प्रहरीलाई सुम्पनुपर्ने मान्छे किन अन्यत्र पुर्याइयो? बुटबलका प्रचण्ड थैब हत्याको आरोप लागेका सुजित विक काठमाडौंबाट फरार भए। सुजित विकले राष्ट्रिय मानव अधिकार आयोगमा आत्मसमर्पण गर्न चाहेकाले उनलाई त्यहाँ लैजाँदा बाटैबाट भागेको दाबी माओवादी नेताहरुले गरेका छन्। प्रचलित कानुनअनुसार हत्याको अभियोग लागेको व्यक्तिलाई प्रहरीले पक्राउ गर्नुपर्ने हुन्छ। कर्तव्य ज्यानको अभियोग लागेको व्यक्तिलाई त जो सुकैले देखे पनि प्रहरीलाई खबर गर्नुपर्ने कानुनी व्यवस्था छ। माओवादीले भने सुजित विकलाई प्रहरीको जिम्मा लगाएन। यद्यपि, विकलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेर सम्बन्ध विच्छेद गरेको सार्वजनिक जानकारी माओवादीले दिएको छ। विकले एकजना आयुक्तसँग व्यक्तिगतसम्पर्क गरी आफू असुरक्षित भएकाले केही कुरा राख्न चाहेको जानकारी आयोगका प्रवक्ताले दिएका छन्। त्यसो हो भने त्यसो त विकको जीवन पनि जोखिममा पर्नसक्छ। तर, आयोगका सचिव विशाल खनालले भने विज्ञप्ति नै जारी गरेर विक त्यहाँ नगएको दाबी गरेका छन्। जेहोस्, हत्याका अभियुक्त भागेका छन्।
साध्य प्राप्तिका लागि जस्तोसुकै साधन र प्रक्रिया अपनाए पनि हुन्छ भन्ने माओवादीको प्रवृत्ति अन्त्य नभएसम्म कार्यकर्ता पनि हिंसा र आतंकबाट विमुख हुनेछैनन्। माओवादीको यस प्रवृत्तिले शान्ति प्रक्रियालाई विफल बनाउने जोखिम बढाएको छ। यसैले माओवादीले हिंसाको दीक्षा पाएका कार्यकर्तालाई शान्तिप्रति प्रवृत्त गराउन विशेष प्रयास गर्नुपर्छ। एमालेका कार्यकर्ता थैवको हत्या सुजित विकले नै गरेको किटानी जाहेरी परेको छ। एमाले नेताहरुले विक माओवादीको संरक्षणमा भएको आरोप लगाउँदै आएका छन्। माओवादी नेताहरुले पहिले विक निर्दोष भएको जिकिर गरेका थिए भने पछि आफ्नो सम्पर्कमा नभएको दाबी गरेका थिए। थैबका हत्यारामाथि कारबाहीको माग गर्दै एमालेले बुटवलमा निकै चर्को आन्दोलन गर्यो। संसद्का बैठकहरु बहिष्कार गर्दै आएको छ। यद्यपि, एमालेकै उपाध्यक्ष वामदेव गौतम मुलुकका गृहमन्त्री छन्। हत्याका आरोपीलाई पक्रने दायित्व उनकै मातहतको नेपाल प्रहरीको हो। सुजित विकलाई आत्मसमर्पणका लागि आदेश दिइएको जानकारी माओवादी नेताहरुले दिएका थिए। थैबको हत्यापछि विक कहाँ थिए त भन्ने प्रश्नको उत्तर नआउन्जेल माओवादी संरक्षणमा थिएनन् भनेर पत्याउन सकिने ठाउँ छैन। यसरी अभियुक्तलाई संरक्षण दिनु पनि प्रचलित कानुनअनुसार अपराध हो। प्रचण्ड थैबको हत्यामा सुजित विक संलग्न भए नभएको किटान अदालतले गर्नुपर्छ। अहिले उनका विरुद्ध किटानी जाहेरी परेकाले प्रहरीले उनलाई अदालतसम्म त पुर्याउनै पर्छ। प्रहरीको दायित्व पूरा गर्न पहिले नै सहयोग गरेको भए माओवादीको नियतमा शंका गर्नुपर्ने थिएन। यथार्थमा एमाले नेताहरुले दाबी गरेजस्तै विक माओवादी संरक्षणमा रहेको पछिल्ला घटनाबाट पुष्टि भएको छ। विकलाई बुटवलमा नै प्रहरीको जिम्मा लगाउनुको साटो काठमाडौंसम्म ल्याउनुले नै माओवादीको नियतमा शंका गर्ने ठाउँ दिएको छ। माओवादीका नेताले रामहरि श्रेष्ठको हत्या प्रकरणमा पनि पहिले संलग्नता नै अस्वीकार गर्ने र पछि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्ने गरेका थिए। उनीहरुको यस प्रकारको प्रवृत्ति नै यथार्थमा शंका र अविश्वासको कारक बनेको छ। सरकारको नेतृत्व गरेर पनि राज्यका संयन्त्रहरुप्रति अविश्वास गर्ने माओवादी चरित्र यस्ता समस्याका कारक बनेको छ। प्रहरीलाई अभियुक्त बुझाएर कानुनी कारबाहीमा सघाउनुको साटो समानान्तर छानबिन गर्ने चलन यस पटक पनि माओवादीले दोहोर्याएको छ। यो समानान्तर सत्ताको धङधङी हो। साध्य प्राप्तिका लागि जस्तोसुकै साधन र प्रक्रिया अपनाए पनि हुन्छ भन्ने माओवादीको प्रवृत्ति अन्त्य नभएसम्म कार्यकर्ता पनि हिंसा र आतंकबाट विमुख हुनेछैनन्। माओवादीको यस प्रवृत्तिले शान्ति प्रक्रियालाई विफल बनाउने जोखिम बढाएको छ। यसैले माओवादीले हिंसाको दीक्षा पाएका कार्यकर्तालाई शान्तिप्रति प्रवृत्त गराउन विशेष प्रयास गर्नुपर्छ। साथै उसलेसमानान्तर सत्ता सञ्चालन गर्ने बानी पनि छाड्नुपर्छ।
Friday, April 10, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment