Thursday, July 16, 2009

आफ्नै घर हुँदाहुँदै आवास सुविधा

काठमाडौं, साउन १-
दुई सभासद्ले आफ्नो पूर्व घोषणाविपरीत आवास सुविधा लिएका छन्। उनीहरूले गत वर्ष साउनमा आफ्नै घरमा बस्ने भएकाले 'नैतिक रुपले घरभाडा लिन उचित नहुने' भनेर सांसद सुविधा शाखामा निवेदन दिएका थिए। त्यसरी आफ्नै घोषणाविपरीत आवास भत्ता लिन थालेका सभासदमा गृहमन्त्री भीम रावल र एकीकृत माओवादीका नेता अमिक शेरचन छन्।गत वर्षको मंसिरसम्म नलिएका रावलले पुस महिनामा 'लिन्छु' भनेर साउनदेखिकै सुविधा लिएका थिए। अहिले उनी गृहमन्त्री भएपछि पुल्चोकस्थित मन्त्री निवासमा बस्न थालेका छन्। अब भने उनले आवास सुविधा पाउने छैनन्।'सोमबार माननीयज्यू (शेरचन) आएर 'मैले लिने हो, तयार पार्दिनू' भन्नुभयो। मंगलबार उहाँको खाता रहेको एभरेस्ट बैंकमा पठाइदियौं,' सुबिधा शाखाले बतायो।
शाखाका अनुसार गत वर्षको भदौदेखि ११ महिनाको तलब पठाइएको छ। त्यसमध्ये सांसद सुविधावापत पाँच महिना र ६ महिनाको सुविधा सभापतिवापतको पठाइएको छ।शेरचनले आˆनो आवास भत्ता पाठशालालाई दिने बताए। 'चितवनको शुक्रनगरमा रहेको सहिद बाल शिशु कल्याण पाठशालालाई दिन मैले भत्ता लिएको हुँ,' उनले नागरिकसँग भने, 'मैले आफ्ना लागि खर्चन लिएको होइन।'एक सभासद्ले आवास खर्च ६ हजार ५ सयसहित मासिक जम्मा ४७ हजार ५ सय ९८ रुपैयाँ पाउँछन्। संविधानसभा र व्यवस्थापिका संसद्का समितिका सभापतिलाई आवास सुविधावापत ७ हजार ७ सय छ। समितिको सभापतिका लागि धारा, बिजुली, पत्रपत्रिका र टेलिफोनबापतको रकम सभासद्सरहको छ भने पारिश्रमिकबापत २५ हजार ८ सय, मसलन्द १ हजार ५ सय, पेट्रोल १ सय ५० लिटर, मोबिल त्रैमासिक ५ लिटर, निजी सचिवालय कर्मचारी ३८ हजार ३ सय ४० लगायतका सुविधा छन्।
शेरचनले सभासद् हुँदाखेरि आवास सुविधा पाँच महिनाको ३२ हजार पाँच सय लिएका छन् भने सभापति भएपछि ६ महिनाको सात हजार सातका दरले ४६ हजार दुई सय लिएका छन्। उनले गत भदौयता ५ महिना सभासद्बापत र ६ महिनाको सभापतिको हैसियतले पाउने आवास सुविधा लिएका हुन्।
संचार माध्यममा आफ्नै घोषणाविपरीत पैसा लिँदा र आफ्नै घर भएर पनि आवास सुविधा लिएका समाचार आएपछि कर्मचारीलाई सभासद् र तिनका निकटस्थले धम्काउने गरेका छन्।
शाखाका अनुसार एमालेका तात्कालीन सभासद् सुशीलचन्द्र अमात्य, माओवादी सभासद् ईश्वरी दाहाल, नेकपा संयुक्तका सुनीलबाबु पन्तले काठमाडौंमा आफ्नै घर भएकाले घरभाडा नलिने निवेदन दिएका थिए।
अमात्यलाई राजीनामा गराएर एमालेले माधव नेपाललाई सभासद् बनाएको थियो।
आफ्नै घर हुँदाहुँदै आवास सुविधा लिन हुन्न भन्दै सो रकम कांग्रेसका सभासद् गगन थापाले पाटन अस्पतालको आईसीयूलाई दिने र नवीन्द्रराज जोशीले नेपाल भाषा र संस्कृतिको उत्थानमा लगाउने घोषणा गरेका थिए।

0 comments: