र राजस्वका अधिकारी जसरी यतिखेर सहजै कर नबुझाए घरमा छापा मार्नेसम्मका धम्की दिन यसपालि पनि पछि परेका छैनन् । यसलाई धेरैले धम्कीकै रूपमा मात्र लिएका छन् । विगतमा यस्तै कठोर शब्द सुनिन्थ्यो- 'जोसुकै होस्, छाड्नेवाला छैनौं ।' ०५८ को अभियानमा कर नतिर्नेले सजाय पाएको उदाहरण स्थापित गर्न असफल भए । यसपालि धनाढयमाथि कारबाहीको 'शब्द-त्रास' छेड्ने पात्र परिवर्तन भएका छन्- कारबाहीको रूप हेर्न बाँकी छ ।
उता लक्ष्यित धनाढयको सूची संकलन गरेपछि तिनलाई सधैंभरि किन कर तिर्न सरकार बाध्य पार्न सक्दैन ? किन यस्ता अवसर दिने गरिन्छ ? सामान्य जागिर खानेले निश्चित आयभन्दा माथि उक्लेपछि १५ र २६ प्रतिशत अगि्रम कर तिर्न बाध्य छन् भने अवैध तरिकाले आर्जित गर्नेलाई किन १० प्रतिशतमात्रै ? सहजै कर तिर्नेले बढी तिर्नुपर्ने, अनुचित तवरमा आर्जित गर्नेलाई कसरी छुट दिन मिल्छ ? यस्ता धेरै प्रश्न पनि सरकारी अधिकारीमाथि तेर्सिएको छ ।
समयमै कर नतिर्ने र अनुचित तवरमा सम्पत्ति आर्जन गर्नेलाई थोरै कर तिर्ने छुट राज्यले उपलब्ध हुनु विभेदकारी नीतिमात्रै होइन कि नतिर्न प्रोत्साहिन गर्नु पनि हो । अर्थसचिव रामेश्वर खनालले केही दिनअघि सार्वजनिक कार्यक्रममा मुलुकको अर्थतन्त्रमा ४० प्रतिशत कालोधन प्रभावी भएको तथ्य अघि सारेका थिए । भ्रष्टाचार र अवैध तवरमा आर्जित कालोधनको स्वेच्छिक कर तिर्दैमा सम्पत्ति चोखो पार्ने अवसर दुनियाँमा कहीं मिल्दैन । ०५९ मा स्वेच्छिक कर तिरी सम्पत्तिलाई वैध तुल्याउने राजनीतिकर्मी चिरञ्जीवी वाग्लेको रणनीति विवादमा परेको थियो । त्यतिखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीले 'भ्रष्टाचारबाट आर्जित सम्पत्तिको कर तिर्दैमा चोखो नहुने र कर तिरेको सम्पत्तिको स्रोत खोल्न नमिल्ने' सरकारी नीतिविरुद्ध खुलेर उत्रिएको थियो ।
व्यवसाय गरी कर नतिरेकालाई र अनुचित तवरमा सम्पत्ति आर्जन गर्नेलाई एकै सरकारी आँखाबाट हेरिनुहुन्न । समयमै कर नतिर्नेलाई जरिवानासहित कर तिराउने कानुन लागू हुनुपर्छ भने अवैध तवरमा आर्जित सम्पत्ति जफ्त हुने कानुन व्यवस्था कार्यान्वयन गर्नुपर्छ । जसका निम्ति भ्रष्टाचार नियन्त्रण ऐन र मुद्रा निर्मलीकरण कानुन छन् ।
अर्कातिर राज्यको काम निरन्तर करदाता पहिचान गरी दायरामा ल्याउने र तिनलाई कर तिर्नु सामान्य दायित्व हो भनी सिकाउनुपर्छ । आतंक र त्रास फैलाएर कर असुल गर्नेभन्दा समयकै कर तिराउने शैली विकास गर्ने रणनीति बनाउनुपर्छ । कर तिर्न घन्टौं लाइन बस्नुपर्ने, दलालको सहारा नलिई कर तिर्नै नसकिने स्थिति यथावत् छ, सुधार हुनुपर्छ । राजस्व संकलन गर्ने कार्यालय परिसर कर छल्न सिकाउनेहरूले भरिएको हुन्छ । त्यसो त केही दिनअघि प्रधानमन्त्रीकै सम्बोधनबाट सरकारी कार्यालयमा 'दलाल प्रथा' बन्द घोषणा भएको छ । प्रधानमन्त्रीको घोषणाको छाप अझै सरकारी कार्यालयमा परेको छैन ।
राजस्व चुहावट नियन्त्रण गर्ने प्रमुख दायित्व कर र राजस्व अनुसन्धान विभागको हो । मुलुकमा जुन किसिमले र चुहावट भइरहेको छ, त्यसको सामना गर्ने किसिमले यी निकाय अघि बढ्नसकेको छैन । अधिकार प्राप्त विभागको अनुसन्धान तथा निरीक्षण प्रभावकारी हुन नसकेकै कारण मुलुकमा चुहावट तथा तस्करी बढिरहेको छ । यिनले त्यस्तो विकृति नियन्त्रण गर्न नसकेकोमात्र होइन, ठूला खाले विकृतिमा त्यही कार्यरत अधिकारीहरूको समेत संलग्नता रहने गर्छ । जुन कर र भन्सारमा कार्यरत कर्मचारीको अकुत सम्पत्तिले पुष्टि गर्छ ।
सरकारबाट अनुचित काम नियन्त्रण गरी मुलुकको राजस्व बढाउन बेलाबखत राम्रा नीति, कानुन र नियन्त्रण गर्ने संस्था सिर्जना नभएका होइनन् । कारबाही गर्न हिम्मत चाहिन्छ, त्यो हिम्मत सरकारी संयन्त्र देखिन नसकेको मात्र हो । कर असुलीका निम्ति कसले के गर्ने र अधिकार प्रयोग नगरेको खण्डमा ती सरकारी अधिकारीमाथि कारबाही गर्ने पद्धति स्थापित नभएसम्म तिनबाट जाँगर प्रदर्शन हुने सम्भावना छैन- विगतका अनुभवहरू हेर्दा । सरकारी संयन्त्रमा देखिएको खास रोग भनेको कार्यान्वयन र कारबाहीको पक्ष फितलो हुनु हो । नीति तथा कानुनको कडा कार्यान्वयनमा क्ष्ामता प्रदर्शन गर्ने सरकारी इच्छाशक्तिमा मात्रै यस्ता विकृति न्युनीकरण हुन्छ । त्यसो हुँदा 'कारबाही' धम्कीमा मात्र सीमित नहोस्, यसपालि । भोलिका दिन सरकारी अधिकारीका धम्कीमा वजन नरहन सक्छ, यो तथ्य सरकारी अधिकारीहरूले बुझ्नुपर्छ । भाषण होइन, व्यवहारमा कर प्रणाली सुधार गर्ने, कर तिर्ने वातावरण सिर्जना गर्नुपर्छ । अनि कालो सम्पत्तिको कर तिर्दैमा चोख्याउने प्रवृत्तिको अन्त्य गरी तिनलाई सजायकै घेरामा पार्ने माहोल निर्माण हुनुपर्छ ।


e kantipur bata

भावी शासकीय ढाँचामा बहस


टिकाराम भट्टराई
संविधानसभाको कार्यकाल अब करिब १६ महिनामात्र बाँकी छ, तर दलहरूबीच राज्यको भावि शासकीय स्वरूपबारे कुनै बहस भएको छैन । निर्वाचनमा जारी घोषणापत्र हेर्दा मुख्य दलहरूमा भावि शासकीय ढाँचाबारे मतएक्य देखिँदैन । माओवादी कार्यकारी अधिकारसहितको राष्ट्रपतीय शासन र नाममात्रको प्रधानमन्त्री राख्ने व्यवस्थाको पक्षमा छ भने कांग्रेस आलंकारिक राष्ट्रपतिसहितको परम्परागत संसदीय व्यवस्थाको पक्षमा । अर्को मुख्य दल एमाले भने जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र आलंकारिक राष्ट्रपतिसहितको परिमार्जित संसदीय व्यवस्थाको पक्षमा उभिएको छ ।

मुख्य दलहरूले भावि शासकीय ढाँचाबारे अघि सारेका दृष्टिकोणहरू परस्पर बाझिने प्रकृतिका छन् । परस्पर बाझिने अवधारणालाई मिलाएरै सबैलाई मान्य संविधानको तर्जुमा चुनौतीपूर्ण कार्य हो ।

करिब एक वर्षको अभ्यास र संविधानमा देखिएका अनुहार हेर्दा यसले मात्रै नयाँ संविधान निर्माण गर्छ भन्ने भ्रम सायद जनतालाई छैन । छ सय एकभन्दा बाहिरको बृहत् संविधानसभाले संविधान लेखनमा मार्गनिर्देशन गर्नुपर्ने र त्यसको नेतृत्व राजनीतिक दलहरूले गर्नुपर्ने अवस्था छ । त्यसकारण संविधानका अन्तरवस्तुहरूबारे दलीय छलफल ढिलो भइसकेको छ ।

विगतका सहमतिको कार्यान्वयन र विभिन्न आयोग वा समितिहरूको चयन अनि आफ्ना नियमित दलीय गतिविधिहरू नै दलहरूका मुख्य एजेन्डा भएकोले भावि संविधानका अन्तरवस्तुहरूका विषयमा छलफल गर्ने फुर्सद तिनलाई भएजस्तो देखिँदैन । राजनीतिक नेताहरू संविधान तर्जुमा कार्यमा आफैं संलग्न हुन नसके पनि कम्तीमा मुख्य दलहरूले संविधानसभाभित्र र बाहिर दुवै तहमा अन्तरदलीय संयन्त्र बनाएर भावि संविधानका अन्तरवस्तुहरूबारे छलफल गर्न अब ढिला गर्नु हुँदैन । त्यस्तो संयन्त्रमा विषयविज्ञहरूलाई समावेश गर्नसकेको अवस्थामा राजनीतिक र प्राविधिक रूपमा नै अवधारणा बनाउन सहज हुन्छ । त्यस्तो अन्तरदलीय संयन्त्रले प्राथमिक चरणमा शासकीय स्वरूप र संघीय ढाँचाको स्वरूप निर्धारण गर्नु आवश्यक हुन्छ । यी दुई अन्तरवस्तुहरूमा दलहरूबीच समान धारणा बन्नेबित्तिकै संविधानसभाको करिब आधा काम समाप्त हुन्छ । तर यी दुई विषयमा दलहरूबीचमा समान धारणा बन्न सकेन भने अरू विषयमा सहमति भए पनि त्यसको कुनै औचित्य हुने छैन ।

नेपालमा संसदीय वा राष्ट्रपतीय कस्तो शासन प्रणाली रहने ? कार्यकारी अधिकार प्रधानमन्त्री वा राष्ट्रपति कसमा रहने ? निर्वाचन प्रक्रिया के हुने ? छलफलका मुख्य विषयहरू हुनसक्छन् ।

संघीय नेपाललाई एक सूत्रमा बाँध्ने र सबै जातजाति, भाषाभाषी र धार्मिक समुदायको साझा प्रतीकको रूपमा कस्तो र कुन संयन्त्र रहने मुख्य चुनौती हो । त्यसमा पनि युगौंयुगसम्म राजतन्त्रको आवरणमा बाँधिएको नेपालमा अब सबै नेपालीलाई समान रूपमा मान्य हुने एक निश्चित राजनीतिक नेतृत्व र संरचनाको अपरिहार्यता सबैले महसुस गर्नु स्वाभाविक हो । राजतन्त्रले आफ्नो सत्ता टिकाउने बहानाको रूपमा भए पनि कम्तीमा आफू सबै नेपालीको साझा नेतृत्व भएको भ्रम दिन सफल भएको थियो । तसर्थ अब लामो समयसम्म रहेको त्यो मनोविज्ञानलाई प्रतिस्थापन गर्न र भ्रममात्र नभएर यथार्थमै नेपाली राष्ट्रियताको संरक्षण गर्ने कुनै न कुनै संयन्त्र र प्रणालीको आवश्यकता छ । यस्तो संयन्त्र र नेतृत्व राष्ट्रपति हुनसक्छ । तर राष्ट्रपतिको निर्वाचन कसरी गरिन्छ, त्यसमा राष्ट्रपति सबै नेपालीको साझा नेता बन्न सक्छ कि सक्दैन भन्ने विषय निर्भर गर्छ ।

यदि राष्ट्रपतिको निर्वाचन केवल प्रान्तीय वा संघीय संसदका सदस्यहरूको निर्वाचकमण्डलबाट मात्र गरियो भने त्यस्तो राष्ट्रपतिले सबै नेपालीको मनोविज्ञानको प्रतिनिधित्व नगर्न सक्छ र जनताले त्यस्तो राष्ट्रपतिलाई अपनत्व महसुस नगर्न सक्छन् ।

उता राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन गर्ने हो भने जातीय आधारमा राष्ट्रपति सधैं कुनै खास वर्ग वा जातीय समूहबाट मात्र निर्वाचित हुने खतरा रहने र त्यसले समग्र नेपालीको भावनाको प्रतिनिधित्व गर्न नसक्नेमात्र नभएर जातीय सद्भाव पनि कायम नहुने सम्भावना बढेर हाम्रो राष्ट्रियता कमजोर हुनसक्छ । यी दुई परस्पर विरोधी मनोविज्ञानलाई कसरी सन्तुलन गर्ने चुनौतीपूर्ण छ ।

त्यसकारण राजनीतिक विवादबाट मुक्त हुने राष्ट्रपति नै नेपाल र नेपालीको साझा व्यक्तित्व हुनसक्छ । अर्थात् कार्यकारी अधिकारविहीन राष्ट्रपतिले नै राजनीतिक स्वार्थबाट माथि उठेर समग्र नेपालीको भावनाको प्रतिनिधित्व गर्न सक्छ ।
हाम्रो देशको भौगोलिक विशेषता, जातीय विविधता, भाषिक विविधता र सामाजिक बनोटका आधारमा विश्लेषण गर्दा कुनै जातविशेषको पनि बहुमत नभएकाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन दुई सदनात्मक संसदबाट गरिनु उपयुक्त हुन्छ । यसरी बन्ने दुई सदनात्मक संसदमा एउटा प्रत्यक्ष निर्वाचनको माध्यमबाट आउने तल्लो सदन, त्यसैगरी प्रत्येक प्रान्तबाट समान संख्या र स्थानीय सरकारका प्रतिनिधिहरूसमेत सम्मिलित हुनेगरी माथिल्लो सदनको व्यवस्था गरिनुपर्छ । जसले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा निर्वाचकमण्डलको काम गर्छ । यसरी गरिने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनले राजनीतिक दल र विधायिकालाई विवेकको अधिकार प्रदान गर्छ र जातीय वा क्षेत्रीय वा लिंगीय सन्तुलन मिलाउनेगरी राष्ट्रप्रमुख र उपप्रमुखको चयन गर्नलाई सहजता प्रदान गर्छ । यसो गर्दा राष्ट्रपति जुन लिंगबाट मनोनीत हुन्छ, उपराष्ट्रपति अर्को लिंगबाट मनोनीत हुने संवैधानिक व्यवस्था राखिनुपर्छ । तर एकै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति र उपराष्ट्रपति हुन नसक्ने व्यवस्था गरिनुपर्छ ।
राष्ट्रपति राष्ट्राध्यक्ष्य हुने तर उनमा कार्यकारी अधिकार नरहने, उनी नेपाली सेनाको परमाधिपति हुने, प्रधानमन्त्री लगायत सबै संवैधानिक अंगका पदाधिकारीहरू र राजदूतको नियुक्ति सम्बन्धित निकायको सिफारिसमा राष्ट्रपतिले गर्ने, उनी संविधानको संरक्षक र पालनकर्ता हुने, संसदबाट बनेका कानुनहरू प्रमाणित गर्ने अधिकार उनमा रहने, मन्त्रिपरिषदका हरेक निर्णयको जानकारी उनलाई गराउनुपर्ने, सबै संवैधानिक अंगका वाषिर्क प्रतिवेदनहरू ग्रहण गर्ने, राष्ट्रिय अखण्डताको विषय, साम्प्रदायिक सद्भाव कायम गर्ने विषय, संविधानको पालना गर्ने-गराउने विषयजस्ता निश्चित विषयमा उनले सरकारलाई सचेत गराउन सक्ने, मन्त्रिपरिषदको सिफारिसमा (प्रधानमन्त्रीको होइन) संविधानमा व्यवस्था भएबमोजिम आपत्कालीन अवस्थाको घोषणा गर्नसक्ने, अन्तरप्रान्तीय विवादबारे सम्बन्धित प्रान्तका सरकारले उनलाई जानकारी गराउनुपर्ने, प्रान्तको प्रमुखको नियुक्ति सम्बन्धित प्रान्तको सरकार प्रमुखको सिफारिसमा उनले गर्ने जस्ता विषयहरू राष्ट्रपतिको काम, कर्तव्य र अधिकारमा राख्नु उपयुक्त हुन्छ ।

उपराष्ट्रपतिलाई राष्ट्राध्यक्षको अनुपस्थितिमा उनको काम गर्ने विषयका अतिरिक्त अन्य समयमा राष्ट्रपतिको काममा सहयोग गर्ने र राष्ट्रपतिकोमा पेस हुने महत्त्वपूर्ण विषयहरूको जानकारी उपराष्ट्रपतिमा पनि गराउनुपर्ने व्यवस्था संविधानमा राखिनुपर्छ । यसका अतिरिक्त उपराष्ट्रपतिलाई अन्तरप्रान्तीय विवादहरूको सम्बन्धमा राष्ट्रपतिलाई आवश्यक सहयोग र सुझाव दिने व्यवस्था पनि राख्न सकिन्छ । राष्ट्रपति र उपराष्ट्रपतिलाई दुवै सदनको संयुक्त बैठकको दुई तिहाइ बहुमतले संविधानले निर्धारण गरेका महाअभियोगका पूर्वाधारहरू पूरा भएको अवस्थामा पदबाट हटाउन सकिने व्यवस्था राखिनुपर्छ । यी अधिकार र विशेषतासहितको राष्ट्रपतिले निश्चय पनि राष्ट्रियताको संरक्षण र नेपाली जनताको एकताको प्रतीक भएर काम गर्न सक्छ । तर कार्यकारी अधिकारप्राप्त राष्ट्रपति दलीय स्वार्थमा चल्नुपर्ने हुनाले त्यस्तो राष्ट्रपति विवादमा आउनसक्ने प्रशस्त सम्भावना भएकोले ऊ नेपाली जनताको एकताको प्रतीक हुन सक्दैन ।
(लेखक, संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्ष हुन् ।)

ekantipur bata savar

के हो माओवादी प्रजातन्त्रको नयाँ मोडल?

हामी सोधेर नथाके पछि भनौंला भन्ने उत्तर दिंदादिंदा उनीहरू थाक्नेछ्न्, नत्र सबैलाई अल्मल्याउने छन्। माओवादी नेता सीपी गजुरेलले आफ्नो पार्टीको धारणा स्पष्ट पार्दै केही दिनअघि काठमाडौंमा आयोजित अन्तर्क्रियामा भनेका थिए, ´हाम्रो पार्टी प्रजातन्त्रको नयाँ मोडलको पक्षमा छ।´महेन्द्रको माटो सुहाउँदो प्रजातन्त्र र पूर्वराजा ज्ञानेन्द्रको सार्थक प्रथातन्त्रको परिभाषाभित्र प्रजातन्त्रको भ्रष्टीकरण देखिसकेका मानवअधिकारकर्मी कपिल श्रेष्ठले संदिग्ध हुँदै प्रश्न गरिहाले, ´कस्तेा नयाँ मोडल? यसको रुप कस्तो हुन्छ? नयाँ मोडलको परम तत्व चाहिँ के हो?´ कमरेडले वातानुकूलित कोठामा उपस्थित भलाद्मीलाई थुम्थुमाउँदै भने, ´केही समय पर्खनुहोस्, हामी बताउँदै जानेछौँ।´ रानीतिशास्त्री सारट्रेको एउटा भनाइ यहाँ सान्दर्भिक होला, ´प्रजातन्त्र असाध्यै धेरैपटक प्रयोग भइसकेको यस्तो टोपीजस्तो हो, जसले आफ्नो निश्चित आकार गुमाइसक्यो।´ राजनीतिक विश्लेषक अब्जरभरको भनाइ अझ बढी सान्दर्भिक होला, ´प्रजातन्त्र सबैको प्यारी रखैल हो। यसमा धेरैलाई एकैपटक साथ दिनसक्ने जादुमयी क्षमता छ। एकैपटक धेरैलाई साथ दिएको पीडा हुँदाहुँदै पनि उसको साथ पाएकोमा हामी गर्व गर्छौं।´
माओवादीलाई संवाद गर्ने मञ्चमा तानेर ल्याउनुपर्छ र स्पष्टिकरण माग्नुपर्छ, के हो जनसंविधान? के हो जनगणतन्त्र? के हो प्रजातन्त्रको नयाँ मोडल? के हो संसदीय व्यवस्थाको विकल्प? काँग्रेसले सोध्नुपर्छ, के भिन्नता छ लोकतान्त्रिक गणतन्त्र र जनगणतन्त्रमा? श्रेष्ठलाई सान्त्वना दिंदै गर्दा कमरेड गजुरेलको अनुहारमा फैलिएको मुस्कानले प्रष्ट भन्दै थियो, ´कति गर्व छ उनलाई, यो प्रजातन्त्र भन्ने शब्दलाई आफ्नो प्यारी रखैल बनाउन पाएकामा!´ आजसम्म गरिएको प्रजातन्त्रको परिभाषासँग कमरेड गजुरेलको सहमति थिएन। यसमा कसको आपत्ति? उनको मत, उनको विचार, उनको नैसर्गिक अधिकार। तर यहाँ कमरेड गजुरेल वा माओवादीका विचारको प्रभाव उनी र उनको दायराभित्र सीमित रहँदैन। त्यसले त मेरो, तपाईको, हाम्रो निजी दायरामा पनि अतिक्रमण गर्छ। त्यसो भए यस्तो नयाँ मोडलको परमतत्वको जानकारी पाउने मेरो, कपिल श्रेष्ठको वा हामी प्रत्येकको अधिकार पक्कै हुन्छ होला? केही समयअघि एउटा यस्तै कार्यक्रममा माओवादीका अर्का नेता कमरेड अन्नतले संसदीय व्यवस्था पूर्णतः असफल भएको जिकिर गर्नुभयो। संसदीय व्यवस्थाविरुद्ध उहाँको एकांगी प्रहारप्रति प्रतिक्रिया जनाउँदै मैले भने, ´यो असफल व्यवस्थालाई प्रतिस्थापन गरेर तपाईहरूले ल्याउने व्यवस्थाचाहिँ कस्तो हो?´ उत्तर थियो, ´निश्चित रूपमा तपाईको प्रश्न बढो सान्दर्भिक छ। हामी यस विषयमा पार्टीभित्र गहन छलफल चलाइरहेका छौं। तपाईहरूलाई पछि भनौंला।´ हामीले बुझेको मार्क्सवाद एउटा अत्यन्त उपयोगी एवं गतिशील विचारधारा हो, जसको महत्व र प्रासंगिकता असंदिग्ध छ। यो पनि बुझेका छौं, मार्क्सवादीहरूको राजनीतिक व्यवहार लोकसम्मत्ति र मानवीय संवेदनाभन्दा बढी पूर्वनिर्धारित निश्चितताका आधारमा चल्छ। लेनिनले भनेका थिए, ´म मार्क्स, एंगेल्स र प्लेखेनोभको काम र विचारसँग परिचित त भएँ तर चेर्नस्मस्कीमात्र त्यस्ता व्यक्ति हुन्, जसको मउपर छाप परेको छ।´विख्यात् उपन्यासकार चेर्नस्मस्कीको उपन्यासको छाप आफूमा परेको लेनिनले स्वीकारेका थिए। त्यस उपन्यासको सार थियो, स्वाधीन विचारको समुदायका ´नयाँ मानिस´ हरूको प्रयत्नमा समाजको पुरानो आधारको ध्वसं गरेपश्चात अधिनायकवादी शासनमार्फत् सामाजिक युरोपियाको सिर्जना। लेनिनवादी हुनुको अर्थ के हो, यो कथनबाट सहजै बुझ्न सकिन्छ। लेनिन बनिबनाउ राज्य संयत्र ध्वस्त पार्नुपर्ने विषयमा कुनै सम्झौता गर्दैनन्। उनी आम रूपमा परिवर्तनका लागि सशस्त्र क्रान्तिको सिद्धान्त, प्रकारान्तरले हिंसाको प्रयोग नगर्नेलाई मार्क्सवादी मान्न तयार छैनन्। लेनिनवादी दललाई बुझ्न लेनिनको यति नै प्रशिक्षण काफी छ। पुँजीपति वर्गको सैनिक–नोकरशाही राज्य संयन्त्रलाई बलपूर्वक ध्वस्त नपारी सर्वहारा र सर्वहाराका सहयोगीका लागि संसदीय बहुमत या असम्भव हुन्छ या भरपर्दो हुने छैन। क्रान्तिकारी शक्ति कहिल्यै संसदीय बहुमतको धोकामा अल्मलिनुहुन्न। माओको यो प्रशिक्षण, माओवादीलाई बुझ्न काफी हुन्छ। नेकपा (माओवादी) को दस्तावेजले भन्छ, ´प्रचण्डपथ मार्क्सवाद–लेनिनवाद र माओवादको एक अभिन्न अंग हो।´ प्रचण्डपथ परित्याग गरिसकेको उदघोष मान्ने हो भने पनि मार्क्सवाद–लेनिनवाद र माओवादलाई पथप्रर्दशक सिद्धान्तका रूपमा अंगिकार गरेको एउटा दललाई मार्क्सवादइतर दर्शनले प्रेरित राजनीतिक दल र तिनका मूल्य–मान्यता स्वीकार गर्ने अनुमतिप्राप्त हुँदैन। यो सन्दर्भमा माओवादीको टिप्पणी हुन्छ, ´हामीले मार्क्सवाद–लेनिनवाद र माओवादको वस्तुनिष्ठ समीक्षा गर्दै यसमा आफ्नो मौलिक चिन्तन थपेर नविन र समृद्ध बनाइएको छ। बहुलवाद र प्रतिस्पर्धात्मक प्रजातन्त्र अब हाम्रा पनि मान्यता हुन प्रतिक्रियावादी राज्यसत्ता ध्वसं गरी जनताको नयाँ जनवादी राज्यसत्ता स्थापनाको प्रक्रियामा लाग्न हामी प्रतिबद्ध छौं।´ यही भनेर जनयुद्ध प्रारम्भ गर्ने माओवादीसँगको सहवासलाई माओवादीको यही स्वीकरोक्तिले नै सम्भव बनाएको थियो। १२ बुंदे समझदारीदेखि यहाँसम्म आइपुग्दा भएका अनेकन सम्झौता र सहमति, तात्कालिन घटनाको सन्दर्भमा भएका समझदारीको सूचीजस्तो लागे पनि बहुलवाद र प्रतिस्पर्धात्मक लोकतन्त्रकै आधारस्तम्भमा त्यस्ता सम्झौता ठडिएका छन्। माओवादीलाई प्रिय लागोस् वा अप्रिय, उनीहरू यिनै सम्झौताका बन्दी हुन्। यी सम्झौताका बन्धक भइसकेकालाई न त आफ्नो शस्त्रको परिभाषा लाद्ने छुट छ, न कुनै अमूर्त मोडलको राग अलाप्ने स्वीकृति नै। संसदवादी भनेर परिचित राजनीतिक दलका नेता कुनै समय पूर्वराजा ज्ञानेन्द्रले स्वघोषित अभिनन्दन श्रृंखलामा दिने प्रवचनमा कतिपटक ´प्रजातन्त्र´ भन्ने शब्द उच्चारण गरे भनी केलाउँथे। अहिले माओवादी अध्यक्षको व्याख्यामा अर्धविराम र पूर्णविराम केलाइरहेका छन्। निर्वाचनमा जनताले अस्वीकृत गरेका नेतालाई माओवादीले पुरस्कृत गरिदिंदा माओवादी हितैषी भएकोमा हर्षित हुन्छन्। आफ्ना कार्यकर्ताको खुट्टा बञ्चरोले ठुन्क्याउँदा त्यही माओवादीलाई राक्षस उपमा दिन्छन्। आफ्ना नेतालाई सुविधाको रंगिन उपहार दिंदा माओवादीलाई समझदार देख्छन्। अनि, त्यसैको बदलामा अध्यादेशको गह्रुँगो भारी बोकाइदिंदा छट्पटी गर्न थाल्छन्। यो कित्ताको समस्या यही हो। माओवादीलाई खण्ड–खण्डमा बुझेर र विश्लेषण गरेर सही र सम्पूर्ण चित्र देख्न सकिन्न। अहिलेको आवश्यकता भनेको माओवादीसँग केही प्रश्नको उत्तर खोज्नु हो। संसदीय व्यवस्था असफल भयो, अब यसलाई मानिन्न भन्ने माओवादीलाई यस्तो किन भनिस् भनेर सराप्नेभन्दा, त्यसो भए कस्तो व्यवस्था खोजेको भनेर स्पष्टिकरण माग्नुपर्छ। प्रजातन्त्रको पुरानो परिभाषा अस्वीकार गर्छौं भन्दा नयाँ परिभाषाको भाव र सारको माग गर्नुपर्छ। माओवादीका दश नेताले दिने दश भिन्न अभिव्यक्तिमा के समानता र के भिन्नता छ भनेर खोज्दै हिंड्नुको कुनै तुक छैन। माओवादीलाई संवाद गर्ने मञ्चमा तानेर ल्याउनुपर्छ र स्पष्टिकरण माग्नुपर्छ, के हो जनसंविधान? के हो जनगणतन्त्र? के हो प्रजातन्त्रको नयाँ मोडल? के हो संसदीय व्यवस्थाको विकल्प? काँग्रेसले सोध्नुपर्छ, के भिन्नता छ लोकतान्त्रिक गणतन्त्र र जनगणतन्त्रमा? अनि एमालेले सोध्नुपर्छ के भिन्नता छ एक्काइसौं शताब्दीको जनवाद र जनताको बहुदलीय जनवादमा? हामी सोधेर नथाक्ने हो भने पछि भनौंला भन्ने उत्तर दिंदादिंदा उनीहरू नै थाक्नेछन्। नत्र सबैलाई अल्मल्याउने चक्करमा हामीलाई पनि अल्मल्याउने छन्। आफू पनि अल्मलिरहने छन्। संविधानसभा पनि यही चक्रव्यूहमा अल्मलिरहनेछ। यो अलमलबाट बाहिर निस्कनसकेमात्र संविधान लेखनले एउटा गति लेला, अनि शान्ति प्रक्रिया टुङ्गोमा पुग्न सक्ला।

गगन थापा
online bata savar gariyako ho

अयोग्य लडाकुलाई ठोस योजनाबिना निकाल्दा प्रत्युत्पादक हुने चेतावनी

अयोग्य लडाकुलाई रोजगारी र शिक्षाको ग्यारेन्टी गरेरमात्र निकाल्नुपर्छ : जनमुक्ति सेना

काठमाडौं, माघ २५ संयुक्त राष्ट्रसंघले अयोग्य ठहर्‍याएका आफ्ना लडाकुलाई रोजगारी र शिक्षाको ग्यारेन्टी गरेरमात्र शिविरबाहिर निकाल्न जनमु्क्ति सेनाले आग्रह गरेको छ। सेना समायोजन विशेष समितिको बिहीबार बसेको बैठकले संयुक्त राष्ट्रसंघद्वारा अयोग्य ठहर्‍याइएका जनमुक्ति सेनालाई अस्थायी शिविरबाट अविलम्ब बाहिर निकाल्ने निर्णय गरेको पर्सिपल्ट जनमुक्ति सेनाका कमान्डरले त्यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्। उनीहरुले ठोस योजनाबिना उनीहरुलाई शिविरबाहिर निकाल्दा प्रत्युत्पादकसमेत हुन सक्ने चेतावनीसमेत दिएका छन्। राष्ट्रसंघले अयोग्य ठहर्‍याएका ४ हजार ८ जना लडाकु जनमुक्ति सेना नेपालका विभिन्न भागमा अवस्थित जनमुक्ति सेनाका सात मु्ख्य र २१ सहायक शिविरमा बस्दै आएका छन्। बाहिर निकालिएका जनमुक्ति सेनाको सरकारलाई जिम्मा लगाउने र सरकारले नै उनीहरुका पुनःस्थापनाको बाटो खोज्ने बताएको छ। जनमुक्ति सेनाका डेपुटी चन्द्रप्रकाश कमान्डर खनालका अनुसार १८ वर्षमुनि र शान्ति स्थापनापछि मात्र भर्ना गराइएको भनी संघले अयोग्य ठहर्‍याएको थियो। संयुक्त राष्ट्रसंघको पछिल्लो प्रमाणीकरणअनुसार शिविरमा जनमुक्ति सेनाको संख्या १९ हजार ६ सय ४ रहेको छ । ´उनीहरु अयोग्य छापामार लाई शिक्षा र रोजगारीको ग्यारेन्टी गर्ने ठोस योजनासहित बाहिर लानुपर्छ। ललिपपे योजनाले हुँदैन्´ जनमुक्ति सेनाका डेपुटी कमान्डर चन्द्रप्रकाश खनालले भने। दुई/चार दिन सीप सिकाउने तालिम गराउनेजस्ता टालटुले योजनाले नहुने बताउँदै खनालले सरकारबाट ठोस कार्यक्रम आउनुपर्ने बताए। सरकारले अयोग्य ठहर्‍याइएका जनमुक्ति सेनाका लागि कस्तो कार्यक्रम ल्याउँछ, त्यसपछिमात्र आफूहरुले आफ्ना धारणा अघि सार्ने खनालले बताए।दलीय सहमतिमा हुने कुनै पनि निर्णय जनमुक्ति सेनालाई स्वीकार्य हुने खनालको कथन थियो । आफूहरुले अयोग्य ठहर् याइएका सेनालाई आफूसँगै राख्न खोजेको नभई तिनको व्यवस्थापन व्यवस्थित हुनुपर्ने जनमुक्ति सेनाको आशय रहेको खनालले स्पष्ट पारे। उनले यसलाई सामान्य ढंगले नलिनसमेत आग्रह गरे। अयोग्य ठहरिएका सेनालाई समाजमा पुनःस्थापना गर्ने भनिएको भन्दै उनले यस भनाइको ठाडै विरोध गरे। समाजबाट अलग भएर कुनै ग्रहमा उनीहरु नबसेको भन्दै खनालले समाजमा पुनःस्थापना गर्ने भनेर ´गलत अर्थ लगाइएको´ समेत गुनासो गरे। ´समाजमा पुनस्र्थापित गर्ने भनिन्छ। के हामी समाजभन्दा बाहिर छौं र पुनस्र्थापित गर्ने यस्ता कुराको हामीले ठाडै विरोध गर्दै आएका छौं´ खनालको भनाइ थियो। पाँचौं डिभिजनका कमान्डर सुकबहादुर रोका मगरले यसअघि पनि अयोग्य ठहर् याइएकालाई भनेर विभिन्न कार्यक्रम लिएर केही एनजीओ र आईएनजीओ शिविरमा आएको बताए। व्यावसायिक तालिम गोबर ग्याँसजस्ता कार्यक्रम लिएर समाजमा पुनस्र्थापित र आत्मनिर्भर हुने ती एनजीओहरुले बताएका थिए।
तर जनमुक्ति सेनाका भविष्य ग्यारेन्टी गर्ने कार्यक्रमसहित आउन आग्रह गरेपछि उनीहरु फर्केरै नआएको मगरले बताए। ´अहिलेसम्म आएका छैनन्। केटाकेटीलाई जस्तो कार्यक्रम लिएर आएपछि हामीले अस्वीकार गर्‍यौं´ मगरको भनाइ थियो । दोस्रो डिभिजन कमान्डर धनबहादुर मास्की मगरले लोकतन्त्र ल्याउन लडेका सेनाको उचित व्यवस्थापनको योजनासहित बाहिर ल्याउनुपर्ने बताए। दुई/चार महिनाको तलब दिएर निकाल्ने हल्का काम सरकारले गर्न नहुने धारणा मगरको आग्रह थियो । ´हामी उनीहरुको भविष्यको ग्यारेन्टी हुने कुनै कार्यक्रमबिना बाहिर लाने कुरा मान्दैनौं´ मगरको कथन थियो। सिन्धुलीमा रहेको दोस्रो डिभिजनमा यस्ता सेनाको संख्या ३ सय ७० रहेको उनले बताए। शक्तिखोरस्थित तेस्रो डिभिजनका कार्यवाहक कमान्डर पदम लामाले आफ्नो डिभिजनमा ४ सयको संख्यामा यस्ता सेना रहेको बताए।
नवरापरासीस्थित चौथो डिभिजनमा अयोग्य सेनाको संख्या ५ सय जति रहेको कमान्डर यमबहादुर अधिकारीले बताए। कैलालीमा रहेको सातौं डिभिजनमा झन्डै ७ सयको हाराहारीमा अयोग्य सेना रहेको कमान्डर महेन्द्रबहादुर शाहीले जानकारी गराए। सुर्खेतमा रहेको छैटौं डिभिजनमा झन्डै ४ सयको हाराहारीमा रहेको कमाण्डर तेजबहादुर ओलीले बताए। ओलीले संयु्क्त राष्ट्रसंघले अयोग्यलाई खाने/बस्ने व्यवस्था पार्टी र अन्य सेनाले पाउने मासिक तीन हजारबाट नै जेनतेन चलाएको दाबी गरे। रोल्पाको दहबनमा रहेको पाँचौं डिभिजन कमान्डर शुकबहादुर रोकाले पनि आफूहरुले पाउने रकमबाट दामासाही गरेर अयोग्य छापामारलाई खानपिनको व्यवस्था गरेको दाबी गरे। ´हामीले जति पाउँछौं, त्यसैलाई दामासाही गरेर चलाइरहेका छौं´ रोकाको भनाइ छ। पाँचौं डिभिजनमा ४ सय ५० जति त्यस्ता सेनाको संख्या रहेको उनले बताए।-

-

Thursday, February 5, 2009

तात्कालीन 'संयुक्त जनमोर्चा नेपाल’ का चालीस सूत्रीय मागहरू

(संजमोको केन्द्रीय प्रतिनिधिमण्डलले तात्कालीन संयुक्त सरकारका प्रधानमन्त्री शेरबहादुर देउबालाई भेटेर प्रस्तुत गरिएका मागहरू)
श्री सम्माननीय प्रधानमन्त्री ज्यू, २०५२ माघ २१ गते
प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार, काठमाडौं
विषय- ज्ञापनपत्र
महोदय,
२०४६ सालमा जनआन्दोलनको परिणामस्वरूप निरंकुश राजतन्त्रात्मक निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भएर राजतन्त्रात्मक संसदीय बहुदलीय व्यवस्थाको स्थापना भएको ६ वर्ष पूरा हुँदैछ । यस बीचमा त्रि-पक्षीय अन्तरिम सरकार, नेपाली कांग्रेसको एकमना सरकारले राज्य-सत्ताको सञ्चालन गरिसकेका छन् । परन्तु देश र जनताको स्थिति उँभो लाग्नु सट्टा दिनहु उँधो लाग्दै गएको कुराको पुष्टि नेपाल संसारको दोस्रो सबभन्दा गरिब देशमा झरेको, निरपेक्ष गरिबीको रेखामुनि रहेका जनसंख्याको अनुपात ७१ प्रतिशत पुगेको, पूर्ण बेरोजगारहरूको संख्या १० प्रतिशतभन्दा बढी र अर्ध तथा छद्म बेरोजगारहरूको संख्या ६० प्रतिशतभन्दा बढी पुगेको, विदेशी ऋण र व्यापार घाटा प्रतिवर्ष चुलिँदै गएर देश टाट पल्टने स्थितिमा पुगेको, देशभित्र विदेशीहरू र खासगरी भारतीय विस्तारवादीहरूको आर्थिक र सांस्कृतिक अतिक्रमण दिनहुँ बढ्दै गएको, धनी र गरीबि तथा सहर र गाउँ बीचको फाटो झन् झन् फराकिलो हुँदै गएको आदिबाट हुन्छ । अर्कोतिर, यस बीचमा कुनै न कुनै रूपले सरकारमा पुगेका संसदीय पार्टीहरू देश र जनताको हितप्रति समर्पित रहनुको सट्टा विदेशी साम्राज्यवादी तथा विस्तारवादी मालिकहरूको आशीर्वाद प्राप्त गरेर कुर्सीमा टिकिरहने प्रयासमा नै निर्लिप्त रहेको कुरा उनीहरू सबैले साम्राज्यवादीहरूले आप्नो स्वार्थ सिद्ध गर्न तयार गरेको कथित निजीकरण र उदारीकरणको आर्थिक नीति आँखा चिम्लेर स्वीकार गरेको र हालै आएर भारतीय विस्तारवादलाई नेपालको जलसम्पदाको एकाधिकार सुम्पन्न कथित 'राष्ट्रिय सहमति’ कायम गरेकोबाट पुष्टि हुन्छ । यसै क्रममा संयुक्त जनमोर्चा नेपालले २०४८ चैत्र २४ गतेदेखि कहिले एक्लै र कहिले अन्य पक्षहरूसँग संयुक्त भएर राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित तात्कालीन मागहरू पूरा गराउन विभिन्न प्रकारका संघर्षहरू गर्दै आएको छ । तर विभिन्न समयमा बनेका सरकारले ती मागहरू पूरा गर्नुको सट्टा उल्टै आन्दोलनकारीहरूमाथि भीषण दमन गर्ने र सयौं जनाको ज्यान लिने काम गर्दै आए, जसको सबभन्दा ना·ो रूप केही महिना पहिले रोल्पामा भएको सशस्त्र प्रहरी अपरेशनमा देखापर्‍यो । यसै सन्दर्भमा कतिपय हामीले पहिलेदेखि उठाउँदै आएका र कतिपय तात्कालीन सन्दर्भमा अत्यावश्यक हुन गएका राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित मागहरू वर्तमान गठबन्धन सरकारसमक्ष पुनः एकपटक निम्नबमोजिम प्रस्तुत गरेका छौं ।
हाम्रा मागहरू
-क) राष्ट्रियतासँग सम्बन्धित मागहरू
१. सन् १९५० को नेपाल-भारत सन्धि लगायतका सम्पूर्ण असमान सन्धि, सम्झौताहरू खारेज गरिनुपर्छ ।
२. राष्ट्रघाती टनकपुर सम्झौतालाई ढाकछोप गर्न र नेपालको सम्पूर्ण जलसम्पदामाथि भारतीय विस्तारवादलाई एकाधिकार सुम्पन २०५२ माघ १५ गते नेपाल र भारत सरकारबीच सम्पन्न कथित एकीकृत महाकाली सन्धि अझै बढी राष्ट्रघाती र दीर्घकालीन दृष्टिकोणले बढी खतरनाक भएकोले उक्त सन्धि तत्काल खारेज गरिनुपर्छ ।
३. नेपाल भारत खुल्ला सिमाना नियन्त्रित र व्यवस्थित गरिनुपर्छ । नेपालभित्र भारतीय नम्बर प्लेटका गाडीहरू चलाउन तत्काल रोक लगाउनुपर्छ ।
४. गोरखा भर्ती केन्द्र रद्द गरिनुपर्छ र नेपालीहरूलाई स्वदेशभित्रै सम्मानजनक रोजगारीको व्यवस्था गरिनुपर्छ ।
५. नेपालभित्र विविध क्षेत्रमा कामको निम्ति स्वदेशी कामदारहरूलाई नै प्रश्रय दिइनुपर्छ र विशेष अवस्थामा विदेशी कामदारहरूलाई काममा लगाउनुपर्दा 'वर्क परमीट’ प्रथा लागू गरिनुपर्छ ।
६. नेपालको उद्योगधन्दा, व्यापार र वित्तीय क्षेत्रमा विदेशी एकाधिकार पुँजीको आधिपत्य अन्त्य गरिनुपर्छ ।
७. आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास हुने गरी भन्सार नीति तय र लागू गरिनुपर्छ ।
८. साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदूषण र अतिक्रमणको अन्त्य गरिनुपर्छ । देशभित्र छाडा हिन्दी सिनेमा, भिडिओ र पत्रपत्रिकाहरूको आयात र वितरणमा तुरुन्त रोक लगाइनुपर्छ ।
९. एन.जी.ओ./आई.एन.जी.ओ. आदिको नाउँमा देशभित्र साम्राज्यवादी/ विस्तारवादी घूसपैठको अन्त्य गरिनुपर्छ ।
-ख) जनतन्त्रसँग सम्बन्धित मागहरू
१०. जनगणतन्त्रात्मक व्यवस्था स्थापनाको निम्ति चुनिएका जनताका प्रतिनिधिहरूद्वारा नयाँ संविधान निर्माण गरिनुपर्छ ।
११. राजा र राजपरिवारका सबै विशेषाधिकार अन्त्य गरिनुपर्छ ।
१२. सेना, प्रहरी, प्रशासन पूर्ण रूपले जनताको नियन्त्रणमा हुनुपर्छ ।
१३. सुरक्षा ऐन लगायतका सबै दमनकारी ऐनहरू खारेज गरिनुपर्छ ।
१४. राजनीतिक प्रतिशोधका कारणले झुट्टा मुद्दामा फसाइएका रुकुम, रोल्पा, जाजरकोट, गोरखा, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, धनुषा, रामेछाप लगायतका जिल्लाहरूका सम्पूर्ण बन्दीहरू तत्काल रिहा गरिनुपर्छ र सबै झुट्टा मुद्दाहरू खारेज गरिनुपर्छ ।
१५. जिल्ला जिल्लामा भइरहेको सशस्त्र प्रहरी अप्रेसन, दमन र राज्य आतंक तुरुन्त बन्द गरिनुपर्छ ।
१६. विभिन्न समयमा पुलिस हिरासतबाट बेपत्ता पारिएका दिलीप चौधरी, भुवन थापा मगर, प्रभाकर सुवेदीलगायतका व्यक्तिहरूको बारेमा निष्पक्ष छानबिन गरी अपराधीहरूलाई कडा कारबाही गरिनुपर्छ र पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रधान गरिनुपर्छ ।
१७. जन-आन्दोलनको क्रममा मारिएकाहरूलाई सहिद घोषणा गरिनुपर्छ, सहिदका परिवार तथा घाइते र अपाङ्गहरूलाई उचित क्षतिपूर्ति दिइनुपर्छ र हत्याराहरूमाथि कडा कारबाही गरिनुपर्छ ।
१८. नेपाललाई धर्म-निरपेक्ष राज्य घोषित गरिनुपर्छ ।
१९. महिलामाथिको पितृसत्तात्मक शोषणको अन्त्य गरिनुपर्छ । छोरीलाई छोरासरह पैतृक सम्पत्तिमाथि समान अधिकार दिइनुपर्छ ।
२०. सबै खाले जातीय शोषण र उत्पीडनको अन्त्य गरिनुपर्छ । जनजातिहरूको बाहुल्य भएका क्षेत्रहरूमा जातीय स्वायत्त शासनको व्यवस्था गरिनुपर्छ ।
२१. दलितहरूमाथि भेदभाव अन्त्य गरिनुपर्छ । छुवाछूत प्रथा पूर्ण रूपले बन्द गरिनुपर्छ ।
२२. सबै भाषा-भाषीहरूलाई समान अवसर र सुविधा दिइनुपर्छ । उच्च माध्यमिक तहसम्म मातृभाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्छ ।
२३. वाक् तथा प्रकाशन स्वतन्त्रताको पूर्ण ग्यारेन्टी हुनुपर्छ । सरकारी सञ्चार माध्यमहरू पूर्ण रूपले स्वायत्त हुनुपर्छ ।
२४. बुद्धिजीवी, साहित्यकार, कलाकार र सांस्कृतिक कर्मीहरूको प्राज्ञिक स्वतन्त्रताको ग्यारेन्टी गरिनुपर्छ ।
२५. पहाड र तराईको क्षेत्रीय भेदभावको अन्त्य गरिनुपर्छ । पिछडिएका इलाकाहरूलाई क्षेत्रीय स्वायत्तता प्रदान गरिनुपर्छ । गाउँ र सहरबीच सन्तुलन कायम गरिनुपर्छ ।
२६. स्थानीय निकायहरूलाई अधिकार र साधन सम्पन्न बनाइनुपर्छ ।

-ग) जनजीविकाको प्रश्नसँग सम्बन्धित मागहरू
२७. जमिन जोत्नेको हुनुपर्छ । सामन्तहरूको जमिन जफत गरेर भूमिहीन तथा सुकुम्बासीहरूमा वितरण गरिनुपर्छ ।
२८. दलाल तथा नोकरशाही पुँजीपतिहरूको सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिनुपर्छ । अनुत्पादक क्षेत्रमा अल्भिmएको पुँजीलाई औद्योगिकीकरणमा लगाउनुपर्छ ।
२९. सबैलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्छ । रोजगारी नपाउन्जेल बेरोजगार भत्ताको व्यवस्था गरिनुपर्छ ।
३०. उद्योग, कृषिलगायतका सबै क्षेत्रमा काम गर्ने मजदुरहरूको न्यूनतम ज्याला निर्धारण गरी त्यसलाई कडाइका साथ लागू गर्ने व्यवस्था गरिनुपर्छ ।
३१. सुकुम्वासीहरूलाई बसोबासको उचित व्यवस्था गरिनुपर्छ । वैकल्पिक बसोबासको व्यवस्था नगरी सुकुम्बासीहरूलाई उठीबास गर्ने काम तुरुन्त बन्द गरिनुपर्छ ।
३२. गरीब किसानहरूलाई पूर्ण रूपले ऋण मुक्त गरिनुपर्छ । कृषि विकास बैंकबाट साना किसानहरूले लिएको ऋण मिनाहा गरिनुपर्छ । साना उद्योगीहरूलाई समुचित कर्जाको व्यवस्था गरिनुपर्छ ।
३३. मल, बीउ सस्तो र सुलभ हुनुपर्छ । किसानहरूलाई उत्पादनको उचित मूल्य र बजारको व्यवस्था गरिनुपर्छ ।
३४. बाढी पीडित र सुख्खाग्रस्त क्षेत्रहरूमा उचित राहतको व्यवस्था गरिनुपर्छ ।
३५. सबैलाई निःशुल्क र वैज्ञानिक स्वास्थ्य सेवा र शिक्षाको व्यवस्था गरिनुपर्छ । शिक्षा क्षेत्रमा व्याप्त व्यापारीकरणको अन्त्य गरिनुपर्छ ।
३६. महँगी नियन्त्रण गरिनुपर्छ । महँगीको अनुपातमा ज्याला वृद्धि गरिनुपर्छ र दैनिक उपभोगका वस्तुहरू सस्तो र सुलभ तरिकाले आपूर्ति गर्ने व्यवस्था गरिनुपर्छ ।
३७. गाउँगाउँमा खानेपानी, बाटोघाटो र बिजुलीको व्यवस्था गरिनुपर्छ ।
३८. कुटीर तथा साना उद्योगहरूलाई विशेष सहुलियत र संरक्षण दिइनुपर्छ ।
३९. भ्रष्टाचार, कालोबजारी, तस्करी, घूसखोरी, कमिसनतन्त्र अन्त्य गरिनुपर्छ ।
४०. अनाथ, अपा·, वृद्ध र बालबालिकाहरूको उचित संरक्षणको व्यवस्था गरिनुपर्छ ।
नेपाली राष्ट्र र जनताको जीवनसाग अत्यावश्यक रूपले जोडिएका उपरोक्त मागहरू यथाशीघ्र पूरा गर्नेतर्फ पहल गरियोस् भन्ने वर्तमान गठबन्धन सरकारसमक्ष हाम्रो हार्दिक आग्रह छ । आगामी २०५२ फागुन ५ गते सम्म सरकारको तर्फबाट यसबारे कुनै सकारात्मक पहल नभएमा हामी विद्यमान राज्यसत्ताको विरोधमा सशक्त संघर्षको बाटोमा उत्रन बाध्य हुनुपर्ने जानकारी पनि गराउन चाहन्छौं ।
धन्यवाद
डा. बाबुराम भट्टराई
अध्यक्ष
केन्द्रीय समिति, संयुक्त जनमोर्चा, नेपाल

एडीबीले सहयोग दोब्बर पार्ने

काठमाडौं माघ २३ -
प्रमुख दातृ संस्था एसियाली विकास बैंक एडीबी ले सन् २००९ देखि नेपाललाई दिने सहयोग रकम दोब्बर गर्ने भएको छ। बैंकका नेपाल निर्देशक बेरी हिचककले नेपाललाई अहिलेकोभन्दा दोब्बर सहयोग गर्ने नीति पारित भएको जानकारी बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिए। बैंकले वार्षिक १० करोड अमेरिकी डलर बराबर सहयोग गरिरहेको छ। आउँदो वर्षदेखि २० करोड डलर पुग्नेछ। ´नेपालको विकास आवश्यकताका क्षेत्रमा हामी उत्तरदायी रुपमा सहयोग पुर्‍याउनेछौं´ उनले भने - ´बैंकले शान्ति प्रकि्रया र दुर्गम क्षेत्रका पिछडिएका समुदायमा सहयोग केन्द्रित गर्नेछ।´ मन्दीबीच पनि नेपालले यो वर्ष साढे तीन प्रतिशत आर्थिक वृद्धिदर हाँसिल गर्ने बैंकको अनुमान छ । चालु बजेटले ७ प्रतिशत वृद्धिको लक्ष्य लिएको छ । बैंकले सन् २००८ मा नेपालको शिक्षा सूचना प्रविधि स्थानीय सुशासन परियोजनाका लागि १३ करोड ९३ लाख डलर सहयोग गरेको थियो । प्राविधिक सहायतातर्फ १० परियोजनाका लागि ४४ लाख डलर दिने घोषणा गरिएको छ। खाद्यान्न निर्माण सामग्री र पेट्रोलियम पदार्थको बढ्दो मुल्यमा पनि एडीबी सहायतामा साचालित परियोजना अघि बढीरहेको बैंकले जनाएको छ। बैंकले बिहीबारै सन् २००५ देखि साचालित परियोजनाबाट जनतामा परेको प्रभावसम्बन्धी प्रतिवेदन ´समावेशी बाटोमा´ सार्वजनिक गरेको छ। प्रतिवेदनमा राष्ट्रिय साझेदारी रणनीति २००५-२००९ को कार्यथलोमा गरिएको मध्यावधि समीक्षा समावेश छ।

धमलाविरुद्धको प्रहरी प्रमाण टिक्ला?

माघ २२
रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाबिरुद्ध प्रहरीले सवुतका रुपमा पेश गरेको श्रव्य टेप रेकर्ड अदालतमा मान्य हुने/नहुने सवालमा न्याय क्षेत्रमा बहस हुन थालेको छ। प्रहरीले बुधबार पत्रकार सम्मेलनमा धमला र भूमिगत सशस्त्र समूह रणवीर सेनाका उपत्यका इन्चार्ज रामशुभक महतोबीच भएको भनिएको फोनबार्ताको रेकर्ड सार्वजनिक गरेको थियो। यतिबेला बिषेश गरी कानून व्यवसायीहरुमाझ धमलाविरुद्धको प्रविधिगत प्रमाणका विषयमा दुई थरी धारणा रहेको पाइन्छ। एक थरीको धारणा छ- प्रमाण ऐन २०३१ अनुसार प्रविधिको सहायताले रेकर्ड गरिएको प्रमाण कसैलाई अभियोग लगाउने आधार बन्न सक्दैन। निर्माण भएको ३४ वर्षमा एक पटक पनि परिमार्जन नभएको त्यो ऐनले सिधा प्रमाणलाई मात्र मान्छ। प्रविधिको सहायताले रेकर्ड गरिएको प्रमाणका विषयमा ऐन मौन छ। ´ऐनले रेकर्ड गरिएको वार्तालापका विषयमा केही भनेको छैन, त्यसैले धमलाविरुद्धको अभियोग कमजोर छ´ आपराधिक मुद्धाहरुमा विशेषज्ञता हासिल गरेका एक वरिष्ठ अधिवक्ता भन्छन्। धमलाका मुद्धामा अदालतमा बहस गर्नुपर्ने सम्भावनाका कारण उनले आफ्नो नाम गोप्य राख्न चाहे। अधिवक्ता टीकाराम भट्टराईका अनुसार अपराध मुद्धामा रेकर्ड गरिएका कुरा प्रमाण लाग्ने नजिर पनि आजसम्म बनेको छैन। सर्वोच्च अदालतका नजिरहरूलाई कानूनसरह मानिन्छ। उनका अनुसार मानव आवाज जाँचपडतालसँग सम्बन्धित कानून नेपालमा बनेको छैन। सरकारी वकिलहरूले गत वर्ष सर्वोच्चको सुनुवाइका क्रममा फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्धामा भिडियो डकुमेन्ट्री प्रस्तुत गरेका थिए। सर्वोच्चले यस मुद्धालाई किनारा लगाएर त्यस्तो प्रमाणका विषयमा बोल्न बाँकी छ। अर्को खाले धारणा प्रविधिको सहायताले रेकर्ड गरिएका प्रमाणका पक्षमा छ। एक सरकारी वकिलका अनुसार धमला र रणवीर सेनाका कार्यकर्ताबीच भएको भनिएको बार्ताका फोन रेकर्ड प्रमुख प्रमाणका रुपमा नभई सहायक प्रमाणका रुपमा प्रयोग हुनसक्छ। ´हामीले आधुनिक युगमा प्रविधिमा बिश्वास नगर्ने, यसलाई प्रमाण संकलन प्रक्रियाबाट अलग राख्ने हो भने धमला सम्बन्धित भएकोजस्तो आधुनिक र जटिल अपराधमा कारबाही चलाउन सम्भव छैन´ नाम गोप्य राख्ने शर्तमा उनी भन्छन्। सर्वोच्चले मुद्धामा कारवाही सुरु गर्नुपूर्व काठमाडौंका प्रमुख जिल्ला अधिकारीले अन्तिम निर्णय नलिएसम्म यो बहस चलिरहनेछ।

Tuesday, February 3, 2009

सबै टेलिफोन कम्पनीले मोबाइल चलाउन पाउने


काठमाडौं माघ २१
सबै टेलिफोन कम्पनीलाई मोबाइल सेवा साचालन गर्न दिनेगरी दूरसाचार ऐन संशोधन प्रकि्रया अघि बढाइएको छ। प्रस्तावित ऐनको मस्यौदामा अहिले साचालित सबै सेवा प्रदायकलाई मोबाइल टेलिफोन साचालन गर्न ढोका खोलेको छ। ऐन संशोधन गर्नको लागि गत शुक्रबार नेपाल दूरसाचार प्राधिकरणले मस्यौदा तयार पारेर साचार मन्त्रालयमा पठाएको छ। दूरसाचार ऐन संशोधन गर्न मन्त्रालयले सुझाव मागेको थियो त्यहीअनुसार हामीले पठाएका हौं- प्राधिकरणका अध्यक्ष भेषराज कँडेलले भने। सरकारले अध्यादेशमार्फत् दूरसाचार ऐन संशोधन गर्ने सोच बनाएको छ। प्राधिकरणले पठाएको सुझावमा टेलिफोन सेवा साचालन गर्नेगरी जति पनि कम्पनी छन् सबैलाई मोबाइल चलाउन दिन बाटो खुला गरिदिएको छ। टेलिफोन सेवा दिन नेपालमा ६ कम्पनीले लाइसेन्स लिइसकेका छन्। ६ कम्पनीमध्ये नेपाल टेलिकम र स्पाइस नेपालले मोबाइल टेलिफोन साचालन गरिरहेका छन्। ऐन पारित भएपछि साधारण टेलिफोन चलाउन लाइसेन्स पाएका युनाइटेड टेलिकम एसटीएम टेलिकम स्मार्ट टेलिकम र नेपाल स्याटेलाइटले पनि मोबाइल टेलिफोनलगायत् आफूलाई मन लागेको प्रविधिबाट टेलिफोन वितरण गर्न पाउनेछन्। अहिले नेपाल टेलिकमले साधारण तारवाला फोन सीडीएमए र जीएसएम मोबाइल साचालन गरेको छ। स्पाइस नेपालले जिएसएम प्रविधिबाट मोबाइल साचालन गरेको छ। युटीएलले सीडीएमए प्रविधिबाट फिक्स र मोबाइल चलाएको छ। एसटीएमले ग्रामीण क्षेत्रमा भिस्याट प्रविधिबाट टेलिफोन चलाइरहेको छ। नयाँ दुई कम्पनीहरु स्मार्ट टेलिकम र नेपाल स्याटेलाइटले भने हालसम्म टेलिफोन साचालन गरिसकेका छैनन्। गएको पुससम्ममा नेपालमा ५० लाख ८६ हजार लाइन टेलिफोन वितरण भएको छ। योमध्ये मोबाइल ४२ लाख ३८ हजार छ। टेलिफोनको घनत्व प्रति एक सय जना बराबर अहिले १९ लाइन मात्र छ। टेलिफोन चलाइसकेका कम्पनीहरुले लाइसेन्स लिँदा तोकिएको सबै शर्त पूरा गरिसकेपछि मात्र एकिकृतु अन्तरगत मन लागेको प्रविधिमा जान पाउँछन्- प्राधिकरणका सदस्य तुलसी भट्टले भने। उनका अनुसार डब्ल्युटीओको मान्यताअनुसार यस्तो प्रावधान राखिएको हो। विश्व बैंकले समेत सबै टेलिफोन कम्पनीले तोकिएको शुल्क तिरेर चाहेको प्रविधिबमोजिमको सेवा दिनेगरी ऐनमा फेरबदल गर्न सरकारलाई सुझाव दिँदै आएको छ। नेपालको दूरसाचार क्षेत्रको विकासका निम्ति बैंकको सहयोगमा दूरसाचार क्षेत्र सहयोग आयोजना साचालनमा छ। प्राधिकरणले मन्त्रालयमा पठाएको प्रस्तावित ऐनमा लाइसेन्सलाई एकिकृत र साधारणु मा वर्गीकरण गरिएको छ। साधारणअन्तरगत इन्टरनेट इमेल भिस्याट रेडियो पेजिङलगायतका सेवा छन्। त्यस्तै एकिकृतअन्तरगत टेलिफोन सेवा राखिएको छ। ऐनको मस्यौदामा नेपाल टेलिकमको मोबाइल लाइसेन्स नवीकरण गर्न २० अर्ब रुपैयाँ तिर्नैपर्ने व्यवस्था कायम राखेको छ। टेलिकमले मोबाइल टेलिकमको लाइसेन्स नवीकरण गर्न २० अर्ब रुपैयाँ तिर्नुपर्छ। यो रकम टेलिकमले तिर्न मानिरहेको छैन। स्पाइस नेपालले तिरेको खण्डमा हामी पनि तिर्छौं भनेर टेलिकमले कागज गर्यो भने मोबाइल नवीकरण गर्न सकिन्छु- प्राधिकरणका एक साचालकले भने। स्पाइस नेपालले २० अर्ब रुपैयाँ तिरेन भने नेपाल टेलिकमले पनि तिर्नु नपर्ने उनको भनाई छ। नेपाल टेलिकमको मोबाइलको लाइसेन्स यही वैशाखमा सकिँदैछ। २० अर्बको मुख्य विषयलाई नै समाधान नगर्ने हो भने अध्यादेशमार्फत् ऐन संशोधन गर्नुपर्ने स्थिति नभएको भनाई प्राधिकरणका केही अधिकारीको छ। दूरसाचार ऐन संशोधन गर्न सरकारले पाँच वर्षदेखि काम सुरु गरेको हो। गत वर्ष मन्त्रिपरिषदमा पुगेर पनि फिर्ता भएको थियो। प्राधिकरणले ऐन संशोधनका लागि अधिवक्ता सतीशकृष्ण खरेललाई एक लाख रुपैयाँ दिएर परामर्शदाता नियुक्त गरेको थियो। ऐन संशोधनको प्रकि्रया पाँच वर्षअघि दूरसाचार नीति २०६० आएपछि थालिएको थियो। ऐनका लागि विश्व बैंकलगायत् ठूला दातृ निकायले ठूलो रकम सहयोग गरेका छन्।

Monday, February 2, 2009

चिनियाँ प्रधानमन्त्रीमाथि बेलायतमा जुत्ता प्रहार

जुत्ता हान्नेमाथि मुद्दा चलाइयो

चीन र बेलायत सरकारद्वारा घटनाप्रति दु:ख प्रकट

काठमाडौं, माघ २१ (एजेन्सी)- अमेरिकी तत्कालीन राष्ट्रपति जर्ज डब्लू बुसपछि चीनका प्रधानमन्त्रीले सार्वजनिक मन्चमा जुत्ता खाएका छन्। बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री वेन जियावाओलाई क्याम्ब्रिज विश्वविद्यालयमा सोमबार आयोजित सार्वजनिक समारोहमा सम्बोधन गरिरहेका बेला एक युवकले जुत्ता प्रहार गर्दै भने ´तिमी तानाशाह हौ।´ चिनियाँ प्रधानमन्त्रीले प्रदर्शनकारी ती युवकबाट प्रहार भएको जुत्ता छल्न भ्याए। बीबीसीका अनुसार जुत्ता प्रहार गरेलगत्तै चीनका प्रधानमन्त्रीलाई सुरक्षा गार्डले हलबाट अन्यत्रै लगेका थिए।तीनदिने लन्डन भ्रमणका क्रममा बेलायती समकक्षी गोर्डन ब्राउनसँग विभिन्न व्यापार सहमतिमा हस्ताक्षर गरेका जियाबाओले उक्त घटनालाई ´अपमानपूर्ण´ भनी टिप्पणी गरेका छन्।जियाबाओको भ्रमणका क्रममा बेलायतमा चीनमा भइरहेका मानव अधिकार उल्लंघन र तिब्बतका विषयलाई लिएर प्रदर्शन भएका थिए। आइतबार जियाबाओ भएतिर प्रदर्शन गर्दै अघि बढेका पाँच युवालाई लन्डनमा प्रहरीले गिरफ्तार गरेको थियो।प्रत्यक्षदर्शीका अनुसार विश्व अर्थतन्त्रबारे क्याम्ब्रिजमा सम्बोधन गरिरहेका चिनियाँ प्रधानमन्त्रीमाथि भाषणको अन्त्यतिर जुत्ता प्रहार भएको थियो।प्रेस एसोसिएसनले मंचको पछाडिपट्टिबाट जुत्ता प्रहार भएको र त्यो चिनियाँ प्रधानमन्त्रीभन्दा करिब एक मिटर पर खसेको जनाएको छ।ती प्रदर्शनकारीले मंचमा उपस्थित व्यक्तिहरुलाई चिनियाँ प्रधानमन्त्रीको भाषण नसुन्न आग्रह गर्दै चर्को स्वरमा भनेका थिए ´यो विश्वविद्यायल आफूलाई कसरी तानाशाहको रखैल बनाउन सक्छ’ एएफपीका अनुसार, ती व्यक्तिलाई सभाहलबाट सुरक्षा घेरामा बाहिर लगिएपछि सभाका अन्य सहभागीले जुत्ता प्रहार गर्ने ´तिमीलाई लाज होस्´ भनेका थिए। प्रहरीले ती व्यक्तिलाई सार्वजनिक सुरक्षामा खलल पारेको आरोपमा गिरफ्तार गरिएको पुष्टि गरेको छ। सम्बोधनका लागि आइपुग्नासाथ प्रधानमन्त्री जियाबाओ चीन समर्थक र चीन तथा तिब्बतमा मानव अधिकार उल्लंघनको विरोध गर्नेहरु दुवै समूहको प्रदर्शन सम्मुख परेका थिए।यो घटना गत डिसेम्बरमा तत्कालीन अमेरिकी राष्ट्रपति बुसको इराक भ्रमणकै घटनासँग मिल्दोजुल्दो छ। आफ्नो अन्तिम बिदाइ भ्रमणका क्रममा इराक पुगेका बुसलाई लक्षित गरी एक स्थानीय साचारकर्मीले दुईपटकसम्म जुत्ता प्रहार गरेका थिए।
चीनले आफ्ना प्रधानमन्त्रीमाथि जुत्ता प्रहार भएकोमा बेलायत सरकारप्रति गम्भीर असन्तुष्टि जनाएको छ। यो घटनाले द्विपक्षीय सम्बन्धमा भने असर नपार्ने स्पष्ट गरेको छ।´उक्त घटनाप्रति चिनियाँ पक्ष गम्भीर असन्तुष्टि प्रकट गर्दछ´ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जियाङ युले वक्तव्य जारी भनेका छन् ।बेलायती सरकारले पनि उक्त घटनाबाट आफूहरु दुःखी भएको भन्दै घटनामा संलग्नलाई कानुनअनुसार कारबाही गरिने आश्वासन दिएको छ।

Sunday, February 1, 2009

'निःशूल्क स्वास्थ्य' तीन सातामै संकटमा, जिल्लामा पठाइएका औषधि सकिए

काठमाडौं, माघ १९
आलापोटस्थित उप–स्वास्थ चौकीमा नेक्सोन नामक एमोक्सिलिन समूहको एन्टिवायोटिक औषधि सात दिनलाई नपुग्ने गरी आयो। सरकारले यही माघ १ गतेदेखि देशभर सुरु गरेको निशुल्क स्वास्थ कार्यक्रमअन्तर्गत उपलब्ध गराउने २२ थरी ´अत्यावश्यक औषधि´ मा एमोक्सिलिन धेरै खपत हुने गर्छ।
सरकारले अत्यावश्यक औषधि बाह्रै महिना उपलब्ध हुने घोषणा गरेको छ। सुगम राजधानीमा दरबन्दी पाएर मख्ख परेका अहेब जगत नेपालीलाई अब धर्मसंकट परेको छ। उनीकहाँ आएको ३ सय चक्की नेक्सोन २० जनालाई दिएरै सकियो। अरु आउनका लागि दोस्रो तीन महिने किस्ता कुनुपर्छ। ´औषधि छैन भनौं, भ्रष्टाचार गर्‍यो भन्लान, नभएको औषधी कहाँबाट ल्याएर दिनु!´ उनले आइतबार राजधानीमा भेला भएका स्वास्थकर्मीहरुबीच आफ्नो समस्या दर्शाए। स्वास्थकर्मीहरुले निशुल्क स्वास्थ कार्यक्रम घोषणा गरेको तीन हप्ता नबित्दै बढी आबश्यक पर्ने औषधिहरु सकिन लागिसकेको बताए। उनीहरुले अत्यावश्यक औषधिको औसत खपत विवरण जिल्ला जनस्वास्थ्य कार्यालयमा पठाएका थिए। ´बर्षभरि पुग्ने हिसाबले मागेका थियौं, तर एक महिनालाई नपुग्ने पठाइयो´ काठमाडौंको दुर्गम गाविस नाङलेभारेस्थित उपस्वास्थ चौकीका अहेव जनार्दन अधिकारीले भने। सरकारले उप–स्वास्थ चौकीदेखि जिल्ला अस्पताल तहका स्वास्थ केन्द्रमा निःशुल्क स्वास्थ्य कार्यक्रम लागु गरेको हो। यसका लागि सरकारले स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास बजेट समेत रकमान्तर गरेको छ। स्वास्थ चौकी तहमा विरामी दर्ता, प्रतिकारात्मक तथा प्रवर्द्धनात्मक सेवा एवम् उपचारमुलक सेवाअन्तर्गत अत्यावश्यक औषधि, ड्रेसिङ–टाँका, गर्भवती–प्रसुती सेवालगायत उपलव्ध गराउने भनिएको छ। त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा आकस्मिक सेवा, निदानका लागि प्रयोगशाला सेवा, एक्सरे, अत्यावश्यक औषधि, सामान्य शल्य चिकित्सा र विशेष गर्भवती सेवा उपलब्ध गराउने घोषणा गरिएको छ। सुगम क्षेत्रकै अधिकांश स्वास्थ केन्द्रमा आधारभूत औषधि समेत पर्याप्त नपुगेपछि सरकारले यो सेवा सस्तो लोकप्रियताका लागि मात्र सुरु गरेको आशंका स्वास्थकर्मीहरुले गर्न थालेका छन्। ´औषधि दिननसक्दा स्वास्थकर्मीहरुलाई आफ्नो कार्यक्षेत्रमा काम गर्न कठीन भएको छ। भोलि यही कारणले उनीहरु निशाना बन्ने स्थिती छ´ नेपाल स्वास्थकर्मी युनियनका अध्यक्ष भगीरथ बानियाँ भन्छन्। सरकारले निःशुल्क वितरण गर्न उप–स्वास्थ चौकीलाई उपलब्ध गराउने भनिएको सबै २२ थरी र जिल्ला अस्पताललाई ३२ नै थरी औषधि नपठाइएको स्वास्थकर्मीहरुको गुनासो छ। बानियाँका अनुसार प्रायः जिल्ला जनस्वास्थ कार्यालयले घाउ बेर्ने गज र बेन्डेज पनि औषधिकै बर्गमा राखेर पठाउने गरेका छन्। दुवै औषधि होइनन्। निशुल्क स्वास्थ्य सेवा अनुगमनका लागि केन्द्रदेखि स्थानीयस्तरसम्म समिति गठन हुने व्यवस्था छ। ´त्यो कागजमा सीमित छ´ स्वास्थकर्मी उज्ज्वल शर्मा भन्छन्, ´विरामी दर्ताका पाँच रुपियाँ मिनाहा गरेको मात्रै कार्यन्वयन भएको पक्ष हो। त्यो कुनै ठूलोकुरा होइन।´ तयारी र पूर्वाधारविना निशुल्क कार्यक्रम सुरु गरिएको भनेर आलोचना भइरहेका बेला घोषणाको तीन हप्तामै स्वास्थ क्षेत्र लथालिंग भएको छ। प्रसुती सेवाका लागि कतै पनि जनशक्ति र पूवार्धार नथपिएको बताइन्छ। देशका दर्जनौं स्वास्थ्यचौकीका बिद्युत लाइन सरकारले महसुल नतिरेका कारण काटिएका छन्। त्यसले गर्दा सधैं फ्रिजमा राख्नुपर्ने खोप र संवेदनशील औषधिहरु बिग्रेका छन्।´ काठमाडौकै टोखा चण्डेश्वरीस्थित स्वास्थ चौकीबाट केही दिनअघि लाइन काटियो, खोप लगाउनेहरुलाई फर्काउनुबाहेक उपाय छैन´ शर्मा भन्छन्। सरकारले दातृ निकायबाट प्राप्त गर्ने महँगा भ्याक्सिनहरु चौविसै घण्टा रेफ्रिजेरेटरमा ´कोल्ड चेन मेन्टेन´ गरी राख्नुपर्ने हुन्छ। कुनै पनि बेला त्यसलाई बाहिरी उच्च तापमानमा राख्नुहुँदैन। ´एक त असुरक्षित तरिकाले स्वास्थ केन्द्रमा पुर्‍याइन्छ। अर्को बिजुली नभएर त्यतिकै राख्नुपर्नेहुन्छ। हामीले काम नलाग्ने खोप दिनुपरिरहेको छ´ स्वास्थकर्मीको भनाइ छ। अनुदानको औषधिमा आशंका सरकारले निशुल्क स्वास्थ कार्यक्रम सुरु गरेपछि बोलपत्र आह्वान गरी आपूर्ति गराएका अत्यावश्यक औषधिहरु कमसल परेको अनुभव स्वास्थकर्मीहरुले गरेका छन्। घाउचोटको उपचारमा अत्यधिक प्रयोग हुने ´पोभिडिन लोडिन´ झोल जिल्ला जनस्वास्थ कार्यालयहरुले तीनचार थरी पठाएका छन्। तीमध्ये एक नेपाली कम्पनीले बनाएको सिटाडिन नाम दिइएको झोलले कुनै काम नगरेको दाबी उनीहरुले आइतबार सार्वजनिक रुपमा दावी गरे। त्यस्तै सरकारले बजार मूल्यभन्दा तीन गुना सस्तोमा किनेको नेक्सोनले पनि काम नगरेको र त्यसको लेवल समेत शंकास्पद भएको उनीहरुको भनाई छ। कम्पनीले औषधि व्यवस्था विभागमा दर्ता गरिएको लेवल मात्र प्रयोग गर्न पाउँछन्। दैनिकीले नेक्सोन चक्कीको लेबललाई विभागमा लगेर भिडाउँदा नयाँ लेवल दर्ता भएको प्रमाणित गर्न सकेनन्। यस सम्बन्धमा अनुसन्धान जारी छ।

पत्रकार महासंघलाई नयाँ नीति ल्याउन सुझाव


सुरक्षाका लागि पत्रकार महासंघले जनता गुहार्ने - मिसन टोली नेपालगन्ज,

माघ १९ - बाँकेका सञ्चारकर्मीले डर, धम्की र त्रासले काम गर्न गाह्रो भएकाले सुरक्षित वातावरणका लागि अगुवाई गर्न पत्रकार महासंघलाई आग्रह गरेका छन्। तराईका जिल्लामा पत्रकारको अवस्था अध्ययन गर्न नेपालगन्ज आइपुगेको पत्रकार महासंघको मिसन टोलीसँग आइतबार बाँकेका पत्रकारले विगतको हिसांत्मक द्वन्द्वको भन्दा धेरै बढी जोखिम र असुरक्षित अवस्था रहेको बताएका थिए ।विगतमा सन्तुलन मिलाएर समाचार लेख्दा ज्यान खतरामा नहोला भन्ने लाग्थ्यो, अहिले त चोर अपराधी सबै गिरोहसँग बराबर सम्बन्ध बनाउन नसकेमा बाँच्न गाह्रो हुने अवस्था छ- बिबिसीका संवाददाता नेत्र केसीले भने ।पत्रकार महासंघले ठोस नीति बनाएर अगाडि बढ्नुपर्ने उनको सुझाव थियो ।सहभागी संचारकर्मीले पत्रकारको आचारसंहिता पालना नगर्नेलाई कारबाही गरिनुपर्ने माग पनि उठाएका थिए । महासंघले आन्दोलनलाई सम्झौतामा टुंग्याएर पत्रकारका हत्यारालाई कारबाही गराउन नसकेकाले पत्रकार हत्याका घटना दाहोरिराखेको सहभागीले बताए । वीरेन्द्र साहका हत्यारा जे पी जोशी र उमा सिंहलगायतका पत्रकारका हत्यारालाई कारबाही नगरुन्जेल महासंघले आन्दोलन रोक्न नहुने सुझाव संचारकर्मीले मिसन टोलीसमक्ष राखेका थिए।महिला पत्रकारहरुले उमा सिंहको हत्यापछि परिवारका मान्छे पनि डराएकाले पेशा छोड्नसमेत दबाव दिन थालेको बताएका थिए ।राति अबेरसम्म कार्यालयमा काम सकेर घर फर्कने बेला दुर्व्यवहार खेप्नुपरेको उनीहरुको भनाइ थियो। मिसन टोलीसँग धम्की र जोखिमका कारण कतिपय समाचार लेख्न र बजाउन नसकेको पीडा पनि संचारकर्मीले राखेका थिए ।प्रहरी प्रशासन पत्रकारको सुरक्षाप्रति गम्भीर नहरको सहभागीले बताए ।कन्चनपुर र बर्दियाको भ्रमणपछि टोली बाँके आएको हो । टोलीका संयोजक शिव गाउँलेले अन्तिममा पत्रकार महासंघले सुरक्षाका लागि जनता गुहार्नुपर्ने बताएका छन ।हामी जनताका लागि सूचना पस्कने हो, अन्तिममा जनतालाई नै गुहार्नपर्छ, उनले भने- आपसी एकतालाई बलियो बनाएर पत्रकार अगाडि बढ्नुपर्छ ।मधेसी समाजबाट महिला पत्रकार भएर समाजका विकृति विसंगति बाहिर ल्याउन थालेका कारण उमा सिहंको हत्या भएको उनले बताए । परिवारिक कारण र आर्थिक आर्जनका लागि राजनीतिक शक्ति दुरुपयोग भएर उनको हत्या भएको आफूले बुझेको उनले बताए ।टोलीले आइतबार नै प्रशासनसँग पनि छलफल गरेको जनाएको छ ।

भारतद्वारा नेपाल विखण्डन गर्न षड्यन्त्र : नेता वैद्य

´भारतले मधेसवादी दललाई उचालेको छ´
´एक मधेस एक प्रदेश विखण्डनवादी नीति´
काठमाडौं, माघ १९ - सत्तारुढ एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्यले नेपाललाई विखण्डन गर्न भारतबाट मधेसलाई माध्यम बनाएर षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। रिपोर्टस् क्लबद्वारा आइतबार आयोजित साक्षात्कारमा उनले भने- ´नेपाललाई विखण्डन गर्न देशी-विदेशी प्रतिक्रियावादी षड्यन्त्रमा लागेका छन्।´
विदेशी प्रतिक्रियावादी को हुन् भन्ने जिज्ञासामा उनले भने ´भारत नेपालको विखण्डनको षड्यन्त्रमा लागेको छ।´ वैद्यले मधेसवादी दलहरुलाई भारतले उचालेर नेपाल विखण्डनको षड्यन्त्र गरिरहेको आरोप लगाए।
मधेसका जायज मागलाई माओवादीले उठान गरेको दाबी गर्दै उनले त्यसलाई आफ्नो स्वार्थमा ढालेर गलत क्रियाकलाप गर्न भारतको इशारामा केही तत्व लागेको बताए। वैद्यले जातीयताको नारा जनताको अधिकार सुनिश्चित गर्न उठाएको भन्दै त्यसलाई गलत रुपमा प्रयोग गरी देशको सार्वभौमिकता र अखण्डतामाथि प्रश्न उठाउन खोजिएको बताए। जातीय मुद्दालाई गलत रुपमा प्रयोग गर्न भारत सक्रिय रहेको आरोपसमेत उनको थियो।
उनले नेपाललाई विखण्डन गर्न खोज्नेहरु परास्त हुने भन्दै त्यसविरुद्ध आफ्नो दल कडा रुपमा प्रस्तुत हुने बताए। ´भारतविरुद्ध तपाईं लड्नुहुन्छ त´ भन्ने प्रश्नमा उनले भने ´नेपाल विखण्डन गर्न खोज्ने जोसुकैसँग नेपाली जनताले संघर्ष गर्नेछन्।´ भारतले नेपालको सीमा मिचेको भन्दै माओवादी त्यसविरुद्ध पनि कडा रुपमा प्रस्तुत हुने उनले बताए।
उनले मधेसवादी दलहरु नै विखण्डनमा लागेको आरोप लगाउँदै पार्टीले मधेसको पछिल्लो घटनाक्रमलाई संवेदनशील ठानेर नयाँ रणनीति बनाउन लागेको बताए। मधेस नीति तय गर्न माओवादी केन्द्रीय सचिवालयको बैठक आइतबार अपराह्न बस्दैछ।
´एक मधेश एक प्रदेश´ लाई अस्वीकार गर्दै भने- ´एक मधेश एक प्रदेश विखण्डनवादी नीति हो।´ उनले आफ्नै दलका नेता मातृका यादवको पछिल्लो क्रियाकलापको समेत आलोचना गरे। यादवले माओवादी नछाड्ने दावी गर्दै उनीसँग थप कुराकानी भइरहेको जानकारी वैद्यले दिए। उनले भने- ´मातृकाजीसँग कुरा भइरहेको छ उहाँले पार्टी छाड्नुहुन्न।´
वैद्यले संसदीय व्यवस्था असफल भइसकेको र प्रजातन्त्रको मुकुण्डो ओढेर संसदीय व्यवस्थाका नाममा अप्रजातान्त्रिक काम हुने गरेको दाबी गरे। ´संसदीय व्यवस्थाका नाममा मनोमानी शासन गर्ने परिपाटीको अन्त्य गर्न माओवादीले नयाँ प्रणालीको विकास गर्नेछ।´ आफूहरु नयाँ जनवादी क्रान्तिको पक्षमा रहेको स्पष्ट पार्दै बहुदलीय व्यवस्थालाई भने सम्मान गर्ने उनले बताए।
नेपाली सेनाले सरकारको आदेशअनुरुप काम गरॆर बृहत् शान्ति सम्झौताअनुसार जारी सैन्य भर्ती रोक्नुपर्ने बताए। प्रधानसेनापति रुक्माङ्गत कटवालले भर्ती नरोक्नेबारे दिदै आएको अभिव्यक्तिको आलोचना गर्दै कुनै एक व्यक्तिले भन्दैमा त्यसलाई सिंगो सेनाको नीति र भनाइ भन्न नमिल्ने उनले बताए।