
काठमाडौं, चैत २४ - राष्ट्रपति रामवरण यादवले सोमबार बेलुका भव्य कार्यक्रमबीच पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । यसका साथै सबैका लागि खेलकुदको नारासहित पाँचौं राष्ट्रिय खेलकुद औपचारिक रुपमा राजधानीमा सुरु भएको छ । लोकतन्त्र स्थापनापछि सबैभन्दा ठूलो खेलमेलाको रुपमा प्रतियोगिताको उद्घाटन भएको छ। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको पनि उपस्थिति थियो।आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले २०५५ सालमा काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुदको स्वरुपमा प्रतियोगिता उद्घाटन गरेको छ।यसअघि सम्पन्न चार वटै राष्ट्रिय खेलकुद राजपरिवारका सदस्यबाट उद्घाटन भएको थियो। पछिल्लो पटक २०५४ सालमा नेपालगन्जमा सम्पन्न चौथो संस्करणको उद्घाटन तत्कालिन युवराज दीपेन्द्रले गरेका थिए।सोमबार दशरथ रंगशालामा सम्पन्न उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी तथा विद्यार्थी गरी ७ हजार ५ सय परिचालित थिए ।तीन घन्टाभन्दा लामो उद्घाटन समारोहमा सुरक्षा निकाय विद्यार्थी र खेलाडीका विभिन्न सांस्कृतिक प्रदर्शन सन्देशमुूलक डिस्प्लेका साथै कलाकारको सांगीतिक प्रस्तुति मुख्य आकर्षण थिए । सबै प्रस्तुतिले देशभक्तिको भावना जगाएको थियो।उक्त अवसरमा सेना, पुलिस र सशस्त्रले इतिहासमै पहिलो पटक संयुक्त व्यान्डको प्रदर्शनी गरे। सेनाको खुकुरी नाचका साथै सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । मार्चपासमा खेलाडीलाई ट्रयाकको दुई छेउमा ५ सय ट्रयाक गर्लले स्वागत गरेका थिए । त्यही क्रममा सेनाका दुई हेलिकोप्टरबाट पुष्प वृष्टि गरिएको थियो। सुरक्षाकर्मी टोलीले विभिन्न सन्देशमूलक नारा तथा राष्ट्रिय झण्डा लेखिने गरी मैदानमा प्रदर्शन गरेको थियो ।नाइटिङगेल र भीएस निकेतन स्कुलद्धारा प्रदर्शन गरिएको विभिन्न जनजातिको लोकलयमा आधारित नाच तथा सांस्कृतिक कार्यक्रमपछि रामकृष्ण ढकाल, खेम गुरुङ, विमला राई, रीमा गुरुङलगायतका कलाकारले प्रस्तुत गरेको पाँचौ राष्ट्रिय खेलकुदको थिम गीत (खेलकुद गीत) अर्को आकर्षणका रुपमा रहेको थियो।पूर्वी प्यारापिटमा बसेर ७ सय विद्यार्थीले विभिन्न सन्देशमुलक डिस्प्ले प्रदर्शन गरेका थिए । विविधतामा एकता, सुन्दर, शान्त, समृद्ध नेपाल, पाँचौं राष्ट्रिय खेलकुदलगायतका डिस्प्लेले रंगशालाको शोभा बढाएको थियो।पहिलो पटक आइटीएफका २ सय उसुका २ सय र करातेका २ सय खेलाडीले गरेको खेलकला प्रदर्शनी आकर्षणको केन्द्र बनेको थियो । उदघाटन समारोहलाई थप रोचक पार्ने क्रममा उसुका ५ खेलाडीले मस्कटमा प्रदर्शनी गरेका थिए ।उदघाटन समारोहबाटै खेलकुदबाट सन्देश प्रवाह गर्ने योजनाअनुरुप देशका विभिन्न क्षेत्र जातजाति र समुदायको झाँकी प्रस्तुत गरिएको थियो ।कृत्रिम प्रकाश (फ्लड लाइट) मा सम्पन्न उदघाटन समारोहको प्रमुख आकर्षणका रुपमा भने आतिसबाजी प्रर्दशन थियो । त्यसका लागि भारतबाट आवश्यक सामान र ८ जना विज्ञ झिकाइएको थियो । समारोहलाई सफल बनाउन नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी खेलाडी विद्यार्थी र स्वयंसेवक गरी ७ हजार ५ सय परिचालन भएका थिए ।उद्घाटनजस्तै समापन पनि भव्यतापूर्वक सम्पन्न गर्ने लक्ष्य राखेको छ। त्यसैले कुल २५ करोड बजेटमध्ये ९८ लाख २० हजार रुपियाँ समारोहका लागि छुट्याएको छ ।तेक्वान्दो स्टारबाट ज्योति प्रज्ज्वलनपाँचौ राष्ट्रिय खेलकुदको उदघाटन समारोहमा ओलम्पियन तेक्वान्दो स्टारद्वय दीपक विष्ट र संगीना वैद्यले ओलम्पिक ज्योति प्रज्ज्वलन गरेका थिए । ओलम्पियन भारोत्तोलनका जगदीश श्रेष्ठ एथलेटिक्सका हरिबहादुर रोकाय र विमला रानामगरले ओलम्पिक ज्योति बोकेर रंगशाला परिक्रमा गरेका थिए।यसैगरी साफ खेलकुदका कीर्तिमानी धावक वैकुन्ठ मानन्धरले राष्ट्रिय खेलकुदको झण्डोत्तोलन गरे । अन्तर्राष्ट्रिय पदकधारी तेक्वान्दोका आयुशा शाक्य र मनिता शाही उसुकी देवु थापामगर पौडीकी करिश्मा कार्की र एथलेटिक्सकी चन्द्रकला थापा झन्डा मार्चमा सहभागी थिए ।समारोहको मार्चपासमा सम्पूर्ण खेलाडीको नेतृत्व गरेर नेपालको झन्डा बोक्ने जिम्मेवारी भने पहिलो अन्तर्राष्ट्रिय पदकधारी एथलेटिक्सका जीतबहादुर केसीले पाएका थिए ।

No comments:
Post a Comment