
Wednesday, July 1, 2009
विवादास्पद जर्नेलको बढुवा सिफारिस
काठमाडौं, असार १७ - जंगीअड्डाले मानव अधिकार उल्लंघनसम्बन्धी विवादमा परेका उपरथी तोरण जंगबहादुर सिंहलाई बलाध्यक्ष रथीमा नियुक्तिका लागि सिफारिस गरेपछि सरकार अप्ठ्यारोमा परेको छ । उनी भैरवनाथ गणबाट नियोजित रूपमा नेपाली सेनाले बन्दी बेपत्ता पारेको आरोप लागेको बेला १० नम्बर बाहिनीका प्रमुख थिए । उक्त बाहिनीअन्तर्गत मानव अधिकार उल्लंघनमा सबैभन्दा बढी आरोप लागेका भैरवनाथ, महावीर र जगदल गण छन् ।
अघिल्लो सोमबार प्रधानसेनापति रुक्मांगद कटवालको अध्यक्षतमा बलाधिकृत रथी छत्रमानसिं गुरुङ सदस्य रहेको बोर्डले सिंहलाई बलाध्यक्ष रथीमा बढुवाको सिफारिस गरेको थियो । रक्षामन्त्री विद्या भण्डारीले सिंहको सिफारिसलाई लिएर सेनापति कटवालसँग गुनासो गरेको स्रोतले दाबी गर्यो । 'विवादास्पद व्यक्तिलाई सिफारिस गर्दा सरकारलाई अप्ठ्यारो पर्छ,' भण्डारीलाई उदृत गर्दै स्रोतले भन्यो ।
भण्डारीले यसअघि महासेनानीमा पदावधि थपका लागि जंगीअड्डाले सिफारिस गरेका बबी खत्रीलाई मानव अधिकार उल्लंघनमा संलग्न भएको उल्लेख गर्दै अस्वीकार गरेकी थिइन् । खत्री पाँचखलस्थित सैनिक ब्यारेकमा किशोरी मैना सुनारलाई पक्राउपछि हत्या गरेका बेला प्रमुख थिए ।
सन् २००३ को अन्तमा भैरवनाथ गणबाट ४९ जना बन्दी पक्राउपछि बेपत्ता बनाइएको आरोप छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगलेसमेत यसबारे विस्तृत छानबिन पछि बाहिनीको क्षेत्राधिकारभित्रै बेपत्ता पार्ने काम भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
सार्वजनिक प्रतिवेदनमा नाम उल्लेख नगरिए पनि राष्ट्रसंघीय निकाय र अन्तर्राष्ट्रिय जगतमा सिंहको नाम मानव अधिकार उल्लंघनको आरोपीका रूपमा जानकारी गराइएको थियो । गत वर्ष उनलाई सुडानको डार्फोरस्थित राष्ट्रसंघीय मिसनमा फोर्स कमान्डरमा सिफारिस गरिए पनि अस्वीकार भएको स्रोतले जनायो । न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयले नै उनका नाममा सहमति नदिएपछि उपरथी पवनजंग थापालाई सिफारिस गरिएको थियो । उपरथी थापाको एक वर्षे कार्यकाल पूरा भएपछि गत जेठमा सरकारले थप एक वर्षलाई फोर्स कमान्डरका रूपमा रहन राष्ट्रसंघलाई सहमति दिएको थियो ।
जंगीअड्डा स्रोतका अनुसार उनलाई विभिन्न देशमा तालिम, सेमिनार तथा सम्मेलनहरूमा सिफारिस गर्दा पनि मानव अधिकारसम्बन्धी कार्यक्रमहरूमा अस्विकार गरिँदै आएको छ । भैरवनाथबाट बन्दी बेपत्ता बनाएको भन्ने आरोप लागेपछि अमेरिकाले १० नम्बर बाहिनीअन्तर्गत पर्ने सबै खालका तालिम तथा कार्यक्रमहरू रद्द गरेको थियो । बाहिनीपति भएका कारण पश्चिमा देशहरूले पनि उनलाई कार्यक्रमहरूमा अस्वीकार गरेका थिए ।
सन् २००६ मा उच्च आयुक्त कार्यालयले भैरवनाथबाट बेपत्ता पारिएका ४९ जनाको नामावलीसहित प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनमा सेनाले नियोजित र योजनाबद्ध रूपमै उक्त कार्य गरेको उल्लेख छ ।
भैरवनाथ, महावीर र जगदल गण समेटिएको १० नम्बर बाहिनीको मुख्यालयसमेत महारजगन्जस्थित भैरवनाथ गण परिसरमै छ । 'यस्तो अवस्थामा भैरवनाथमा जेजस्ता काम भए त्यसमा बाहिनीपतिको जानकारी र निर्देशन नकार्न सकिन्न,' स्रोतले दाबी गर्यो । उनी माघ १९ मा राजाले शत्ता हातमा लिएपछि दरबारस्थित सैनिक सचिवालयमा सरुवा भएका थिए । २०६२/६३ को लोकतान्त्रिक आन्दोलन सफलतापछि सैनिक सचिवालय खारेज भयो । त्यसपछि उनी उपरथीमा बढुवा भइ मध्यपि्रतनापतिका रूपमा हेटौंडा गए ।
बल्ााध्यक्ष रथी कुलबहादुर खडकाले उमेरका हदले अवकाश पाएपछि उक्त पद खाली भएको हो । त्यसमा बरिष्ठ उपरथी भएकाले उनलाई बढुवाको सिफारिस गरिएको हो ।
२० गते एमालेका हजारौं कार्यकर्ता प्रवेश गर्ने दाबी
डेढ महिनाभित्र माओवादी नेतृत्वको सरकार बन्छ : दाहाल
(चितवन) असार १७- माओवादी अध्यक्ष पुष्पकमल दाहालले डेढ महिनाभित्र माओवादी नेतृत्वको सरकार बन्ने बताएका छन् । उनले माओवादी हरुवाहरुको सरकारमा कुनै हालतमा सामेल नहुने पनि बताए। 'माओवादीलाई यो सरकारमा सामेल गराउने उनीहरुको दिवास्वप्न पूरा हुन्न'- उनको भनाइ थियो। आफ्नो गाउँ चितवनको शिवनगरस्थित घरमा भेला भएका सर्वसाधारणसामु उनले यो जानकारी दिएका हुन। आफू अहिले जनशक्ति जुटाउन यहाँ आएको र असार २० गते एमालेका हजारौं कार्यकर्ता माओवादीमा प्रवेश गर्ने दाबी पनि उनले गरे। माओवादी पनि सरकारमा आउँछ भनेर यो सरकार टिकाउने दाउ एमाले-कांग्रेसले गरिरहेको बताउँदै उनले भने- कानुन र नियम मिचेर बनाइएको यो सरकारबाट उनीहरु पनि थाकिसकेका छन्। माओवादीविनाको सरकार चलाउन सकिन्न भन्ने उनीहरुलाई पनि परिसकेको जनाउँदै उनले त्यहाँ उपस्थितलाई भने- त्यही भएर अब चाँडै माओवादीले नै सरकार बनाउँछ।दाहाल मंगलबारदेखि पश्चिम चितवनस्थित घरमा छन्। लामो समयको पोलिटब्युरो बैठकपछि उनी केही समय आराम गर्न घर आएको अनुमान गरिएको छ।
Subscribe to:
Posts (Atom)