Saturday, February 28, 2009

सदभावका लागि मितेरी


काठमाडौं, फागुन १७ -

तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा नेपाली काँग्रेसका नेता एंव पूर्वमन्त्री रामहरी जोशीले सार्वजनिक समारोहमा मितेरी लगाएका छन् । नेताद्वय ठाकुर र जोशी मात्रै होइन फरक सिद्धान्त राख्ने सभासदहरु मीना पाण्डे र गायत्री साह तथा मो.रिजवान अन्सारी र एकनाथ ढकालले पनि मितेरी सम्बन्ध गाँसेका छन् ।
शान्ति र सामाजिक सदभावका लागि सर्लाहीवासीले शनिबार राजधानीको त्रिभुवन पार्कमा आयोजना गरेको सदभाव वनभोज कार्यक्रममा नेताहरु झैं दर्जनौं युवा युवतीका जोडीले मित्रता जोडे । केही समययता विभिन्न कारणले तराईमा खल्बलिदैं गएको 'शान्ति तथा सामाजिक सदभाव' लाई बलियो बनाउन कार्यक्रमको आयोजना गरिएको थियो ।
पहाडी तथा मधेशी समूदायका राजनीतिक व्यक्ति, त्यस्तै अन्य विभिन्न पेशामा संलग्न व्यक्ति तथा युवा विद्यार्थीबीच गराइएको मितेरी कार्यक्रमले बनभोज कार्यक्रमको आर्कषण थपेको थियो । सदभावको कामना गर्दै सबैले सामूहिक होली पनि मनाएका थिए ।
कार्यक्रममा बोल्दै तमलोपाका अध्यक्ष ठाकुरले आम नेपालीले चाहेको सदभावलाई मितेरी कार्यक्रमलले बल पुर्‍याउने बताए । नेपालमा कुनै एक जाति विशेषको बर्चश्व नरहेको भन्दै उनले सबै जात,जाति,धर्म, समुदायले नेपाललाई श्रृंगारेकोले विश्वमा नेपालको आफ्नै पहिचान रहेको उनले उल्लेख गरे ।
उनले विगतमा भएको एकपक्षीय शासन प्रणालीले जनताको भावना चित्कार सुन्न नसकेकै कारण अहिले सबैले आफ्नो भाषा,संस्कृति,पहिचानका लागि संघर्ष गर्नुपरेको बताए । मुलुकमा अहिले समानुपातिक र समावेशी चरित्र आवश्यक रहेको भन्दै उनले भने- त्यसो गर्न नसकिए दुर्घटना हुनसक्छ ।कार्यक्रमका अतिथि माओवादी नेता सीपी गजुरेलले नेपाली-नेपालीबीच एकता एंव भाइचाराको वातावरण बनाउन सर्लाहीवासीले गरेको मित्रता कार्यक्रमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका थिए । काँग्रेस नेता जोशीले कार्यक्रम ऐतिहासिक भएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । शान्ति र सदभावका लागि अत्यन्तै फलदायी हुनसक्ने भएकोले जिल्ला जिल्लामा मैत्री कार्यक्रम गर्न उनको सुझाव थियो ।
अमेरिकामा गोरा र काला जातिबीच द्वन्द चर्केको बेला मितेरी कार्यक्रमले जातीय सद्भाव राख्न ठूलो भूमिका खेलको भन्दै सर्भिस फर पीस संस्थाका महासचिव सरोज खनालले अहिलेको सन्दर्भमा नेपालमा पनि यस्तो कार्यक्रमको सान्दर्भिकता रहेको चर्चा गरे । कार्यक्रममा सर्लाही घर भएर राजधानी बस्दै आएका विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रेसले नकारात्मक कुरामात्र लेखेर मलाई घेराबन्दीमा पार्दैछन् : प्रधानमन्त्री

´पार्टीमा विवाद हुँदा प्रेसलाई उत्सव आउँछ´
´प्रेसले माओवादीलाई फुटाउन खोज्दैछ´
´बच्चाजस्तो संघीयता र गणतन्त्रलाई प्रेसले घनले हान्दैछ´
´संविधान लेखन र शान्ति प्रक्रियामा समेत प्रेस नकारात्मक छ´
´संक्रमणकालमा प्रेस सरकारप्रति नकारात्मक हुनुहुन्न´
´ज्ञानेन्द्र भारतमा बिहेका लागिमात्र गएका होइनन्´

काठमाडौं फागुन १७
एकीकृत नेकपा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टी र सरकारका विरुद्ध नकारात्मक कुरामात्र लेखेर प्रेस र पत्रकारले आफूलाई घेराबन्दीमा पारिरहेको आरोप लगाएका छन्। राजधानीमा शनिबार भएको पूर्व नेकपा माओवादीको भातृ संगठन क्रान्तिकारी पत्रकार संघ र पूर्व एकता केन्द्र मसालसम्बद्ध पत्रकारहरुको एकता भेलालाई सम्बोधन गर्दै उनले आफू अहोरात्र मुलुकका लागि खटिरहँदा पनि समाचार नबनाएकामा प्रेसको तीव्र आलोचना गरे।
´मिडियाले माओवादी र सरकारका सकारात्मक कुरा नलेख्ने, खाली नकारात्मक कुरामात्र लेख्ने गरेर माओवादी नेतृत्वलाई घेराबन्दी गर्दैछन्´, प्रधानमन्त्रीले भने- ´म बिहान ५ देखि साँझ ८ बजेसम्म देशका लागि खटिरहन्छु। अहिलेसम्म यसरी खट्ने प्रधानमन्त्री पहिला कोही थियो कि भनेर सचिवहरुसित समेत सोध्छु पनि। मैले त्यत्रो दुःख गरेको कुरा मिडियामा नआउँदो रहेछ। मेराबारेमा खाली नकारात्मक कुरामात्र आइरहेको छ।´
उनले बढी सर्कुलेसन भएका ठूला मिडिया आफू र आफ्नो पार्टीको विरुद्धमा लागेको आरोपसमेत लगाए। सरकारलाई अस्थिर बनाउन र माओवादीलाई फुटाउनसमेत प्रेस लागेको दाबीसमेत दाहालले गरे। ´बढी सर्कुलेसन भएका ठूला मिडियाले माओवादी र सरकारको नेतृत्वविरुद्ध बढी नकारात्मक कुरा लेखिरहेका छन्। उनीहरु हाम्रो पार्टी फुटाउनतिर पनि लागेका छन्।´
प्रधानमन्त्री दाहालले नेता मातृका यादवद्रारा माओवादी परित्यागको घोषणा गरेको घटनाप्रति संकेत गर्दै प्रेसलाई पार्टीमा हुने विवाद र विग्रह उत्सव आएजस्तो हुने गरेको दाबी गरे। ´पार्टीमा विखण्डन हुँदा उनीहरु (प्रेस) लाई उत्सव आएजस्तै हुन्छ´ उनले भने- ´आज मैले यति बोलें, भोलि तपाईं (सञ्चारकर्मी) हरुले के के लेख्नुहुन्छ। मैले प्रेस स्वतन्त्रतालाई मिनिमाइज गर्न खोजेको होइन।´
प्रधानमन्त्रीले आफ्नाविरुद्ध प्रेसमा निरन्तररुपमा सर्वहाराको नेता डेढ लाखको पलङमा सुतेको, एक करोडको गाडी झिकाएर चढेकोजस्तो नकारात्मक समाचारमात्र आइरहेकामा दुःख प्रकट गरे। एक करोडको गाडी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झिकाएको, तर उनका बारेमा समाचार नलेखेकामा साचारकर्मीहरुप्रति असन्तुष्टि प्रकट गरे। ´तपाईंहरुले पलङको कुरा धेरैचोटि लेख्नुभयो। मलाई कहिलेकाहीँ त त्यो पलङ फालिदिऊँ कि जस्तो लाग्छ´ प्रधानमन्त्रीले भने- ´प्रधानमन्त्रीले एक करोडको गाडी किनेर चढ्न लाग्यो भनेर लेख्नुभयो। त्यो गाडी गिरिजाप्रसादले मगाएका रहेछन्। मलाई त थाहा पनि थिएन। गिरिजाप्रसादले मगाउँदा समाचार नहुने, मेरै पालामा आयो भनेर मेराविरुद्ध समाचार आउने ?´
दाहालले १०/१२ वर्षदेखिका सरकारका नालायकीले अहिले लोडसेडिङको समस्या बढेको भए पनि आफ्नै नेतृत्वको सरकारलाई दोष दिएको आरोपसमेत प्रेसमाथि लगाए। उनले बुझ्दै नबुझी सारा जनतालाई अन्धकारमा पारेर प्रधानमन्त्री आफू उज्यालोमा बस्छन् भनेर प्रेसले झूटो समाचार छापिरहेको दाबीसमेत गरे।
दस/बाह्र वर्षदेखिका पुराना सरकारका नालायकीले अहिले लोडसेडिङको समस्या भएको हो। तर तपाईंहरु (सञ्चारकर्मीहरु) माओवादी आएपछि लोडसेडिङ बढ्यो भनेर लेख्नुहुन्छ। प्रधानमन्त्री निवासमा बत्ती जाँदैन भनेर लेखिरहनुभएको छ´ उनले भने- ´बालुवाटारमा सुरुदेखि नै लोडसेडिङ हुन्छ। विदेशी पाहुना आएका बेला पनि बालुवाटारमा बत्ती जान्छ, त्यो कुरा तपाईंहरु समाचार बनाउनुहुन्न।´
प्रधानमन्त्री दाहालले आफूमाथि एउटा पनि दाग नलागोस् भनेर सचेत रहेको, तर त्यो कुरा समाचार नबनेकामा प्रेसप्रति गुनासो गरे। ´म चाहिँ एउटा पनि दाग नलागोस् भनेर सचेत छु, त्यो कुरा समाचार नबन्दो रहेछ´ उनले भने।
´संक्रमणकालमा प्रेस सरकारप्रति नकारात्मक हुनुहुन्न´
प्रधानमन्त्री दाहालले संक्रमणकालका बेला पनि प्रेस सरकारप्रति नकारात्मक बनिरहेको महसुस गरेको उल्लेख गर्दै शान्ति प्रक्रिया तार्किक निष्कर्षमा नपुगेसम्म सरकारप्रति नकारात्मक नभइदिन प्रेस र सञ्चारकर्मीलाई आग्रह गरे।
´संक्रमणकालको बीचमा मिडिया अलिकति नकारात्मक भएजस्तो महसुस गरेको छु। यसको मतलब मिडियाले आलोचना र खबरदारी गर्नै हुन्न भनेको होइन´ उनले भने- ´शान्ति प्रक्रिया टुंगो लागेर अर्को चुनाव भइसकेपछिमात्र सरकारको जति आलोचना गरे पनि हुन्छ, संक्रमणकालमा गर्नुहुन्न।´
´बच्चाजस्तो संघीयता र गणतन्त्रलाई प्रेसले घनले हान्दैछ´
प्रधानमन्त्री दाहालले बच्चाजस्तो स‍ंघीयता र गणतन्त्रलाई प्रेसले घनले हानिरहेको आरोप लगाउँदै प्रेसकै कारण त्यो बच्चा मर्न सक्ने बताए। ´गणतन्त्र र संघीयता भर्खरै जन्मिएको बच्चाजस्तै हो। यसलाई तपाईं (सञ्चारकर्मी) हरुले घनले जसरी हानिरहनुभएको छ। त्यसरी हानेपछि त बच्चा मरिहाल्छ।´ उनले गणतन्त्र हुरीबतास सहन सक्ने नभइसकेको उल्लेख गर्दै त्यसलाई ध्यान दिई लेख्न प्रेसलाई सुझाव दिए।
´संविधान लेखन र शान्ति प्रक्रियामा समेत प्रेस नकारात्मक छ´
प्रधानमन्त्री दाहालले नेपाली प्रेस नयाँ संविधान लेखन र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने सवालमा समेत नकारात्मक रहेको आरोप लगाए। चारैतिरबाट सरकार ढाल्न आक्रमण भइरहेको छ, त्यसतर्फ प्रेस चनाखो नभएको उनले बताए।´प्रेस संविधान लेखन र शान्ति प्रक्रियाका सवालमा पनि अलिकति नकारात्मक दिशातिर गएको हो कि भन्ने भान भएको छ´ उनले भने- ´सरकार ढाल्न र संविधान लेख्न नदिने खेल भइरहेको छ। मेरै स्वकीय सचिव शक्ति बस्नेतमाथिको आक्रमण पनि त्यही श्रृंखलाअन्तर्गत भएको हो। संविधान लेखनमा सकारात्मक हुने हो भने मिडियाले ध्यान दिनुपर्‍यो।´प्रधानमन्त्रीले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई संकेत गर्दै कतिपय व्यक्तिले सरकार आँपजस्तै आफैं झर्ने कुरा गरिरहेको र त्यसो भन्नेहरु शान्ति प्रक्रियाप्रति कति जिम्मेवार छन् भन्ने कुरा बुझ्नुपर्ने बताए। ´परिवर्तन चाहनेका लागि यो सरकारभन्दा अर्को विकल्प छैन´ भन्दै उनले यदि कोइरालाले साँच्चै राष्ट्र स्वतन्त्र भएको देख्न र संविधान समयमै लेखियोस् भन्ने चाहन्छन् भने उनले वर्तमान सरकारलाई सहयोग गर्नुको विकल्प नरहेको बताए।
´ज्ञानेन्द्र भारतमा बिहेका लागिमात्र गएका होइनन्´
प्रधानमन्त्री दाहालले पूर्व राजा ज्ञानेन्द्र शाह भारतमा बिहेका लागिमात्र नभई राजनीतिक चलखेल गर्न गएको बताएका छन्। ´ज्ञानेन्द्र भारतमा बिहेका लागिमात्र गएका होइनन् भन्ने सुनेको छु। चलखेल छ भन्छन्´ उनले भने।

पूर्व राजाले बिजुलीको महसुल तिरेनन्

पूर्व राजपरिवार सदस्य र पूर्व राजदरबार भवनको जम्मा बक्यौता ६ करोड ९६ लाख रुपैयाँ
काठमाडौं फागुन १७
गणतन्त्र घोषणासँगै नागरिक बनेका पूर्व राजा ज्ञानेन्द्रले निर्मल निवासमा बिजुली प्रयोग गरेबापतको रकम तिरेका छैनन्। ज्ञानेन्द्रको व्यक्तिगत सम्पत्तिका रुपमा रहेको महाराजगन्जस्थित निर्मल निवासको माघ अन्तिमसम्मको बक्यौता ५९ लाख रुपैयाँ पुगेको छ। मासिकरुपमा विद्युत महसुलको बिल बुझाउँदा र त्यसका लागि ताकेता गर्दा पनि पूर्व राजाले महसुल नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवाका महाप्रबन्धक दीपकप्रसाद उपाध्यायले जनाएका छन्।
पछिल्लो समय उनी बसिरहेको नागार्जुन दरबारको विद्युत् महसुल कसले तिर्ने भन्नेबारे सरकारले स्पष्ट नगरेका कारण बिल भुक्तानीमा कठिनाइ भइरहेको प्राधिकरणको भनाइ छ। शाही वनबाहेक नागार्जुन दरबारको मात्रै विद्युत् महसुल ३५ लाख ६३ हजार रुपैयाँ छ। सरकारले गणतन्त्र घोषणा गरी नारायणहिटी राजदरबार खाली गरेलगत्तै पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन दरबारमा सारेको थियो। नागार्जुन दरबारको स्वामित्व संविधानसभाको घोषणाअनुसार सरकारको अधिनमा छ। प्राधिकरणका प्रवक्ता दण्डपाणि बस्याल भन्छन्- नागार्जुन दरबारमा खपत भएको विद्युत् महसुलको पैसा सरकारले तिर्ने हो कि पूर्व राजाले भन्ने अझै अन्योल छ। पूर्व राजासहित पूर्व राजपरिवारका सदस्यले प्राधिकरणलाई बुझाउनुपर्ने माघसम्मको बाँकी रकम १ करोड ५२ लाख ५९ हजार रुपैयाँ छ। पूर्व राजपरिवारका सदस्यहरुबाट चालू आर्थिक वर्षको माघसम्म २५ लाख ८८ हजार रुपैयाँ असुल भएको प्राधिकरण वितरण तथा ग्राहक सेवा विभागले जनाएको छ। विभागको वित्त तथा ग्राहक सेवाबाट प्राप्त जानकारीअनुसार माघसम्म शोभा राज्यलक्ष्मी प्रेक्षा राज्यलक्ष्मी हेलेन राज्यलक्ष्मी प्रेरणा राज्यलक्ष्मी पूजा र ज्योत्सना राज्यलक्ष्मीको नाममा रहेका भवनबाट भने विद्युत् महसुल प्राप्त हुन थालेको छ। पूर्वराजाको नाममा रहेको छाउनीस्थित एक बंगलाको भने माघ अन्तिमसम्ममा २९ हजार ९ सय ६२ रुपैयाँ प्राप्त भएको छ। हेलेनको नाममा रहेको भवनको गत माघसम्मको रकम चुक्ता भएको छ। त्यस्तै प्रेक्षाको नाममा रहेको दुईमध्ये एक भवनको पनि रकम चुक्ता भएको छ। पूर्व राजपरिवार सदस्य र पूर्व राजदरबार भवनको विद्युत् महसुलसम्बन्धी बक्यौता जोड्ने हो भने ६ करोड ९६ लाख रुपैयाँ हुन्छ। प्राधिकरणका कार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठले सरकारले बक्यौता चुक्ता गर्नेतर्फ कुनै पहल नगरेको गुनासो गरेका छन्।

प्राधिकरणको नियमअनुसार सर्वसाधारणले तीन महिनासम्म महसुल नतिरेमा उसको लाइन काटिन्छ। पूर्व राजदरबार भवनहरुको बक्यौता ५ करोड ५४ लाखसरकारीकरण गरिएका पूर्व राजदरबार भवनहरुको माघ अन्तिमसम्मको विद्युत् महसुल ६ करोड ९६ लाख रुपैयाँ पुगेको छ। गणतन्त्र घोषणाअघि पनि नेपाल सरकारले बेहोर्दै आएको ती राजदरबार भवनहरुको महसुल सरकारीकरणपछि पनि सरकारकै दायित्वअन्तर्गत पर्दछन्। यसमा सबैभन्दा बढी नारायणहिटी दरबारको ४ करोड ५७ लाख रुपैयाँ छ। नागार्जुन शाही वन नागार्जुन दरबार पोखरास्थित रत्न मन्दिर नारायणघाटको दियालो बंगला र हेटौंडाको रानी दरबार पनि पूर्व राजदरबार भवनहरु अन्तर्गत पर्दछन्।

Friday, February 27, 2009

जनता घुमे नारायणहिटी



काठमाडौं,
रामबहादुर बोहोरा बैतडी र होमबहादुर गुरुङ गोरखा पुग्नेवित्तिकै उत्पन्न समान संयोग। रामबहादुर वैतडीबाटै आएर राजधानीमा पढ्दै गरेका युवा र होमबहादुर गोरखाबाट राजधानीमा घरजम गर्ने नातेदारकहाँ आएका। दुबैले विहान पत्रिकामा पढे पूर्व राजाका दरवार हेर्न पाइने रे। दुवै निक्कै अचम्भित भए जब दुई घण्टा लाइनमा बसेर छिरेपछि त्यहाँ आआफ्नो जिल्ला पनि भेटे। रामबहादुर बैतडी नामक विदेशी राष्ट्राध्यक्षको शयनकक्षमा पुगेपछि भन्दै थिए ´ओहो मेरो जिल्ला हेर्दै शितल मलाई यहीं नुहाउँजस्तो लाग्यो।´ उनलाई त्यहाँको शौचालय देखेर लोभ लागेको रहेछ। होमबहादुर गोरखा वैठक पुगेपछि भन्दै थिए ´आवुई कस्तो सफा हो।´ उनको भनाई त्यहाँको सपाट सजावटतिर लक्षित थियो। उनले त्यहाँ राखिएको सूचना हेरेपछि थपे ´ए यो त हाम्रै जिल्ला पो रैछ।´नारायणहिटी दरबार गणतन्त्र स्थापनाको प्रतिफलस्वरुप संग्रहालयका रुपमा खुला भएको पहिलो दिन त्यहाँ जानेहरुले गरेको अनुभूति गजब थियो। विजय स्मारक स्कूल डिल्लिबजारकी कक्षा ८ मा पढ्ने बुनुले कास्की बैठक छिर्दाछिर्दै आफ्नो हुर्कंदो राजनीतिक चेतना दर्शाइन ´हिजो हामीलाई यतातिर मुन्टो उठाउन पनि संकोच लाग्थ्यो आज निर्धक्क घुम्न पाएका छौं। दिस मिन्स चेन्ज।´केही उरन्ठेउलाहरु राजाको शयनकक्ष धनकुटा पुगेपछि रेखदेखमा बसेका कर्मचारीलाई ´र् याक´ गर्न तम्सिए। ´सर राजाका बुढाबुढी सँगै सुत्दैनथे कि कसो! किन राजाको मात्र लेखेको´बानेश्वरकी जानुकादेवीको आफ्नै खाले धन्दा थियो। राजाले विदेशी राष्ट्राध्यक्षलाई दिने रात्रीभोज आयोजना हुने लम्जुङ बेन्क्वेट दॆखेपछि मन थाम्न सकिनन् ´हाम्रा घरका पनि भान्सा यो पनि भान्सा है।´ उनकी सँगीले प्वाक्क भनिहालिन ´रानी बन्ने तिम्रो भाग्य रहेनछ त!´ धनुषा बैठक पुग्नुअघिको लवीमा केही युवा पुराना सोफामाथि जिउ फालिरहेका छन्। त्यहाँ गफ चलिरहेको छ कुनै चिया पसलमा झैं। जुम्लाका महेन्द्र सिजुवाल निर्दोष टिपण्णी गर्छन् ´सोचेभन्दा फरक!´ कन्चनपुरका पुष्पराज जोशी उनको कुरा नाघ्छन् ´ए सर सोच्ने अबस्थै पहिले कहाँ थियो र !´ धादिङका निरन्जन रुपाखेती अलि पाको पल्टिन्छन् ´राजाले अकल्पनीय विलास गरेका रहेछन् भन्ने बुझ्नुपर्छ मित्रहरु।´कर्मचारी कान टाठो पारेर सुनिरहेकाछन्। अव त्यहाँ उनलाई समेत तानेर व्यंग चल्छ। ´ए सर त्यो सिराहा बन्द किन कसले हडताल गर् यो हँ।´ सिराहा संग्रहालयले प्रदर्शनमा नल्याएको ३३ कक्षमध्ये एक हो। कर्मचारी व्यंग बुझ्दैनन् र सोझो पाराले भन्छन् ´भाइहरु हतारमा हामीले यसलाई तयार पार्न भ्याएनौं।´ताप्लेजुङ फुङलिङका डालबहादुर गुरुङलाई अचेल अलैंची खेतीको उती टन्टा नभएकाले काठमाडौं आउँदा राजदरबार हेर्ने मौका जुरेको हो। पेन्सन खाने यी पूर्व शिक्षक आफ्नी श्रीमतीका साथ नारायणहिटी घुमिरहँदा कुनै संवददाताले झैं हरेक कक्षको विवरण टिपिरहेका थिए। ´यसलाई जस्ताको तस्तै राख्नुपर् यो। अरु त के!´ उनको वुजु्रक प्रतिकि्रया आउँछ। शुक्रबार मध्यान्हको यो नारायणहिटी मेलामा प्रशस्त विदेशीहरु सामेल भए। नयाँ दिल्ली भारतका विकास सेठलाई सबै कुरा राम्रो लाग्यो तर उनका आँखाले फर्निचरहरु फोहोर देख्यो। उनले पूर्व राजा ज्ञानेन्द्र भागेर अमेरिका गएको भन्ने हल्ला सुनेका रहेछन्। होइन ´करणको निम्तो मान्न तिम्रै देश गएका छन्´ भन्दा उनले आश्चर्य जनाए ´रिएल्ली! आई डोन्ट नो इट।´ त्रिभुवन सदन रहेको ठाउँमा पुगेपछि उनले दरबार हत्याकाण्डले आफू निकै मर्माहत भएको सुनाए। उनीछेवै रहेका एक गोराले संग्रहालयको संरक्षण प्रमुख चुनौती भएको राय दिँदै थिए। तीन बजिसकेको छ नारायणहिटी संग्रहालयका प्रमुख जयराम महर्जन हस्याङफस्याङ गर्दै दक्षिणी द्धारवरपर हििडंरहेका छन्। टिकट काउन्टर बन्द भएको छ भित्र जान पाउँ भन्दै वाहिर मानिसहरु नारावाजी गर्दैछन्। प्रहरीले जति धकमधक्का गर्दा पनि भिड सेलाएको छैन। लाइन जयनेपाल हलसम्म पुगेको छ। ´साहै्र गाह्रो पर् यो बा यत्रो भिड त टुँडिखेलको घोडेजात्राले पनि नथाम्ला´ उनी जनतालाई विस्तारै समय मिलाएर आउन आह्वान गर्नका लागि सन्चारमाध्यमलाई आग्रह गर्दै थिए। ´हामीलाई मन्त्रिपरिषदको निर्णयले नै ३ बजेको समय दिएको छ कसरी बढी समय खोल्ने!´ उनी भन्छन् ´सबैलाई छिराउन सकिदैन यो कुरा बुझिदिनुपर् यो।´ नारायणहिटी दरबारका प्यासेज साँघुरा छन्। त्यहाँको भव्य सजावटले आगन्तुकलाई उसै पनि अलमल्याउँछ। विधार्थीहरु छिर्दा झन् बढी समय लगाउँछन्। शुक्रबार ११ देखि ३ बजेसम्म लगातार आगन्तुकको ओहोरदोहोर हुँदा जम्मा १ हजार ७ सय ७५ बटा टिकट विक्री भएको देखियो। संग्रहालयले एकै समय धेरै मान्छे थाम्न नसक्नेबाहेक पहिलो दिन शुक्रबार नै अनपेक्षित समस्या आयो। दिउँसो १ बजेदेखि अचानक पौने घण्टा विद्युत आपुर्ति बन्द भयो। ´हामीलाई त अत्यास लाग्यो त्यस्तो अबस्थामा बहुमूल्य सामानमा नोक्सानी पुग्यो भने के गर्ने!´ महर्जनले भने। उनका अनुसार यसअघि नारायणहिटी कहिल्यै विद्युत आपुर्ति रोकिएको थिएन। ´यस्तो अबस्थामा श्रीपेच राखेर के गर्ने कसरी सुरक्षा दिने´ उनी भन्दै थिए। नारायणहिटी घुम्ने प्रबन्धसंग्रहालय सार्वजनिक विदाका दिनका साथै हरेक मंगलबार र बुधबार बन्द हुन्छ। महर्जनका अनुसार सरसफाईका लागि दुई दिन अतिरिक्त विदा गरिएको हो।शुल्क नेपालीका लागि सय, विधार्थीलाई २० मात्र, चीन र सार्क राष्ट्रका पर्यटकलाई २ सय ५० रुपियाँ र अन्य देशका नागरिकलाई ५ सय रुपियाँ निर्धारण गरिएको छ। तीन वर्ष कमका बालबालिकालाई प्रवेश निशुल्क छ। संग्रहालयभित्र फोटो खिच्न पाईदैन।

सरकारद्वारा १३ हजार कर्मचारीलाई स्वेच्छिक अवकास दिने निर्णय

सात हजारलाई सहिद घोषणा
कृषि तथा वन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय खोल्ने निर्णय
बेपत्ता आयोग सिफारिस समिति गठन
द्वन्द्वकालमा जागिर छाडेका सुरक्षाकर्मीको समस्या पहिचान गर्न कार्यदल गठन
समावेशी अध्यादेश कार्यान्वयन गठन गर्न मन्त्रालयहरुलाई निर्देशन
उपत्यकाको यातायात व्यवस्थित गर्न तीन महाशाखा खोलिने

काठमाडौं, फागुन १६

- सरकारले स्वतः बढुवा भएका १३ हजार निजामती कर्मचारीलाई लक्ष्यित गरी स्वेच्छिक अवकासको नीति ल्याएको छ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले स्वतः बढुवा भएकामध्ये ५० वर्ष उमेर र २० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई स्वेच्छिक अवकासको अवसर दिने निर्णय गरेको हो। सरकारी स्रोतका अनुसार स्वेच्छिक अवकास लिने कर्मचारीहरुलाई सरकारले सात वर्षको पेन्सनबराबरको रकम एकमुष्ठ सुविधा दिने भएको छ। स्वतः बढुवा भएकामध्ये ५ हजार कर्मचारीले उक्त नीतिअन्तर्गत स्वेच्छिक अवकास लिने र त्यसका लागि १ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने सरकारी अनुमान छ। लोकतन्त्र बहालीपछि सरकारले कर्मचारीको दबाबमा निजामती ऐन संशोधन गरी माथिल्लो ओहदाका लागि योग्यता पुगेकालाई १२ वर्ष सेवा गरेका र त्यस्तो योग्यता नुपगेका कर्मचारीलाई भने १५ वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई स्वतः बढुवा हुने प्रावधान राखेको थियो। त्यो प्रावधानअन्तर्गत निजामती सेवाका सहायकदेखि उपसचिव तहसम्मका १३ हजार कर्मचारीले स्वतः बढुवा पाएका थिए। ती कर्मचारीले आफूहरुले बढुवा पाएको तहअनुसारको काम नपाएको भन्दै रोष प्रकट गर्दै आएका छन्।
सात हजारलाई सहिद घोषणा
सरकारले दसवर्षे जनयुद्ध, जनआन्दोलन-०६२/६३ र मधेश आन्दोलनमा मारिएका करिब ७ हजार जनालाई सहिद घोषणा गरेको छ। जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनमा अरु व्यक्ति पनि मारिएको प्रमाण आएमा सरकारले तिनलाई पनि सहिद घोषणा गर्ने जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले दिए।
घोषितमध्ये अधिकांश सहिद जनयुद्धमा मारिएका व्यक्ति छन्। महराका अनुसार सरकारले जनयुद्धमा मारिएका व्यक्तिलाई ´जनयुद्धका सहिद´, लोकतान्त्रिक जनआन्दोलनमा मारिएका व्यक्तिलाई ´लोकतान्त्रिक सहिद´ र मधेश आन्दोलनमा मारिएका व्यक्तिका परिवारलाई ´मधेश आन्दोलनका सहिद´ को स‍ंज्ञा दिएको छ।थप दुई विश्वविद्यालय खोल्ने निर्णय सरकारले थप दुई विश्वविद्यालय खोल्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले कृषि तथा वन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय खोल्ने निर्णय गरेको हो। कृषि तथा वन विश्वविद्यालय चितवनस्थित रामपुर कृषि क्याम्पस खोलिनेछ भने मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा राखिनेछ। यी दुई विश्वविद्यालय थपिएपछि नेपालमा विश्वविद्यालयको संख्या ७ वटा पुग्नेछ। हाल त्रिभुवन, संस्कृति, काठमाडौं युनिभर्सिटी, पूर्वाञ्चल र पोखरा विश्वविद्यालय सञ्चालनमा छन्। सरकारले खुला विश्वविद्यालय खोल्न शिक्षा मन्त्रालयलाई त्यससम्बन्धी विधेयक बनाएर ल्याउन निर्देशन दिएको छ।
बेपत्ता आयोग सिफारिस समिति गठन
सरकारले बेपत्ता नागरिकहरुको खोजविन गर्न गठन गरिने आयोगमा रहने व्यक्तिहरुको सिफारिस गर्न संसदको मानव अधिकार समितिका सभापति पद्मलाल विश्वकर्माको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। समितिका दुई सदस्य तोक्न बाँकी अध्यादेशमा समितिको सिफारिसमा बेपत्ता आयोग गठन गर्ने व्यवस्था छ।
द्वन्द्वकालमा जागिर छाडेका सुरक्षाकर्मीको समस्या पहिचान गर्न कार्यदल गठन
सरकारले सशस्त्र द्वन्द्वकालमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट जागिर छाडेका पूर्व सुरक्षाकर्मीहरुको समस्या पहिचान गरी समाधानका उपाय सिफारिस गर्न विशेष अध्ययन कार्यदल गठन गरेको छ। कार्यदलमा गृह, अर्थ र शान्ति मन्त्रालयका सहसचिवलाई राखिएको छ। द्वन्द्वकालमा जागिर छाडेका पूर्व सुरक्षाकर्मीहरुले संघर्ष समिति गठन गरी जागिर पुन:स्थापनाको माग गर्दै आन्दोलन गर्दै आएका छन्।
समावेशी अध्यादेश कार्यान्वयन गर्न मन्त्रालयहरुलाई निर्देशन
सबै सरकारी सेवालाई समावेशी बनाउन ल्याइएको अध्यादेश नियमावली बनाएर कार्यान्वयन गर्न सबै मन्त्रालयलाई निर्देशन दिएको छ। सरकारले मन्त्रालयहरुलाई मातहतका समिति र संस्थानमा समेत नियमावली बनाएर समावेशी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।
सरकारले विभिन्न आयोग र कार्यदलले दिएका सुझाव, प्रतिवेदन र सिफारिस नियमावली बनाएर कार्यान्वयन गर्नसमेत मन्त्रालयहरुलाई निर्देश गरेको छ। सरकारद्वारा गठित प्रशासनिक पुनर्संरचना आयोगले मन्त्रिपरिषद्लाई शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको छ।
सरकारले सबै सरकारी सेवालाई समावेशी बनाउन अध्यादेश ल्याएको छ। अध्यादेशमा नयाँ पदपूर्ति हुने सरकारी सेवाका ४५ प्रतिशत सिटमा महिला, दलित, आदिबासी जनजाति, मधेशी, पिछडिएको क्षेत्र र अपांगलाई आरक्षणको व्यवस्था गरेको छ। बाँकी ५५ प्रतिशत सिटमा मात्र सबैले खुल्ला प्रतिस्पर्धा गर्न पाउनेछन्। सुरक्षा निकायमा मात्र अपांगलाई आरक्षण दिइएको छैन।
उपत्यकाको यातायात व्यवस्थित गर्न तीन महाशाखा खोलिने
सरकारले राजधानीको यातायातलाई व्यवस्थित गर्न यातायात व्यवस्था मन्त्रालयअन्तर्गत तीनवटा महाशाखा खोल्ने भएको छ। मन्त्रिपरिषद्ले यातायात मन्त्रालय मातहतमा सवारी चालक अनुमतिपत्र हेर्ने महाशाखा, मोटरसाइकलमात्र हेर्ने महाशाखा र अरु साना-ठूला साधन व्यवस्थापन गर्ने महाशाखा खोल्ने निर्णय गरेको हो। उपत्यकाको अव्यवस्थित हुँदै गएको यातायातलाई व्यवस्थित गर्न यी महाशाखा तत्काल खोलिनेछन्।