Monday, April 6, 2009

ओबामाको हत्या प्रयास असफल

हत्याको योजना बनाउनेसँग अल जजिरा टेलिभिजनको प्रेस पास
युरोप भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामाको हत्या गर्ने प्रयास असफल भएको छ। टर्कीमा ओबामाको हत्या गर्ने योजना बनाइरहेका एक सिरीयाली मूलका व्यक्तिलाई त्यहाँका सुरक्षाकर्मीले गएको शुक्रबार गिरफ्तार गरेको खुलासा भएको छ। अमेरिकी समाचार संस्था सिएनएनका अनुसार ती व्यक्तिले ओबामा टर्की आएका बेला उनको हत्या गर्ने योजना बनाएका थिए। शुक्रबार ती योजनाकार पक्राउ पर्दा ओबामा फ्रान्समा नेटोको सम्मेलनमा भाग लिँदै थिए। ओबामा आइतबार मात्र टर्की पुगेका थिए।समाचार एजेन्सीहरुका अनुसार ओबामाको हत्या गर्ने योजना बनाएका ती व्यक्तिसँग अल जजिरा टेलिभिजनको प्रेस पास समेत रहेको थियो। पक्राउ परेका व्यक्तिले आफू लगायत अन्य ३ जनाको समूहले ओबामाको हत्या गर्ने योजना बनाएको प्रहरीसमक्ष स्वीकार गरेका छन्। इस्तानबुलमा सोमबार साँझ हुने तय भएको ´सभ्यताका संगठन´ विषयक एक सम्मेलनका क्रममा ओबामालाई छुरा प्रहार गरेर हत्या गर्ने योजना भएको ती व्यक्तिले बताए। अल जजिराका टर्कीस्थित कार्यालयका प्रमूखले ती व्यक्ति आफ्ना कर्मचारी नभएको र उनले जाली प्रेस पास बनाएको हुनसक्ने जनाएका छन्।अमेरिकी अधिकारीहरुले उक्त असफल योजनालाई निकै गम्भिरतापूर्वक लिएको बताएका छन्। उक्त हत्या योजनापश्चात ओबामाका निर्धारित भ्रमण तालिकामा कुनै परिवर्तन नगरिएको अधिकारीहरुले बताए।

No comments: