Sunday, May 17, 2009

मैले चिनेका माधव नेपाल



हरि रोका 2009-05-16,Saturday
माधवकुमार नेपाल सानो परिवार, सुखी परिवारमा विश्वास राख्ने अत्यन्त सरल देखिने, तर जटिल व्यक्तित्व हुनुहुन्छ । नेपाली, भोजपुरी, हिन्दी भाषामा पारखी नेपाल अंग्रेजी भाषामा राम्रै दख्खल राख्नुहुन्छ । एमालेभित्र सर्वाधिक सक्रिय नेता नेपालको राजनीतिक स्थिरता र अस्थिरताबारे कुरा गर्दा भने मलाई उहाँको जुँगाको 'कट' सम्झना हुन्छ । उहाँ कहिले जुँगालाई स्टालिन पारामा मुठार्नुहुन्छ, कहिले माथिल्ला ओठका दुई छेउ सिनित्त पारेर बीचमा एउटा फुल्को छोडिदिनुहुन्छ । कहिले ओठमाथिको बोझ हलुका पार्न सिनित्तै पारेर रातो माटोले पोतेको घरको पेटीजस्तो सफा देखिन्छ । हप्ताका सात दिनमा कुनचाहिँ दिन उहाँका जुँगा कुन साइजमा रहेका होलान् भनेर सितिमिती कसैले अड्कल काट्न सक्तैन । नेपाल आफ्ना अस्थिर जुँगाका साइजजस्तै राजनीतिक कार्यनीति पनि अल्प अवधिमै फेरिरहनुहुन्छ ।
नेपाली राजनीतिमा उहाँ सर्वाधिक सक्रिय व्यक्तित्व हुनुहुन्छ भन्ने कुरामा शंका छैन । हामी सबै, नेपाली समय भनेर डेढ-दुई घन्टा जसलाई, त्यसलाई कुराइदिन्छौँ र आफू पनि कुर्छौं । नेपाल समयको पक्का हुनुहुन्छ, घन्टा त कुरै नगरौँ, एक मिनेट पनि आफूलाई तलमाथि पार्नुहुन्न । उहाँलाई भेट्न घन्टौँ कुर्नुपर्दैन । समय लिन र छलफल गर्न मन लाग्दा उहाँलाई सजिलै प्राप्त गर्न सकिन्छ । उहाँ भाउ खोज्नुहुन्न । र, उहाँ साँच्चिकै मुडमा हुनुहुँदो रहेछ भने घन्टौँ कुरा सुन्न र सुनाउन सकिन्छ । त्यति मात्र होइन, उहाँलाई कोही व्यक्तिमाथि रिस उठेको छ भने फोन गरेर बोलाउने र सामुन्ने राखेर धित मरुन्जेल सीधा-सीधा झाँको झार्ने र पछि अलि धेर पो भो कि भन्ने लागेपछि आइन्दा त्यसो नगर्नुहोला, आउँदै गर्नुहोला भनेर पठाउनुहुन्छ । 'सादा जीवन, उच्च विचार' माधव नेपालको जीवनमा कति मात्रामा पाइएला भन्नेबारे नाप-जाँच त्यत्ति धेरै भएजस्तो लाग्दैन । उहाँ कुनै प्रकारको नसा सेवन गर्नुहुन्न । र, अरूले गरेको पनि मन पराउनुहुन्न । साधारण पहिरन, आफूले गर्नुपर्ने कार्य आफैँले गर्ने र परनिर्भर नहुने सादा जीवनभित्र पर्ने कुरा हुन् । जहाँसम्म उच्च विचारको प्रश्न छ, त्यहाँ प्रशस्त शंका गर्ने ठाउँ छन् । शंकाका अनेकन् सम्झनाबीच घोत्लिँदा एउटा प्रसंग अहिल्यै घटेजस्तो लाग्छ ।
न न्यूनतम साझा कार्यक्रम छ, न राष्ट्रपतिको कदमबारे कुनै सोच छ, न माओवादी विपक्षमा बस्दा हुने कठिनाइको आँकलन । कामरेडलाई कुनै चिन्ता छैन ।कुनै एउटा साप्ताहिक पत्रिकामा ब्यानर न्युज र सम्पादकीय लेखी सिध्याएपछि गरिने कर्म अर्थात् ज्यान छाडेर लोकल ब्रान्डको रक्सी पिएर म भर्खर डेरा पुगेको थिएँ । खानासानाको केही जोहो नभएकाले ओछ्यानको शरण लिनुको कुनै विकल्प थिएन । एक्कासि फोनको घन्टी बज्यो । रातको त्यस्तै साढे एघार बजेको थियो । मैले लक्पकाएको स्वरमा 'हलो' भनेँ । उतापट्टिको स्वर कामरेड महासचिव अर्थात् माधव नेपालको थियो । अलि होसियार हुने चेष्टा गर्दै मैले 'आदेश पाऊँ' भनेँ । 'बिहान सातै बजे निवासमा आउनू' भन्ने उर्दी गर्नुभयो । मैले 'हवस्' भनेँ । उहाँको स्वरले मेरो आधा नसा त्यसै सिद्धियो । बिहानै उठेँ । नुहाइ-धुवाइ सकेर दौडेर थापागाउँबाट कोटेश्वर पुगँ । पुग्दा मअगाडि नै कामरेड ऋषिराज लुम्साली पुगिसक्नुभएको रहेछ । हामीलाई त्यहाँ मृत भइसकेको श्री सगरमाथा र एभरेस्ट हेराल्ड नामक पत्रिकाको दाहसंस्कार कसरी गर्ने भन्नेबारेमा सुझाव लिनका लागि बोलाइएको रहेछ । म त्यसवेला एमाले प्रचार विभागमा होलटाइमर सदस्यका रूपमा क्रियाशील थिएँ । मिटिङ सकियो । लुम्सालीजी हिँड्नुभयो । मैले पनि उठेर हात जोडेँ । बिदा पाउन । उहाँले सोध्नुभयो, 'तपाईं पार्टी कार्यालय जाने होइन ?' 'हो' । मैले संक्षिप्तमा भनेँ । उहाँले 'तपाईं पर्खनुस्, म खाना खाएर आउँछु' भन्नुभो र भर्‍याङ चढ्नुभो । म भोकले हिरिक्क भएको थिएँ । बेलुकादेखिको भोकै । कामरेडको पातलो कालो चियाले अझ भोक उमारिरहेको थियो । आँत हरहर भइरहेको थियो । रिस पनि उठिरहेको थियो । तर, आफ्नो कालो अनुहारमा रगत नदेखिने भएकाले होला शान्त तलाउजस्तै हलचल नगरी क्यान्टिनको भातको सम्झना गर्दै पर्खिबसेँ ।
झन्डै साडे १० बजे ड्राइभर सिटमा कामरेड आफैँ बस्नुभो र म छेउमा । कोटेश्वरको बालकुमारी जोड्ने पुल तर्न नपाउँदै उहाँले मतिर हेर्नुभो र बज्रसमान प्रश्न कर्कश स्वरमा तेस्र्याउनुभो । 'खुब रक्सी पिइन्छ रे नि ?' छिनमै विचार गरँ । पिउँदिनँ भन्यो भने कामरेडले साक्षीसमेत राखेर फलाना ठाउँ, ढिस्काना ठाउँमा फलाना-फलाना पत्रकारहरूसँग पिएको प्रमाण पेस गर्लान् । त्यस्तो हुने सम्भावना शतप्रतिशत थियो । त्यसैले नढाँट्ने विचार गरेँ र भनेँ, 'पिउँछु' । उहाँले च्याँठ्ठिएर सोध्नुभो, 'नपिउँदा मरिन्छ ?' मलाई यो उदेकको प्रश्नले रिस उठ्यो । मैले पनि प्याट्टै भनिदिएँ, 'नपिउनेहरू अजम्बरी भएको देखेको छैनँ,' । मलाई लागेको थियो, अब कामरेडले गाडी रोकेर ओर्लिहाल् भन्लान् । तर, त्यसो भएन । सातदोबाटो पुग्दा-नपुग्दै उनले एकजना सम्पादकको नामै लिएर 'त्यसले मेरो कुरा काटिरहन्छ रे हो ?' भनेर सोधे । मैले सोचेँ, आफ्नो मानो खाएर अर्काको के कुरा गर्नू ? संक्षिप्तमा भनेँ, 'तपाईंको कार्यकर्ता हो, उसैलाई बोलाएर सोध्नुस् न ।' कुराको बिट मर्‍यो । बल्खु पुलपारि पुगेर कामरेडले गाडीमा तेल हालेर बिल लिनुभो । बल्खु दरबार पुगेपछि म हतार-हतार भात खाएर सुसेधन्दातिर लागेँ । कामरेड आफ्नै काममा । उहाँको यो आफ्नै खाले संवाद गर्ने तरिका र सादगीबाट मैले आफूलाई कहीँ प्रभाव पर्ने ठाउँ भेटिनँ ।राजनीतिक विचारधारामा उहाँको निकटस्थता र आस्थाका बारेमा झन् थुप्रै विरोधाभाष थिए र छन् । एउटा प्रसंग उहाँको चीन-भ्रमणसँग सम्बन्धित छ । १०-११ दिनको भ्रमण सकेर फर्केलगत्तै मलाई उहाँले घर बोलाउनुभयो । र, एउटा पुस्तक चिनियाँ सांगठनिक नेता चेन यीले लेखेको (अहिले नाम परिवर्तन गरेर झेन झी भनिँदा हुन्) को सांगठानिक सिद्धान्तको ठेली थमाउँदै भन्नुभो, 'लौ यसको अनुवाद गर्नुपर्‍यो र आगामी नवयुगको अंकमा छाप्नुपर्‍यो ।' नाइँ हुन्न, असान्दर्भिक भन्ने परिस्थिति नै थिएन । चीन घुमेपछि उहाँ अत्यन्तै प्रभावित देखिनुहुन्थ्यो । त्यसैले म चुपचाप बाटो लागेँ ।बाटाभरि मेरो आफैँभित्र कुरा खेलिरहेँ । कामरेड महासचिव पार्टीको वैचारिक नेता जो पुराना महासचिवको बहुदलीय जनवादको अजंगको भारी काँधमा हालेर सकीनसकी बोकिरहेका छन् । त्यस जनवादको शिरदेखि पाउसम्म वेस्ट मिन्सटर मोडलको संसदीय प्रणालीभन्दा बान्कीमा केही फरक देखिन्न । त्यसको सांगठनिक ढाँचा, स्वरूप र सञ्चालनचाहिँ चेन यीको अत्यन्त केन्द्रीकृत जनवादी केन्द्रीयताको ढाँचामा सञ्चालन गर्ने सोच । मैले झट्ट हाम्रा वा हजुरबाहरूको पालाको उखान सम्झिएँ, 'खाँडीको टोपीमा गुयँलाको फूल' । उल्था गरी सक्दानसक्दै कामरेड अर्कै देशको लामो भ्रमणमा निस्किनु भो । कामरेड प्रदीप नेपालको त्यसको सट्टा ठूला नेपालको विरुद्धमा 'महासचिवको अराजनीतिक, अदार्शनिक सोच र त्यसले पार्टीलाई पारेको प्रभावबारे' शीर्षकमा लामो लेख नवयुगमा छापियो । चेन यीको त्यो सांगठनिक काव्यको उल्था आज पनि मेरो दराजको एउटा कुनामा आँसु बगाउँदै थन्किएको छ । उहाँ आएपछि कुरा अन्तै मोडिइसकेको थियो । आत्मिक नेतृत्व उठाएर उहाँलाई महासचिव पदबाट तत्काल बर्खास्त गर्ने तम्तयारी भइरहेको थियो । जनकपुरको राष्ट्रिय परिषद्को बैठकमा त्यसको छनक पाएपछि कामरेडले रथानबथान मिलाएर बहुमतसिद्ध गर्दै आफूलाई सातिर खेलाडीका रूपमा प्रस्तुत गर्न भ्याउनुभो । त्यसपछि पार्टीमा नयाँ गठबन्धनको थालनी हुन पुग्यो ।यान्त्रिकता तथा व्यावहारिकता कुनै वाद होइन । न त त्यस्तो व्यावहारिकताले समस्याहरूको दीर्घकालीन समाधान निकाल्नमा मद्दत पुर्‍याउँछ । सोझो, चोखो र आदर्श देखाउने लोभले गर्दा राजनीतिको रातमाटे बाटोमा उहाँ धेरैपटक चिप्लिनुभो । एकपटक प्रतिपक्षको नेता भएका बखत, एउटा चर्चित साप्ताहिकले उहाँका बारेमा खबर छाप्यो । खबरको विवरणको सार, प्रतिपक्ष नेताको हैसियतले संसद्बाट सबै तलब सुविधा लिन्छन्, तर त्यसअनुसार मानिस राखेका छैनन् भन्ने थियो । माथिल्लो तलाबाट एकाएक इन्टरकमको घन्टी बज्यो । कुनै बुधबार छापिएको त्यो अखबार कामरेडले सम्भवत भुक-भुके उज्यालोमै पढिसकेको हुनुपर्छ । मलाई 'अखबार पढ्नुभो ?' भनेर सोध्नुभयो । 'पढेँ' मैले जवाफ दिएँ । 'कडा खण्डन छाप्नुपर्‍यो,' आदेश बज्रियो । 'तपाईंको स्वकीय सचिवलाई म कहाँ पठाइदिनुस,' मैले भनेँ । यादवजी (यादव शर्मा) मकहाँ आउनुभो ।मैले सोधेँ, '६ जना सहयोगी स्टाफ पाउनुहुने रहेछ होइन कामरेडले,' उनले 'हो' मा जवाफ दिए । दुईजना डाइभर हो ? हो । नाम एकजनाको आयो, अर्कोको थिएन । एकजना परिचर, नाम छैन । एकजना सेक्सन अफिसर नाम छैन । एकजना उपसचिवसरह एक आफन्तको नाम प्राप्त भो । ६ जनाको स्टाफमा दुईजना मात्र रहेछन् । पैसा ६ जनाकै लिइएको रहेछ । मैले सोधँ यादवजीलाई, 'कामरेड, अब खण्डन केको गर्ने त ?' उनी अक्कबक्क भए । मैले भनेँ, 'पार्टीमा यत्तिका धेरै कार्यकर्ता छन् रोजगारी पनि हुन्थ्यो । सेवा पनि हुन्थ्यो ।' कामरेड यादवले महासचिवलाई खण्डन हुन नसक्ने बेहोरा दिएपछि कारण देखाऊका लागि फेरि फोन आयो । मैले भनेँ, 'कामरेड सत्य कुराको खण्डन हुन सक्दैन । मान्छे भर्ती गर्नुस् त्यसपछि त्यो स्वतः खण्डन हुन्छ ।' मदेखि कामरेड आगो हुनु स्वाभाविक थियो । धेरैपछि मैले त्यसको राम्रै दण्ड भोगेँ, कार्यालयबाट निष्कासन । पछि मेरो अनुपस्थितिमा एकजना कामरेडले खण्डन पठाएछन्, उनले त्यसको पुरस्कार पनि गतिलै भेट्टाए ।एमालेको जिन्दगीमा महाकाली सन्धि नामको एउटा भँचालो आयो । आठ हजार ६ सय मेघावाट बिजुली उत्पादन हुने भनिएको पञ्चेश्वर बाँधमा कामरेड माधव नेपालको घोर समर्थन हुन पुग्यो । रातारात पार्टी समर्थन र विरोधमा दुई कित्तामा बाँडियो । कामरेडले सन्धिपक्षको नेतृत्वको कमान्ड सम्हाल्नुभो । टनकपुर भ्रमण गरेर कञ्चनपुर आएका माहासचिवले स्याटलाइटबाट चीनमा बिजुली सप्लाई गर्ने अनौठो वैज्ञानिक उपायको घोषणा गर्दै कामरेड ओलीको एक खर्ब २० अर्ब रुपैयाँको वाषिर्क आम्दानी हुने सम्भावनालाई पुष्टि गरिदिनुभो । केन्द्रीय कमिटीमा बहुमत जुटाउन धेरैलाई जुठ्याइयो । मध्यरातमा कामरेडको बहुमत पुग्यो र सन्धि अनुमोदन भयो । राष्ट्रले हार्‍यो र उहाँहरूले जित्नुभयो । यो जित उहाँको जीवनको सबैभन्दा ठूलो जित थियो भन्दा हुन्छ ।माक्र्सवाद-लेनिनवाद, माओ विचारधारा हुँदै बहुदलीय जनवादसम्मको लामो यात्रामा कामरेड नेपालको सुझबुझ छिपछिपे मात्र भएकालाई सबैले बुझेकै हुनुपर्छ । त्यसैले प्राडो-पजेरो कान्ड हुँदै लोकेन्द्रबहादुर चन्दलाई काँधमा बोक्ने कार्यदेखि लिएर महाकाली सन्धि हुँदै ज्ञानेन्द्रको दरबारमा प्रधानमन्त्री पदका लागि दरखास्त हालिरहँदा उहाँले ती 'वाद'ले के भनिरहेका छन् भनेर पछाडि फर्केर हेर्ने जमर्को गर्नुभएन । पार्टीर्लाई एकनासले नेतृत्व गरिरहँदा उहाँको यात्रा, मोहोर राखेर ढोग्नेदेखि प्रतिगमन आधा सच्चिएको निक्र्योल काट्दै कामरेड भरतमोहन अधिकारीलाई देउवाका साथमा सत्ताको भर्‍याङ चढाएर ज्ञानेन्द्रको सत्तामा चार चाँद थप्न पुग्नुभो । यस्ता अभियानले गर्दा पार्टीको भित्तामा रंगिएको थोर बहुत क्रान्तिको जलप यसिड खन्याएर नांगो बनाइदिने अभियानमा लिप्त हुनुभो । त्यत्ति विधि आत्मसमर्पण गर्दा पनि माघ १९ पछि उहाँलाई ज्ञानेन्द्रले घरमै नजरबन्द गरिदिए । त्यसपछि कामरेड नेपाल पार्टीभित्र मात्र होइन बाहिर आमजनताका माझमा पनि क्रमिक रूपमा ओरालिनुभो । काठमाडौं र रौतहटबाट नराम्ररी चिप्लिएपछि उहाँले सन्न्यास लिनुहुनेछ भन्ने धेरैले आस गरेका थिए । तर, उहाँले यात्रा जारी राख्नुभो । राष्ट्रपतिमा ड्याङ खाए पनि हिम्मत हार्नुभएन । बूढा माड्साबलाई ओरालेर उहाँ संवैधानिक समितिको अध्यक्षको यात्रामा हिजोसम्म हुनुहुन्छ । आजदेखि के हुने उहाँलाई पनि थाहा छैन ।कामरेड नेपालको यात्रा जारी छ । यतिवेला उहाँको यात्रा प्रधानमन्त्रीको कुर्सी प्राप्तिको ध्येयसँग गाँसिएको छ । यसवेला गिरिजाबाबुले कसिलो धाप दिएका छन् । त्यो पनि दुई हातले । 'आगे बढो माधप बाबु' आप भारतीय मूलके हे' भन्दै भारतीय अखबारहरूले साउथ ब्लकको इसारामा ताल दिइरहेका छन् । कटवाल बाका केही पमप्लेटरूपी अखबारहरूले उहाँका निमित्त ३०१ को जबर्जस्त संख्या अस्तिकै दिन जम्मा गरिदिएका छन् । त्यसैले उहाँ सँदाभन्दा धेरै हतारमा हुनुहुन्छ । कम्तीमा पाँच मिनेट भए पनि उहाँलाई त्यस अभागी कुर्सीमा बस्ने लालसा यसपटक पूरा हुन्छ कि भन्ने आश छ । एउटा रेकर्ड राख्ने लालसा । यस दौडमा पनि उहाँले सबै माथि उल्लेखित 'वादहरू'लाई पार्टीभित्र झन्डै आलंकारिक हुन पुगेका अध्यक्ष पदमा आसिन कामरेड खनाललाई जिम्मा लगाउनुभएको भान हुन्छ । भोक, निद्रा, बेचैनीबीच गुजि्ररहँदा पनि उहाँले एक-एक भोट सञ्चितिका लागि कमेजको फेर थाप्दै पार्टी नेताहरूका चाकरीमा अहोरात्र खटिरहनुभएको छ । न नीति छ, न न्यूनतम साझा कार्यक्रम, न मुलुकलाई यसरी सञ्चालन गर्छु भन्ने कुनै निश्चित खाका नै कामरेडले प्रस्तुत गर्नुभएको छ । न राष्ट्रपतिको कदमका बारेमा केही सोच छ, न कटवालको निरन्तरताका बारेमा कुनै भनाइ । न माओवादी विपक्षमा बस्दा हुने कठिनाइको बारेमा कुनै आँकलन । न त कांग्रेसको काँध थप-थपाइको पछाडिको गुड रहस्यको कुनै चिन्ता । न त भारतीयहरूले प्रधानमन्त्री बनाएवापत के लिन खोज्ने छन् भन्ने संसय । मधेसी दलहरूको उहाँलाई हुने समर्थनका पछाडिको छिड्के दाउको रहस्य । कामरेडलाई कुनै चिन्ता छैन । न त दीर्धघालीन शान्तिको योजना छ । न त संविधान निर्माणसँगै राज्यको आर्थिक-सामाजिक रूपान्तरणको चिन्ता । कामरेडको प्रधानमन्त्रीको कुर्सीसम्म पुग्ने यात्रा निरन्तर जारी छ । नयाँ खेलाडी फोरम अध्यक्ष उपेन्द्र यादवले उनको यात्रामा बाधा नपुर्‍याउन र उहाँको यात्रा कहीँ नपुग्ने यात्रामा तब्दिल नहोस् । कामरेडको यात्रालाई हार्दिक शुभकामना ।

प्रधानसेनापति मै हुँ


प्रधानसेनापति मै हुँ
कृष्णज्वाला देवकोटा/नयाँ पत्रिका

२ जेठ 2009-05-17,Sunday
मन्त्रिपरिषद्द्वारा कामु प्रधानसेनापति नियुक्त कुलबहादुर खड्काले आफू अहिले पनि सोही पदमा बहाल रहेको दाबी गरेका छन् । आफूलाई नियुक्ति-पत्र दिने मन्त्रिपरिषद् र रक्षा मन्त्रालयले अहिलेसम्म त्यसविपरीत कुनै पत्र नपठाएकोले आफ्नो नियुक्ति खारेज नभएको उनको जिकिर छ । नेपाल सरकारको निर्णय खारेज गर्न परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएकोले आफू अहिले पनि प्रधानसेनापति रहेको दाबी उनले गरे । नयाँ पत्रिकालाई शनिबार साँझ विशेष अन्तर्वार्ता दिँदै उनले भने, 'सरकारलाई अदालतले अन्तरिम आदेश दिएको छैन, कारण देखाऊ आदेश मात्र दिएको छ,' उनले भने, 'यसरी मैले कामु प्रधानसेनापतिको जिम्मेवारी पाउने मन्त्रिपरिषद्को निर्णय सर्वोच्चले समेत मानेको छ ।'तपाईं अहिले कुन पदमा हुनुहुन्छ ? मलाई नेपाल सरकारले कायममुकायम सेनापतिको पत्र वैशाख २० गते दिएको छ, तर मैले प्रधानसेनापतिको काम गरिरहेको छैन । तत्कालीन सेनापतिलाई कारबाही गरी मलाई कायममुकायम मुकर्रर गरिएको विषयलाई लिएर निषेधाज्ञा (जारी) गरियोस् भनी सर्वोच्च अदालतमा दिइएको रिटमा समेत हाल निषेधाज्ञा गर्नु नपर्ने भनी कारण देखाऊ आदेश नेपाल सरकारलाई दिइएको अवस्थामा मेरो कामु प्रधानसेनापतिको पद मन्त्रिपरिषद्का साथै सर्वोच्च अदालतले समेत मानेको प्रस्ट छ । भनेपछि, कानुनी हिसाबले तपाईं कामु सेनापति हो ? हो, नेपाल सरकारले गरेको निर्णयबाट प्रधानसेनापति पद खाली हुन आएको अवस्थामा म नेपाली सेनाको दोस्रो बरियताको वरिष्ठ रथी भएको नाताले प्रक्रियागत रूपमा कायमुकायम मुकर्रर गरिएको हो ।
भोलि जो कमान्डर वा प्रमुख भए पनि नेपाली सेना एक रही देश र जनताको सेवामा दत्तचित्त रहनेछ, रहिरहेछअफिस गइरहनुभएको छ ? एकदम । एकदम नियमित रूपमा । तपाईंको नयाँ कार्यकक्ष छ ? मेरो पुरानो बलाध्यक्षको कार्यकक्ष छ । अहिलेसम्म त्यसलाई प्रयोग गर्दै आएको छु । तपाइंले कामु सेनापतिका रूपमा कार्यसम्पादन त गर्नुभएको छैन नि, होइन ? सुरु (वैशाख २०) को दिनमा मैले उच्च रथीवृन्दहरू (पिएसओज) लाई नियुक्तिबारे जानकारी गराई छोटकरीमा कसरी अगाडि बढ्ने भन्ने धारणा प्रस्तुत गरेको थिएँ । मैले कार्यभार बुझ्नुभन्दा पहिले नै महामहिम राष्ट्रपतिबाट पुरानो सेनापतिलाई नै व्यक्तिगत पत्रमार्फत सुचारु रहन आदेश आएपछि मैले कार्यभार सम्हाल्न पाइनँ । सो पत्रमा र अन्य कुनै पत्रमार्फत न त मन्त्रिपरिषद्को न त रक्षा मन्त्रालयको पत्रबाट मेरो नियुक्ति बदर भएको छ । तर, कार्यसम्पादन त रुक्मांगत कटवालबाट भइरहेका छन् । उनी उद्घाटन गरिरहेका छन् र तपाईं अनुपस्थित भइरहेको अवस्था छ ...हुन त राष्ट्रपति महोदयबाट आएको पत्रबारे पनि सर्वोच्च अदालतमा रिट परेको छ । र, नेपाल सरकारले गरेको निर्णय पनि अदालतमै विचाराधीन रहेको छ । त्यसैले (यो) राष्ट्रपति, नेपाल सरकार र न्यायालयबीचको त्रिपक्षीय चासो र संवैधानिक समस्या हो जस्तो लाग्छ । त्यसैले मेरो व्यक्तिगत धारणाले केही अर्थ लाग्छ जस्तो लाग्दैन, उहाँले काम गर्न ठीक हो कि होइन भन्नेबारेमा ।तपाईंलाई कायममुकायम बनाएपछि संगठनको प्रतिक्रिया के रह्यो ? सेना अनुशासित, पेसागत संगठन हो । यसमा कमान्डर को हुनुपर्छ भनेर -भन्ने गरी) तलको निकायको कुनै राजनीतिक संगठनजस्तो एक गुट र अर्को गुट भन्ने हुँदैन । प्रक्रियागत रूपमा त्यही संगठनको सुरुको दर्जाबाट सेवा गर्दै आएको व्यक्ति संगठनप्रमुख हुँदा कुनै समस्या हुनुपर्ने कारणै के छ ? अहिले म पनि यसै प्रक्रियाअनुसार दोस्रो बरियताक्रमको हिसाबले कायममुकायम भएको हुँ । त्यसैले यो र त्यो भन्ने प्रतिक्रिया आउने कुरै भएन । र, यसमा म के भन्न चाहन्छु भने सेनामा विभाजनको जुन हल्ला छ, त्यो गलत हो । भोलि जो कमान्डर वा प्रमुख भए पनि नेपाली सेना एक रही देश र जनताको सेवामा दत्तचित्त रहनेछ, रहिरहेछ ।
राष्ट्रपतिले हस्तक्षेप नगरेको भए सेनाभित्रै रक्तपात हुन्थ्यो रे, हो ? कारबाहीको र नियुक्तिको पत्र बुझिसकेपछि करिब ८-१० घन्टासम्म राष्ट्रपति महोदयको चिठ्ठी आएको थिएन । केही हुने थियो भने त्यसैबखत हुन सक्थ्यो होला । हामी नेपाली आर्मीका सबै उच्च अधिकृतहरूको अनुशासन, परिपक्वता र सुझबुझले यस्तो अवस्था आउँदैनथ्यो । र, भविष्यमा पनि आउँदैन भन्ने मलाई विश्वास छ । यति ठूलो संवैधानिक र राजनीतिक विवादको केन्द्रजस्तो हुनुभयो । यसको राष्ट्रिय-अन्तर्राष्ट्रिय आयामसमेत देखियो । यति ठूलो विवादको केन्द्र बनिएलाजस्तो लागेको थियो ?प्रधानसेनापति प्रकरणमा म कुनै पात्र होइन । म त प्रधानसेनापतिलाई सरकारले कारबाही गरिसकेपछि कायममुकायम मात्र भएको हुँ । मेरो ठाउँमा जोकोही भएको भए पनि यस्तै हुन्थ्यो जस्तो लाग्छ । म मेरो ओहोदाको हैसियतले यसरी यो प्रकरणमा मुछिन पुगेको छु । यो मेरो चाहना होइन । तपाईंलाई एकथरी विदेशी र स्वदेशी शक्तिकेन्द्रसँग किन जोडिन्छ ?मेरो चरित्रहत्या गर्न एक वृत्तले विभिन्न संस्थासँग जोडेर लाञ्छित गरेको छ । यसैगरी देशभित्रका विभिन्न राजनीतिक दलसँग सम्बन्ध भएको भनी प्रचारप्रसार गरिएको छ । यतिसम्म कि मैले नचाहिँदो सूचना नचाहिने समयमा कसैलाई प्रदान गरेँसम्म भनिएको छ । चरित्रहत्या गर्ने कार्यमा म र मसँग सम्बन्धित व्यक्तिलाई समेत मुछिने गरी कहिले कुनै दैनिक र कहिले कुनै साप्ताहिकमा सुनियोजित ढंगबाट प्रायोजित समाचार आएको छ । र, मलाई यो प्रक्रिया आउँदा दिनमा पनि यसै तरिकाबाट (लाञ्छित) गरिन्छ जस्तो लाग्छ । यसमा राष्ट्रको चौथो अंगको रूपमा कार्यरत पत्रकार मित्रहरूलाई सम्मान गर्दै यी कपोलकल्पित लाञ्छनायुक्त चरित्रहत्या गरिएका समाचारको घोर खण्डन गर्न चाहन्छु । मेरो कुनै पनि मित्रराष्ट्रसँग नराम्रो सम्बन्ध छैन । तपाईं सेनापति भएको भए सेनाको मनोबल गिथ्र्यो रे, हो ? यो पनि एउटा सुनियोजित दुस्प्रचार र चाल हो । मैले नेपाली सेनालाई के गर्थँ, कसरी सञ्चालन गर्ने भन्ने कुरा मेरो पहिलाको कामदक्षता र तरिकाले पुष्टि गर्छ । कटवाललाई हटाइँदै छ भन्ने थाहा थियो ? सञ्चारमाध्यममा प्रचारप्रसार भएको र सेनापति-नेपाल सरकारबीचको चिसो सम्बन्धका कारण मलाई असजिलो भान हुन्थ्यो । त्यस अर्थमा सेनापतिमाथि कारबाही हुनसक्ने सम्भावना देखेको थिएँ । मैले यसबारे तत्कालीन प्रधानसेनापति (कटवाल) सँग विचार पनि राखेको थिएँ । कटवालसँग तपाईंको व्यक्तिगत सम्बन्ध कस्तो थियो ? ०३१ सालदेखिको चिनजान हो हाम्रो । ०२८ सालमा म सेकेन्ड लेफि्टनेन्टका रूपमा तालिममा बेलायत गएँ । त्यहाँबाट फर्केर आएपछि ०३१ सालमा सैनिक मुख्यालयतिर भेट भएको हो । त्यतिखेर उहाँ क्याप्टेन र म सेकेन्ड लेफि्टनेन्ट थिएँ । त्यसपछि मैले उहाँलाई जहिले पनि आदरसाथ हेर्दै आएको छु । म अहिले पनि उहाँलाई सम्मान गर्छु ।
कामु बनाएपछि के संवाद भयो, कटवालसँग ? त्यसपछि खुलेर खासै संवाद भएको छैन । गार्ड चेन्ज भयो, स्पष्टीकरण सोधियो रे हो ?दुवै होइन ।विद्यार्थी राजनीतिमा हुनुहुन्थ्यो ? म अस्कल पढेँ । म कहिल्यै राजनीतिमा लागिनँ । यो च्याप्टर कहाँ गएर टुंगिन्छ भन्ने लागेको छ ? नयाँ सरकार बनिसकेपछि सबैभन्दा पहिला गर्ने काममध्येमा यो विवादलाई समाधान गर्नुपर्छ । नेपाल सरकारको साथसाथै उच्च राजनीतिक नेताहरूसहित यसबारेमा संलग्न भई उचित तवरबाट समयमा नै यसको छिनोफानो हुनुपर्छ जस्तो लाग्छ ।
नेपाल सरकारको साथसाथै उच्च राजनीतिक नेताहरूसहित यसबारेमा संलग्न भई उचित तवरबाट समयमा नै यसको छिनोफानो हुनुपर्छसेनालाई राष्ट्रपतिको आदेश पालना गर्‍यो, प्रधानमन्त्रीको पालना गरेनजस्तो देखिएन र ? मैले यसलाई संवैधानिक र कानुनी तवरबाट शान्तिपूर्ण ढंगबाट निष्कर्षमा जाओस् भन्ने हिसाबले सोचेको छु । जब विवाद निस्कियो र देशको सरकारले नै राजीनामा दिने अवस्था आयो, त्यो अवस्थामा मेरो विवेकले यसलाई निजी पद र प्रतिष्ठाको विषय नबनाएर संवैधानिक प्रक्रियाबाट नै सुल्झियोस्, देशमा कुनै अनिष्ट नहोस्, शान्ति-प्रक्रिया टुंगोमा पुगोस् र नयाँ संविधानमा समेत यस्ता विषयहरूले स्पष्टता पाऊन् भनी अलि माथि उठेर कुनै झमेला नगरेको ।त्यो प्रकरणमा तपाईंको सबैभन्दा ठूलो त्याग छ, त्यसो भए ? त्यागभन्दा पनि म नचाहँदानचाहँदै संलग्न हुनुपर्‍यो । र, मैले यसबाट उपलब्धिभन्दा क्षति अथवा त्याग भन्ने कि ? २० वैशाखमै, जब तपाईंले सरकारको पत्र पाउनुभयो, तत्कालै कार्यभार किन सम्हाल्नुभएन ? पत्रमा आजकै मितिबाट भनिएको हुनाले र राति १२ बजे भन्ने बुझिनाले मैले १२ बजेसम्म कार्यभार सम्हाल्न मिल्दैनथ्यो । महामहिम राष्ट्रपतिले १२ बजेभन्दा अघि नै पत्र दिनुको कारण पनि यही हो भन्ने लाग्छ । राष्ट्रपतिले निर्णय उल्ट्याउन सक्छन् भन्ने कतिखेर थाहा भयो ? विभिन्न राजनीतिक दलका नेताहरूको चहलपहल र मलाई आएका केही सूचनाहरूका आधारमा केही हुँदै छ जस्तो लागेको थियो । तर, कुन रूपमा, कस्तो भन्ने थाहा थिएन । राष्ट्रपतिले यदि स्टेप नचालेको भए कारबाहीमा परेको सेनापतिबाट केही प्रतिक्रिया हुन्थ्यो रे, हो ? मलाई त्यस्तो लाग्दैन । सेनामा यो खालको अन्योल कहिल्यै आएको थियो ? विभिन खालका प्रकरणहरू भएको इतिहास सुन्नमा आएको हो । जब नेपाली सेना २००९ सालदेखि आधुनिकीकरण भई अन्तर्राष्ट्रियस्तरको संगठनात्मक संरचनामा गयो, त्यसपछि नेपालमा यस्तो भएको मलाई ज्ञान छैन । अन्य देशका सेनामा विभिन्न तहमा यस्तो देखिन्छ । गत सातामात्रै अफगानिस्तानमा खटिएका अमेरिकन आर्मीका जर्नेललाई पनि रक्षामन्त्रीले बर्खास्त गरेका छन् । सेना र राजनीतिको दिशाबीच ट्युनिङ नमिलेको हो ? यसलाई म केही मिसअन्डरस्ट्यान्डिङ भनेर भन्छु । हुन त यो प्रश्नमा पनि ठूलो सार छ । कस्तो सार ? ट्युनिङ नमिलेको भन्ने शब्द ठीक हो कि !कामु नहुँदा र भएपछि के फरक छ ? कहिलेकाहीँ मलाई निगरानी गरिएको हो जस्तो लाग्छ । यसमा म बढी संवेदनशील भएको छु । कस्तो निगरानी ? मेरा गतिविधि, मलाई भेट्न आउने सहपाठी, नातेदार र इष्टमित्रदेखि लिएर मेरो परिवारले समेत यस्तै महसुस गरेको पाएको छु । कहिलेदेखि ? गत केही दिनदेखि । कसबाट भइराख्या छ यो ? त्यो मलाई थाहा भएन । यो पूरै प्रकरणमा तपाईं विजेता हो कि सहिद ? शिखण्डी कि खेलाडी ? म एक बाध्यात्मक ओहोदाका कारण तानिएको पात्रजस्तो लाग्छ । यसबीचमा निर्णय होला भन्ने लाग्छ ? निर्णय हुनैपर्छ । सेनामा यस्तो अन्योल सकेसम्म छिटो समाधान हुनुपर्छ । अदालतको निर्णय कुर्दा संस्थामा नकारात्मक असर पर्न सक्छ । संस्था कुनै हालतमा बिग्रन हुन्न । व्यक्ति पहिला पनि थिए, पछि पनि आउँछन् । कुनै व्यक्ति ठूलो होइन, संस्था ठूलो हो । सेनाको चेन अफ कमान्डमा अहिले सबैभन्दा माथि को हो ? प्रधानसेनापति । प्रधानसेनापतिचाहिँ को हो ? म निर्णयकर्ता होइन । अब यो सेनाको संगठनभन्दा धेरै माथि, धेरै जटिल विषय भइसक्यो । निर्णय हुन्छ भन्ने विश्वास छ कि छैन ? के हुन्छ, मैले सोच्न सकिरहेको छैन । तपाईंलाई कोर्टमार्शलको धम्की दिइएको छ, हो ? यो पनि प्रचारप्रसार गरिएको छ । कोर्टमार्शल हुनका लागि प्रक्रिया छ । र, सबैभन्दा पहिले केही गल्ती गरेको हुनुपर्‍यो । के नेपाल सरकारले मलाई कामु प्रधानसेनापति दिएको पत्र नेपाली सेनालाई कमाण्ड गर्न दिएको हो कि कोर्टमार्शलका लागि दिएको हो ? मेरो केही गल्ती छ भने नेपाल सरकारले छानबिन गरी सजाय दिन सक्छ । म त्यसका लागि खुला छु ।

राष्ट्रिय सहमतिका लागि प्रचण्डको आहृवान

2009-05-17

काम चलाउ सरकारका प्रधानमन्त्री एवं एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिका लागि दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानसेनापति रुक्मांगद कट्वाललाई निरन्तरता दिने राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै एकीकृत माओवादीले काठमाण्डूमा गरेको सभालाई संवोधन गर्दै उहाँले आफूहरु नागरिक सर्वोच्चताका लागि सरकारबाट हटे पनि शान्ति प्रकृयाप्रति प्रतिवद्ध रहेको बताउनुभयो । विदेशीको इशारामा नया सरकार बन्न लागेको र शान्ति प्रकृया भांड्ने षडयन्त्र भैरहेको उहाँले आरोप लगाउनुभयो । उहाँले आफूहरु विजयभाव र आत्मविस्वासका साथ सरकारबाट हटेर नागरिकको साथमा आएको भन्दै माओवादीले अब नागरिक सर्वोच्चताको लर्डाई लड्ने बताउनुभयो । नेपाली नागरिकको आत्म निर्ण्र्ााो अधिकार विदेशीको इशारामा खोस्ने प्रयास भइरहेको भन्दै उहाँले त्यस्तो प्रयासलाई कुनै पनि हालतमा सफल हुन नदिने बताउनुभयो । भिन्न रुपले अघि बढ्न खोजेपछि सरकार विरुद्ध देशी विदेशी शक्तिहरुले षडयन्त्र गरेर काम गर्न नदिएकोे उहाँले आरोप लगाउनुभयो । माओवादीलाई श्रीलंकाको लिट्टे बनाउने षडयन्त्र भइरहेको भन्दै उहाँले माओवादी कुनै पनि हालतमा शान्ति प्रकृयाबाट पछि नहट्ने स्पष्ट पार्नुभयो । माओवादीले सरकार छाडेपनि नयाँ सरकार गठनका लागि बामपन्थी दलविरुद्ध बामपन्थी भिडाएको आरोप समेत उहाँले लगाउनुभयो ।